Prakash Adhikari September 27, 2024

 

-टम बेनेट
बीबीसी न्यूज

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशको सेना सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध “पूर्ण शक्ति” लगाएर लड्ने काम जारी राख्ने बताउनुभएको छ।

अमेरिका र अन्य साझेदार देशबाट युद्धविरामका लागि आह्वान भइरहँदा नेतन्याहूको त्यस्तो भनाइ आएको हो।

लेबनानको स्वास्थ्यमन्त्रालयले बिहीवार इजरायली हवाई हमलाका कारण कम्तीमा ९२ जना मारिएको जनाएको छ।

अवस्था चर्कन थालेपछि सोमवारयता लेबनानमा अन्य सयौँ जनाले ज्यान गुमाएका छन्।

बेइरुतको दक्षिणमा पर्ने अपार्टमेन्टमा भएको एक हमलामा परेर हिज्बुल्लाहको ड्रोन एकाई प्रमुख मोहम्मद सुरुर मारिएको उक्त समूहले जनाएको छ।

सोमवारयता नाटकीय रूपमा लेबनानमा इजरायली हमला चर्किएसँगै इजरायल र हिज्बुल्लाहबीच पूर्ण आकारको युद्ध हुने चर्चा यतिखेर उत्कर्षमा छ।

युद्धविरामका प्रयासको अवस्था

शत्रुता गहिरिँदै जाँदा अमेरिका, यूके र युरोपेली सङ्घ ईयूसहितका १२ शक्तिहरूले बुधवार तीन साता लामो इजरायल(हिज्बुल्लाह युद्ध विरामको प्रस्ताव गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका लागि इजरायली राजदूतले यसअघि आफ्नो देश विभिन्न “विचारका लागि खुला” रहेको बताउँदा धेरैलाई आशावादी बनाएको थियो।

तर बिहीवारसम्ममा त्यसलाई इजरायली राजनीतिज्ञहरूले पूर्ण रूपमा अस्वीकार गरेका छन्।

संयुक्त राष्ट्रसङ्घीय महासभाका लागि न्यूयोर्कमा अवतरण गरे लगत्तै नेतन्याहूले आफ्ना सबै लक्ष्य हासिल नहुँदासम्म इजरायल लेबनानमा “नरोकिने” बताउनुभएको थियो।

जसमध्ये एउटा मुख्य लक्ष्यका रूपमा उत्तरी भेगका इजरायली बासिन्दाहरू सुरक्षित रूपमा आफ्नो घर फर्कन सक्ने अवस्था बनाउनु रहेको उहाँले बताउनुभयो।

पछि ह्वाइटहाउसले युद्ध विराम प्रस्ताव इजरायलसँग “समन्वय” गरिएको जनाएको थियो। तर त्यसको केही घण्टापछि नेतन्याहूले आफ्नो देशले लडाइँ जारी राख्ने बताउनुभयो।

न्यूयोर्कमा बोल्दै यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले लेबनानको द्वन्द्व सुल्झाउन ूएउटा कूटनीतिक समाधानका लागि तत्काल युद्ध विरामू आह्वान गर्नुभएको छ।

उहाँले द्वन्द्व ूकसैले नियन्त्रण गर्न नसक्नेू युद्धका रूपमा फैलन सक्ने समेत बताउनुभये।

दुवैतर्फ हजारौँ विस्थापित

गाजा युद्ध सुरु भएयता झन्डै एक वर्षदेखि इजरायल र हिज्बुल्लाहबीच सीमापार हमला हुँदै आएको छ। जसका कारण एक वर्षयता उत्तरी इजरायलबाट ७० हजार मानिसहरू विस्थापित छन्।

लेबनानमा सोमवारयता ९० हजार मानिसहरू विस्थापित भएका छन्। संयुक्त राष्ट्रसङ्घका अनुसार पहिल्यै त्यहाँ १ लाख १० हजार मानिसले घर छाडेका थिए।

बिहीवार इजरायली सेनाले लेबनानको दक्षिण र पूर्वको बेका उपत्यकामा रहेका हिज्बुल्लाहका निशानामा प्रहार गरेको थियो।

उसले लेबनान(सिरिया सीमामा रहेका पूर्वाधारमा समेत हमला गर्दै उक्त समूहलाई अस्त्र आपूर्ति रोक्न त्यसो गरिएको जनाएको छ।

इजरायली वायु सेवाका कमाण्डर मेजर जेनरल तोमर बारेले बिहीवार आफ्ना फौजलाई सम्बोधन गर्दै लेबनानमा हुने स्थल हमलालाई साथ दिन आफूहरू तयार हुनुपर्ने बताए।

हिज्बुल्लाहले हमासलाई साथ दिने गरी लडिरहेको भन्दै गाजामा युद्ध रोकिएपछि मात्र सीमा पार हमलाहरू रोक्ने जनाएको छ।

इरानको साथ पाएको हिज्बुल्लाहलाई इजरायल, यूके र कैयौँ पश्चिमा देशहरूले आतङ्कवादी सङ्गठन मान्छन्।

Share Now