सिरहा, ५ पुस : सिरहा सदरमुकाममा ३५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन तथा सिरहा साहित्य सङ्गम आजदेखि सुरु भएको छ । सम्मेलन चार दिनसम्म सञ्चालन हुनेछ ।
यहाँस्थित चन्द्र नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा आज पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सम्मेलनको उद््घाटन गर्दै मैथिली संस्कृतिका लोकगाथा र लोकबोली अन्य भाषाभन्दा पुरानो रहेको उल्लेख गर्नुभयो । “मैथिली भाषा नेपालमा बोलिने भाषामध्ये दोस्रो स्थानमा भए पनि इतिहासका हिसाबले पहिलो भाषा हो”, उहाँले भन्नुभयो, “त्यसैले प्रदेश सरकारले मैथिली भाषा र साहित्यबारे कसरी अगाडि बढ्ने भन्ने स्पष्ट नीति बनाउन आवश्यक छ । ऐतिहासिक मैथिली साहित्य, कला र संस्कृतिको विकास र सम्मानमा यस सम्मेलनले योगदान पु¥याउने विश्वास लिएको छु ।” डा भट्टराईले मधेस भौगोलिक हिसाबले समृद्ध भए पनि आर्थिक र सामाजिक सूचकाङ्कमा पछाडि रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रमका संयोजक रामरिझन यादवले शुक्रबार र शनिबार सिरहा सदरमुकाम तथा आइतबार र सोमबार गोलबजारस्थित अतिथि सदनमा कार्यक्रम हुने बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा मैथिली भाषाको विकासका सम्बन्धमा वक्ताहरूले बहस गर्नेछन् । यसैगरी सिरहाको आर्थिक, राजनीतिक, सामाजिक, स्वास्थ्य, शिक्षा, कृषि, वैदेशिक रोजगारलगायत विषयवस्तुमाथि पनि बहस तथा संवाद हुनेछ ।
कार्यक्रममा मानव अधिकारवादी नेता कृष्ण पहाडी, नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट आएका मैथिली भाषा, साहित्य तथा संस्कृतिका जानकारहरूको सहभागिता रहेको थियो ।