गत साताको उच्च तथा अविरल वर्षाका कारण राजधानी काठमाण्डू आसपाससहित देशका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएपछि पहिरोको जोखिम पूर्वानुमानबारे विभिन्न खाले टिप्पणीहरू भइरहेका छन्।
केही व्यक्तिहरूले वर्षा र बाढी लगायत अन्य कतिपय प्राकृतिक विपद्को जस्तै पहिरोबारे पूर्वचेतावनी जारी गर्न सकिन्छ कि सकिँदैन भन्ने चर्चा गरिरहेका छन्।
विदेशबाट फर्के लगत्तै पत्रकारहरूसँगको भेटघाटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार दिएको एउटा अभिव्यक्तिले पनि विपद्को पूर्वचेतावनीबारे बहस उत्पन्न गराएको छ।
पूर्वचेतावनीबारे ओलीले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा कतिपयले उनको आलोचना गरिरहेका छन्।
बीबीसीले कुरा गरेको पहिरोसम्बन्धी विज्ञ तथा अधिकारीहरूले चाहिँ अन्य कतिपय प्राकृतिक विपद्को जस्तै “पहिरोको पनि पूर्वचेतावनी दिन सकिने” तर त्यसका लागि “धेरैवटा निकायहरूले एकसाथ काम गर्नुपर्ने” आवश्यकता औँल्याएका छन्।
ओलीको अभिव्यक्ति
देशमा प्राकृतिक विपत्ति निम्तिएका बेला अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्कँदा सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विपद्को पूर्वचेतावनीबारे टिप्पणी गरेका थिए।
विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले काठमाण्डूमै “ठूलो डुबान होला भन्ने कल्पना नगरिएको” बताएका थिए।
सञ्चारकर्मीहरूले जल तथा मौसम विज्ञान विभागले उच्च वर्षा हुने र त्यसबाट बाढीपहिरो निम्तिन सक्ने भनी दिएको चेतावनीबारे उनलाई प्रश्न सोधेका थिए।
त्यसको उत्तर दिँदै ओलीले भने, “फोरकास्ट त गरेको छ ‘रेड अलर्ट’ भनेर हो तर कहाँकहाँ पहिरो जान्छ भनेको त थिएन नि!”
“अब गएपछि थाहा हुने कुरा भयो। काठमाण्डूमा यति डुबान हुने गरी, यस्तो गरी आउला भन्ने त्यो कल्पना पनि थिएन, ‘अलर्ट’ त थियो। यस्तो कुरालाई हामीले वस्तुपरक ढङ्गले नै लिनुपर्छ।”
सामाजिक सञ्जालमा धेरैले ओलीले “कहाँकहाँ पहिरो जान्छ त भनेको थिएन नि!” भनी दिएको अभिव्यक्तिलाई “असंवेदनशील” र “अनुत्तरदायी” भनेर आलोचना गरिरहेका छन्।
मङ्गलवार गरिएको पत्रकार सम्मेलनमा भने ओलीले जल तथा मौसम विज्ञान विभागले दिएको पूर्वसूचना अनुरूप “रात्रिबस नचलाउनू” भन्नेलगायतका कदम चालिएको बताए।
उनले सरकारका सबै निकाय पूर्वसूचना अनुरूप “अलर्ट” , सतर्क भएर काम गरेको दाबी समेत गरे। यद्यपि ओलीले भने, “कहीँ कतै कमजोर भएको भए आगामी दिनमा नहुनेगरी हामीले ध्यान दिनुपर्छ।”
बाढी, डुबान र पहिरोको पूर्वचेतावनी
नेपालमा विगत केही वर्षदेखि जल तथा मौसम विज्ञान विभागले मनसुन तथा अरु बेलामा पनि वर्षा हुँदा विभिन्न नदीहरूमा रहेको पानीको बहावबारे नियमित रूपमा चेतवनी जारी गर्ने गरेको छ।
खतरा उच्च भएका बेलामा सम्भावित बाढी तथा डुबान र पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्नेहरूलाई एसएमएस पठाएरसमेत पूर्वसूचना दिने गरिएको छ।
विभागले जारी गर्ने पूर्वचेतावनी र उसले गरेको प्रक्षेपणलाई पछिल्ला वर्षहरूमा “निकै प्रभावकारी” मान्न थालिएको छ।
त्यो कुन स्थानमा कति पानी पर्यो र नदीहरूमा पानीको तह कति बढ्यो भन्ने मापनका आधारमा जारी गर्ने गरिएको अधिकारीहरू बताउँछन्।
त्यसका अतिरिक्त स्थानीय सरकारी निकायका अधिकारीहरू र स्थानीयवासीको प्रत्यक्ष अवलोकनलाई एउटा आधार मान्ने गरिएको उनीहरूको भनाइ छ।
