ओन्टारियो(क्यानडा), १६ असोज । यसपटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्यानडा भ्रमण उपलब्धिमूलक हुन सकेन । लिग टूका चार खेलमध्ये तीन खेल गुमाएको नेपालले त्यसपछि भएको त्रिकोणीय श्रृखलामा लयमा आउने आशा गरिएको थियो । त्यो पनि निराशामा परिणत हुँदै गएको छ । जारी टी २० श्रृखलाका चार खेलमध्ये क्यानडासंगका दुवै खेलमा नेपाल पराजित भएको छ । ओमानसंगको एक खेलमा नेपालले जित निकाल्न सक्यो । अब एक खेल बाँकी छ ।
मंंगलबार राति सम्पन्न खेलमा नेपाल क्यानडासंग ४ विकेटले पराजित भएको थियो । हिजोको खेलले नेपालको ब्याटिड. र बलिड. दुवैमा ब्यापक सुधारको माग गरेको देखाएको छ ।
क्यानडाको ओन्टारियोस्थित किंगसिटीमा मंगलवार भएको खेलमा नेपालले दिएको १ सय ४० रनको लक्ष्या घरेलु टोलीले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
क्यानडाका लागि साद विन जाफरले १८ बलमा ४ चौका र १ छक्काको सहयोगमा नट आउट ३३ रन जोडे । कप्तान निकोलस किर्तनले १४ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए ।
रविन्द्रपाल सिंहले २१ बलमा नट आउट २०, नवनित धालिवालाले १२ तथा दिलप्रित बाज्वाले २५ रन नजजोडे । क्यानडालाई रोक्ने क्रममा नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान २ तथा सोमपाल कामीले १ विकेट लिए । विकेट झार्न पनि नेपाली खेलाडीहरु त्यति उम्दा देखिएनन् ।
त्यसअघि टस हारे ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन जोडेको थियो ।
राम्रो सुरुवात गरेको नेपालका ओपनर बाहेकका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि ओपनर अनिल शाहले ३० बलमा ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४१ रन जोडे । पहिलो विकेटका लागि अर्का ओपनर आसिफ शेखसँग मिलेर शाहले ५५ बलमा ७० रन जोडे । आसिफले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३० रन बनाए ।
गुलशन झाले १६ बलमा २ छक्काको मद्दतमा २३ रन बनाए । एक समय ९ ओभरमा कुनै विकेट नगुमाई ७० रन बनाएको नेपाल यो खेलमा राम्रो रन जोडेर बिजयी हुने अपेक्षा गरिएको थियो । तर बाँकी ११ ओभरमा ६ विकेट गुमाएर जम्मा ६९ रन मात्र जोड्न सक्यो ।
नेपाललाई रोक्ने क्रममा क्यानडाका लागि हर्ष ठाकरले २ तथा डेलिन हेलिगर, अखिल कुमार, प्रविन कुमार र साद विन जाफरले समान १ ।१ विकेट लिए ।
आइतवार भएको सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रन बनाउँदै अल आउट भएको थियो ।
दोस्रो खेलमा भने नेपालले ओमानमाथि जित हासिल गरेको थियो । १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १ सय ३९ रन बनाउँदै अल आउट भएको थियो ।
सिरिजको अर्को खेलमा ओमानले क्यानडालाई पराजित भएको थियो । नेपालले चौथो खेलमा बुधवार ओमानको सामना गर्नेछ ।
लिग २ का चार खेल मध्ये तीनमा पराजय ब्यहोरेर एक खेलमा बर्षाले बाडेको १ अंक पाएको नेपालको टिमको कमजोरीको गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको छ । खेल मैदानमा नेपाली क्रिकेट टिमको प्रदर्शन गर्व गर्न र हेर्न लायक बन्न छाडेको छ ।