काठमाडौँ, १० असोज : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार चार सय ८६ दशमलव ७६ मा सीमित भएको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३४ अङ्कले ओरालो लागेर सात सय ४७ दशमलव ४५ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । कूल एक करोड ३६ लाख ९१ हजार पाँच सय ९६ कित्ता शेयर रु चार अर्ब ८४ करोड १४ लाख सात हजार सात सय २० मूल्यमा खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार विन नेपाल लघुवित्त नौ दशमलव ८५, बोटलर्स नेपाल बालाजु पाँच दशमलव शून्य छ, एसबिएल डिवेञ्चर पाँच दशमलव शून्य पाँच, एनआइसी एसिया डिवेञ्चर चार दशमलव ५६ र एनएमबी डिवेञ्चरका लगानीकर्ताले चार दशमलव शून्य तीन प्रतिशतले कमाएका छन् ।
ग्रीन भेञ्चर्स १०, दोर्दी खोला हाइड्रोपावर सात दशमलव ६९, अपि पावर कम्पनी सात दशमलव ४६, थ्री स्टार हाइड्रोपावर छ दशमलव ७३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।
धितोपत्र परिसूचकले ४ हजारभन्दामाथिको यात्रा तय गर्ने अनुमानका भरमा शेयर बजारमा लगानी गर्नेहरुलाई अल्पकालीन नाफाखोरहरुले हतोत्साही गरिदिएका छन् । २ हजार २ सयबाट परिसूचकले ३ हजार २ सयको यात्रा ताकिरहेको बेला ३ हजारबाट माथि लाग्दालाग्दै अल्पकालीन नाफाखोरहरुले शेयर बेचेर बजारमा आपूर्ति बढाई बजार घटाएका थिए । त्यो क्रम अझै जारी छ । यसरी बजार छिटोछिटो घट्दा साना लगानीकर्ताहरु अत्तालिएर सस्तोमा शेयर बेचिदिन्छ र सस्तो शेयर ठूला खेलाडीले उठाएर फेरी परिसूचक माथि पुर्याउदै महंगोमा साना लगानीकर्तालाई नै भिडाउने वातावरण बनाउछन् ।
बजारमा कुन व्यक्ति,समूह र कुन ब्रोकरले अस्वाभाविक चलखेल गरेर शेयर बजारलाई प्राकृतिक बाटोबाट हैन् नियन्त्रित मार्गबाट चलाउन खोज्नेहरु पत्ता लगाउन कठिन थिएन । तर शेयर बजारको नियमनको जिम्मेवारी पाएको नेपाल धितोपत्र बोर्ड गत पुस महिनाको तेस्रो सातादेखि नेतृत्वबिहिन बनेको छ । बोर्डले अधिकारसम्पन्न कार्यकारी अध्यक्ष नपाईकन शेयर बजारले स्थायित्व पाउन सक्ने संभावना न्यून छ । सरकारले अध्यक्ष नियुक्तिको प्रकृया पुनः सुरु गरेको छ । दशै सकिंदासम्म नयाँ अध्यक्ष आउने संभावना बलियो छ ।