Prakash Adhikari May 19, 2018

काठमाडौं, ५ जेठ । नेपाल धितोपत्र बोर्डको रजत जयन्ती वर्षको अवसरमा न्यायाधीश र कानुन व्यवसायीहरुसंग पूँजी बजार नियमनको कानुनी व्यवस्थाको बारेमा एक दिवसीय अन्तरक्रिया सम्पन्न भएको छ ।

शुक्रबार नेपाल धितोपत्र बोर्ड, उच्च अदालत बार एशोसिएसन पाटन र नेपाल स्टक एक्सचेञ्ज लि. को संयुक्त आयोजनामा न्यायाधीश तथा वरिष्ठ कानुन व्यवसायीहरुको सहभागितामा धितोपत्र बजार नियमन तथा कानुनी व्यवस्था विषेयक कार्यक्रम सम्पन्न भएको थियो ।

सहभागीहरुले भित्री कारोवारको नियन्त्रण, होटल क्षेत्रको सेयर कारोवारमा पारदर्शीता, बजारमा गलत अफवाह फैलाउनेलाई कानुनी कारवाही जस्ता विषय छलफलमा ल्याएका थिए ।

त्यस्तैगरि, एनआरएनलाई बजार खुला गर्ने, बाणिज्य बैंकका सहायक कम्पनीहरुलाई धितोपत्र दलाल व्यवसाय सेवा सञ्चालन अनुमति दिने, पूर्ण स्वचालित दोस्रो बजार कारोवार प्रणालीको व्यवस्था कहिलेदेखि हुन्छ जस्ता प्रश्न बोर्डलाई गरेका थिए ।

वास्तविक क्षेत्रलाई धितोपत्र बजारमा भित्र्याउने, संस्थागत सुशासनमा सुधार गर्ने, चार्टर्ड एकाउण्टेन्ट तथा दर्तावाल एकाउण्टेन्टहरुको व्यावसायीक इमानदारिता, ठूला पुँजी आधारमा संचालन हुने कम्पनीहरुलाई अनिवार्यरुपमा पब्लिक लिमिटेडमा लैजान बोर्डले गरिरहेको तयारीका बारेमा न्यायकर्मीहरुले प्रश्न गरेका थिए ।

त्यसैगरि, विभिन्न नियमन निकायबीचमा हुनुपर्ने समन्वय, लगानीकर्ताहरुलाई लगानीसम्बन्धमा पर्याप्त जानकारीको उपलब्धता, लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धिसम्बन्धी कार्यक्रम संचालन, सामूहिक लगानी योजनाको सूचना प्रवाह अभ्यासमा सुधार, धितोपत्र बजार प्रवेश गरिनसकेका पब्लिक लिमिटेड कम्पनीहरुको तथा जलविद्युत क्षेत्रका कम्पनीहरुको प्रभावकारी नियमन जस्ता विषयवस्तुहरुमा जिज्ञाशा राखिएका थिए ।

कार्यक्रममा पुनरावेदन अदालत बार एशोसिएसनका अध्यक्ष मेजर थापा नेपाल बार एशोसिएसनका अध्यक्ष, सह न्यायधिवक्ता, उपरजिष्ट्रारहरु, सम्बन्धित सम्पूर्ण कानुन व्यवसायीहरु, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जका कर्मचारी गरि करिव २०० जनाको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा धितोपत्र बजारको वर्तमान अवस्था तथा भावी कार्ययोजना र कानुनी व्यवस्थासम्बन्धी कार्यपत्रको प्रस्तुतिकरण नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी तथा निर्देशक मुक्ति श्रेष्ठले प्रस्तुत गरेका थिए ।

धितोपत्रको दोस्रो बजार तथा सिडिएससी सम्बन्धी कार्यपत्रको प्रस्तुतिकरण नेपाल स्टक एक्सचेञ्जका उप प्रबन्धक निरन्जन फुयालले गरेका थिए ।

कार्यक्रममा सर्वोच्च अदालतका वरिष्टतम् न्यायाधीश ओमप्रकाश मिश्रले धितोपत्र बजार एक प्राविधिक विषय समेत भएकाले यससम्बन्धमा जान्न तथा बुझ्न अध्ययन विश्लेषण तथा छलफल आवश्यक हुने बताएका थिए ।

नेपाल बार एशोसिएसनका अध्यक्ष बरिष्ठ अधिवक्ता शेरबहादुर के.सी.ले कार्यक्रमले कानुन व्यवसायीहरुमा धितोपत्र बजारसम्बन्धमा रहेका अस्पष्टताहरु हट्ने तथा धितोपत्र बजारसम्बन्धमा थप अध्ययन गर्ने उत्सुकता बढाएको धारणा व्यक्त गरेका थिए ।

उच्च अदालत पाटनका वरिष्ठतम् न्यायाधीश रेवन्तबहादुर कुँवरले वित्तीय गतिविधिहरुलाई प्रतिस्पर्धी एवं पारदर्शी वनाउन र दीर्घकालीन पुँजी परिचालन कार्यलाई प्रभावकारी बनाउनमा पुँजी बजारको महत्वपूर्ण भूमिका हुने धारणा राखेका थिए ।

कार्यक्रममा पुनरावेदन अदालत बार एशोसिएसनका अध्यक्ष मेजर थापाले धितोपत्र बजारसम्बन्धी धेरै विषयवस्तुहरु स्पष्ट हुनुका साथै यसले धितोपत्र बजारसम्बन्धमा थप अध्ययन तथा विश्लेषण गर्ने इच्छा एवं उत्सुकता समेत बढाएको बताए ।

Share Now

Leave a comment.