Prakash Adhikari November 19, 2024

-विनिता दाहाल । बीबीसी न्यूज नेपाली

काठमाडौं, ४ मंसिर । आफ्ना विवादस्पद अभिव्यक्तिबाट बारम्बार चर्चामा आइरहने मेडिकल ब्यवसायी दुर्गा प्रसार्इँ पक्राउ पर्नुभएको छ । उहाँ यसपटक प्रधानमन्त्री के.पी. शर्मा ओलीका विरुद्धमा सामाजिक सञ्जालमा भ्रामक कुरा प्रचार गरेको अभियोगमा पक्राउ पर्नुभएको हो ।

उहाँलाई पटक पटक उही आरोपमा पक्राउ परेका कारण पटके अपराधमा अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।

मङ्गलवार भक्तपुरस्थित निवासबाटै पक्राउ पर्नुभएका प्रसाईँलाई करिब दुई महिनाअगाडि पनि प्रहरीले सोही ठाउँबाट सोही अपराधको कसुरमा पक्राउ गरेको थियो।

“एकपटक पक्राउ परेर अनुसन्धान भएपछि सधैँभरि उही अपराध गर्छु भन्न त पाइएन। अपराध गरिसकेपछि त अब पटके अपराधमा पक्राउ गरेर कारबाही अगाडि बढ्ने भयो। हामी अब पटके अपराध कायम गरेर सजाय माग गर्छौँ”, केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले बीबीसीसँग भन्नुभयो ।

कसुर के हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले क्याम्बोडियामा लगानी गरेको भ्रामक समाचार सम्प्रेषण गरेर सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पर्ने गरी घृणा र द्वेष फैलाउने काम गरेको भन्दै आफूहरूले प्रसाईँलाई पक्राउ गरेको पनि प्रवक्ता बोगटीले बताउनुभएको छ।

आफूलाई सामाजिक अभियन्ता समेत बताउने प्रसाईँले क्याम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर बराबरको शेअर रहेको एउटा कार्यक्रममा बताउनुभएको थियो। त्यसपछि उहाँले उक्त विषय आफ्नै घरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको उहाँको फेसबुक पेजमा जनाइएको छ।

“मलाई थाहा छ मैले यो सार्वजनिक गरेपछि मेरो जिन्दगीमाथि खतरा थपिएको छ”, उहाँले फेसबुक पेजमा लेख्नुभएको थियो।

प्रहरीले भने बहालवाला प्रधानमन्त्रीविरुद्ध भ्रामक र अपुष्ट विषय बोलेको र सामाजिक सञ्जालमा पोस्ट गरेका कारण साइबर अपराध गरेको देखिएको जनाएको हो।

“साइबर अपराधमा अदालतबाट पक्राउ पुर्जी जारी गरेर केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले भक्तपुरबाट पक्राउ गरी (आज)सीआइबी ल्यायौँ। सीआइबीबाट मेडिकल सहित थप अनुसन्धानका लागि हाम्रो मातहतको साइबर ब्यूरोमा पठाएका छौँ”, प्रवक्ता बोगटीले भन्नुभयो।

दुई महिनाअघि भने प्रहरीले एक महिलाको उजुरीको अनुसन्धानका क्रममा भन्दै प्रसाईँलाई पक्राउ गरेको थियो।

एउटै अपराधमा एक पटकभन्दा बढी पक्राउ परेपछि प्रहरीले पटके अनुसन्धान अन्तर्गत सजायको माग गर्नसक्ने प्रहरीले जनाएको छ।

पटके अपराधमा अनुसन्धान अगाडि बढाउनु कति गम्भीर?

केन्द्रीय अनुसन्धान ब्यूरोका पूर्वप्रमुख हेमन्त मल्ल पटके अपराधमा अनुसन्धान अगाडि बढ्नु र त्यसैअनुसार सजाय माग हुनु भनेको गम्भीर कुरा भएको बताउनुहुन्छ।

“चोरी, साइबर अपराधलगायतका अपराधमा कुनै व्यक्तिलाई प्रहरीले एक पटकभन्दा बढी पटक पक्राउ गर्‍यो भने त्यसलाई पटके अपराध भनिन्छ”, मल्लले भन्नुभयो ।

प्रहरी र अदालतले निर्णय गर्दा यसलाई गम्भीर रूपमा लिने मल्लले बताउनुभयो।

“पटके अपराध कायम गर्दा दफा नै अर्को पनि आकर्षित हुन्छ र अदालतले हेर्दा पनि पहिलापहिला पनि यस्तै अपराधमा परिसकेको रहेछ भनेर दृष्टिकोण बन्छ”, मल्लले भन्नुभयो ।

प्रसाईँमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

“पटके अपराध कायम गर्दा डेढी सजायको माग गरिन्छ,” सीआइबी प्रवक्ता बोगटीले भन्नुभयो ,”तर त्यसका लागि पहिला गरेको अपराध ठहर भएको हुनुपर्छ।”

अब अनुसन्धानको प्रक्रिया के हुन्छ?

