काठमाडौं, ११ असोज । अविरल वर्षाका कारण पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।
पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।
नेपालमा मनसुनी वायु सक्रिय रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
रात्रीबस नचलाउन आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खास गरी हिमाली तथा पहाडी जिल्लामा शुक्रवार र शनिवार रात्रिकालीन बसहरू नचलाउन आग्रह गरेको छ।
जोखिममा रहेका जिल्लाहरूमा विपद्का घटना बढ्न सक्ने भएकोले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टले सर्वसाधारणदेखि सुरक्षा निकायले चाल्नुपर्ने कदमबारे बिहीवार साँझ विशेष सूचना जारी गरेको छ। त्यसअन्तर्गत रात्रिबस नचलाउनेदेखि तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्नेसम्मका काम छन्।
प्राधिकरणले यो अवधिमा धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन भनेको छ। साथै तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतल्लामा अन्नपात नराख्न भनिएको छ।
प्राधिकरणले यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न र बादल गर्जेको र चट्याङ परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबस्न भनेको छ।
आइतवारसम्म पर्ने पानीका कारण देशका कुल ७७ मध्ये ५६ जिल्ला उच्च जोखिममा रहेको अधिकारीहरूले बताएका छन्।
५६ जिल्ला रेड अलर्टमा
सरकारले वर्षाका कारण देशका ५६ जिल्ला उच्च जोखिममा रहेको जनाउँदै तिनमा रेड अलर्ट जारी गरेको छ।
त्यस्तो सूचनाको अर्थ त्यहाँ वर्षाजन्य विपद्का कारण प्रतिकार्य आवश्यक पर्ने भन्ने हुने अधिकारीहरू बताउँछन्।
अहिले मनसुन र बङ्गालको खाडीमा विकसित नयाँ न्यूनचापीय प्रणाली दुवैको जोर प्रभावले वर्षा भइरहेको छ।