Prakash Adhikari September 2, 2024

काठमाडौँ, १७ भाद्र । आज कुशेऔशी । यस दिनलाई पिताको मुख हेर्ने दिनका रुपमा पनि मनाउन थालिएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन पिता हुनेहरुले पिताको मुख हेर्ने र पिता दिवंगत भएकाहरुले पिताको श्राद्ध तथा पिताको संझनामा सिदादान गर्ने चलन छ ।

यस दिन उत्तरगया, नदीको दोभान, त्रिवेणीमा पितृ श्राद्ध गरेर पितृलाई तर्पण दिने चलन रहिआएको छ । राजधानी काठमाडौंमा बागमती नदी उत्तरतिर घुमेको स्थान परेको गोकर्णस्थित महादेव मन्दिर परिसरमा पितृ श्राद्ध गर्ने प्रचलन छ । काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको बागमती नदीको किनार र गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ उपासकहरुको भीड हुने भएकोले पितृ श्राद्ध, तर्पण र पिण्डदानका कार्यहरुलाई व्यवस्थित गर्न स्थानीय तहमा मेला आयोजना गरिंदै आएको छ ।

बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ ।

यसैअनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा सोमबार लाखौँ भक्तजन पितृप्रति सम्मान प्रकट गर्न पुगिरहेका छन्।

मेला आयोजक समितिले आइतबार बिहानैदेखि पितृ उपासकहरु गोकर्णेश्वर महादेव मन्दिर परिसर आउने क्रम सुरु भएको जानकारी दिएको छ ।

उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभएको छ ।

मेलाका लागि सात उपसमिति गठन गरेर तयारी गरिएको छ । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बाबुको सम्मान गर्न भक्तजन आउने भएकैले यो औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ ।

यहाँ आउने भक्तजनका लागि गत वर्षभन्दा बढी सेवा दिने गरी मूल समिति र उपसमितिको बैठक चारपटक गरिएको उहाँले बताउनुभयो । बैठकमा जनप्रतिनिधि, नेपाली सेनाको विपद् व्यवस्थापन गण, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सामाजिक संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।

कुशे औँशीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ । मेला व्यवस्थापन गर्न आइतवारदेखि नै २ सय जना स्वयंसेवक परिचालन गरिएको जानकारी पनि वडा अध्यक्ष महतले दिनुभयो ।

मेलाका लागि सोमबार नेपाल मेडिकल कलेज र माकालबारी सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकेर मन्दिर क्षेत्रमा भक्तजनहरुको आवागमनलाई सहज पारिएको छ।

कुशेऔंशीको दिन रसुवाको वेत्रावती, चितवनको देवघाट, नवलपरासीको त्रिवेणी लगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध, तर्पण गर्ने भक्तजनको लर्को लाग्छ ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ ।
मृत बाबुका नाममा भने गोकर्णेश्वरलगायत तीर्थस्थलमा गई श्रद्धाभक्तिपूर्वक तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।

यस दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस दिन घर घरमा पवित्र कुश भित्र्याएर कुशे औँशी पर्व पनि मनाइन्छ । वर्षभरि देवकार्य तथा पितृकार्य लगायत धार्मिक क्रियाकलापमा प्रयोग गरिने कुश यसै दिन वैदिक मन्त्रोच्चारणपूर्वक छेदन गरी घर घरमा राखिन्छ ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको शास्त्रीय मान्यता छ । घर घरमा कुश भित्र्याइने भएकाले सोमबारको औँशीलाई कुशे औँशी पनि भनिन्छ ।

 

Share Now