दुर्गा प्रसाईँले अहिले समाजमा द्वेष फैलाउने गरी प्रधानमन्त्रीका विरुद्ध पोस्टहरू गरेको भन्दै अहिले त्यसैअन्तर्गत साइबर अपराधमा अनुसन्धान गरिने प्रहरी प्रवक्ता बोगटीले बताउनुभयो।

“देशको कार्यकारी प्रधानमन्त्रीको विरुद्धमा त्यस्ता किसिमका गतिविधि गर्नु गराउनु, सामाजिक सञ्जालमा अप्लोड गराउनु भनेको प्रथम दृष्टिमै साइबर अपराध गरेको देखिएको हुँदा अहिले चाहिँ त्यसैमा अनुसन्धान अगाडि बढाउँछौँ “, बोगटीले भन्नुभयो

“अब साइबर ब्यूरोबाट म्याद थप भएर प्रमाणहरू संकलन गर्छौँ र प्राप्त प्रमाणको आधारमा अनुसन्धान अगाडि बढाउँछौँ।”

त्यसो भए अहिलेसम्म हेर्दा प्रसाईँविरुद्ध कुनकुन मुद्दा आकर्षित हुने देखिन्छ?

बोगटीले भन्नुभयो, “अहिले त विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर नै भयो। त्यसपछाडि अनुसन्धानको क्रममा अरू पनि प्रमाण जुटेर आए भने त्यसमा पनि अनुसन्धान अगाडि बढ्छ।”

विद्युतीय कारोबार ऐन २०६३को दफा ४७ आकर्षित हुने भन्नाले विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्नेलाई अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ।

उक्त दफामा भनिएको छ, “कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।”

सीआइबीका पूर्वप्रमुख मल्लका अनुसार पटके कायम हुने भन्नाले सजायको व्यवस्थामा पनि फरक पर्छ।

“पहिलो चोटि अपराध गर्नेको एउटा हुन्छ सजायको व्यवस्था भने एउटै व्यक्तिले पटकपटक गर्छ भने यो व्यक्ति जहिले पनि यस्तो गर्ने रहेछ भन्ने अदालतले पनि कुनै फैसला गर्दा दृष्टिकोण बनाउँछ।”

को हुन् दुर्गा प्रसाईँ ?

एमाले र माओवादी मिलेर गठित तात्कालिक नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड एवं केपी ओलीलाई आफ्नो घरमा मार्सी चामलको भात खुवाएको एउटा तस्बिर सार्वजनिक भएपछि प्रसाईँ एकाएक चर्चामा आउनुभएको थियो।

नेकपा फुटेपछि प्रसाईँ एमालेका केन्द्रीय सदस्य बन्नुभयो।

एमालेको केन्द्रीय सदस्य रहेकै बेला गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर एउटा कार्यक्रम गरेपछि उहाँलाई एमालेले दलबाट निष्कासन गरेको थियो।

त्यसपछि उहाँ एमालेविरुद्ध उग्र रूपमा प्रस्तुत हुँदै आउनुभएको छ।

केपी ओलीसँग पारिवारिक नाता भएको देखाउन रुचाउने प्रसाईँले केही समयअघि पूर्वप्रधानमन्त्री ओलीको ुविदेशको एउटा कम्पनीमा लगानी रहेकोु भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो।

राजधानीमै भएको प्रसाईँको एउटा कार्यक्रमपछि केही व्यक्तिले उहाँलाई कालोमोसो पनि दलेका थिए। उहाँले एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ र एमाले नेता महेश बस्नेतको अगुवाईमा आफूमाथि कालोमोसो दलिएको दाबी गर्दै आउनुभएको छ।

गत वर्ष उहाँको अगुवाइमा राजधानी काठमाडौंमा प्रदर्शनको आयोजना गरिएपछि उहाँ थप चर्चामा हुनुहुन्छ।

देशमा राजतन्त्र र हिन्दूराष्ट्र ब्युँताउने अभियान चलाइरहनुभएको प्रसाईँको अभियानको उद्घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह सहित उहाको परिवारका सदस्यहरू डेढ वर्षअघि झापा पुग्नुभएको थियो।

Share Now