बाढी र डुबानका लागि दिइने पूर्वचेतावनी जति प्रभावकारी देखिएको छ पहिरोका हकमा त्यस्तै खालको पूर्वसूचना जारी गर्न नसकिएको अधिकारीहरू बताउँछन्।
‘पहिरोसम्बन्धी सूचनाको आधार वर्षाको मापन मात्र’
नेपालको विपद् पोर्टलमा रियल टाइममा कहाँ कति वर्षा भइरहेको छ र कुन नदीमा पानीको बहाव कस्तो छ भनेर हेर्न मिल्छ
तस्बिरको क्याप्शन,नेपालको विपद् पोर्टलमा ‘रियल टाइम’ मा कहाँ कति वर्षा भइरहेको छ र कुन नदीमा पानीको बहाव कस्तो छ भनेर हेर्न मिल्छ
जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलका अनुसार हालसम्म पहिरोका लागि जारी गरिने पूर्वसूचना वर्षाको मापनका आधारमा मात्र हुने गरको बताउँछिन्।
पहिरोका हकमा प्रभावकारी खालको पूर्वसूचना वा चेतावनी जारी गर्नका लागि एउटा निकाय वा एकखाले विश्लेषणले मात्र सम्भव नहुने उनको भनाइ छ।
“अहिले कति पानी परेको छ भन्ने मापनका आधारमा संवेदनशील क्षेत्रमा पहिरो जानसक्छ भन्न मात्र सक्ने अवस्था छ,” उनले भनिन्।
“तर पहिरोको प्रभावकारी ‘अलर्ट’ जारी गर्ने हो भने धेरैवटा निकायले काम गर्नुपर्ने हुन्छ। एउटा मात्र निकायले गरेर त्यो प्रभावकारी हुँदैन।”
उनका अनुसार कुनै पनि स्थानमा पहिरो जाने भन्ने कुरा वर्षामा मात्र निर्भर हुँदैन। कतिपय अवस्थामा सुक्खा पहिरोसमेत जाने गर्छ।
त्यसैले वर्षाको मापन एउटा मुख्य कुरा भए पनि कुनै पनि स्थानको भौगोलिक अवस्थिति, ढुङ्गामाटोको अवस्था, वनजङ्गलको अवस्था, त्यस क्षेत्रमा भइरहेका निर्माण र खानीको अवस्थालागयत धेरै कुराले भूमिका खेल्ने जानकारहरूको भनाइ छ।
“त्यसैले अहिले हामीले जारी गरेको बाढीको जस्तो पहिरोका लागि प्रभावकारी पूर्वसूचना जारी गर्ने हो भने धेरैवटा निकायले एकैसाथ काम गर्नुपर्छ। त्यो असम्भव भने होइन,” उनले भनिन्।
बाढीको पूर्वचेतावनी कसरी जारी हुन्छ?
विभागका सिनिअर डिभिजनल हाइड्रोलोजिस्ट तथा बाढी शाखा प्रमुख विनोद पराजुलीका अनुसार नेपालमा २०७३ सालदेखि नियमित रूपमा बाढीको पूर्वसूचना जारी गर्न थालिएको हो।
“सुरूमा हामीले ठूला नदीहरूको पानीको बहाव मापन गरेर यस्तो सूचना जारी गर्न थालेका हौँ। सबैभन्दा पहिले ४२ वटा वर्षा मापनकेन्द्रबाट प्राप्त तथ्याङ्कका आधारमा त्यस्तो सूचना जारी हुन्थ्यो,” उनले भने।
उनका अनुसार विभागले अहिले त्यसलाई विस्तार गरेर २७३ वटा वर्षा मापनकेन्द्रबाट पूर्वचेतावनी जारी गर्न सक्छ।
“हामीले विभिन्न नदी तथा खोलाहरूमा पानीको बहाव मापन गर्ने उपकरणहरू राखेका छौँ भने त्यस क्षेत्रमा वर्षा मापन गर्ने स्टेशनहरू पनि छन्,” उनले भने।
“त्यहाँबाट आएको प्राविधिक विवरण र अवलोकन समेतको आधारमा बाढीको पूर्वचेतावनी दिने गरिन्छ।”
उनका अनुसार यसरी दिइने पूर्वसूचनामा पनि कुनै एउटा निश्चित स्थानको नाम तोक्नु भन्दा “फलानो नदी क्षेत्र” भन्ने गरिएको छ।
उनले भने, “हामीले कुनै पनि नदी क्षेत्रमा यस्तो अवस्था छ भनेर चेतावनी दिएपछि अन्य सबै संयन्त्र सक्रिय भएर काम गर्छन् र बाढीबाट क्षति कम हुन्छ भन्ने स्वाभाविक अपेक्षा राखेर यसरी पूर्वचेतावनी जारी गरिएको हो।”
पूर्वचेतावनीले आम सर्वसाधारणलाई पनि बाढी तथा डुबान हुनुपूर्व नै सुरक्षित स्थानमा जानका लागि मद्दत गर्ने उनको भनाइ छ।
विभागले एक घण्टामा ६०, तीन घण्टामा ८०, ६ घण्टामा १००, १२ घण्टामा १२० र २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा भएमा बाढी तथा पहिरोको लागि पूर्वचेतावनी जारी गर्ने गर्छ।
‘पहिरोको पूर्वचेतावनी दिन सकिन्छ’
त्रिभुवन विश्वविद्यालयका भू-विपद् विज्ञ एवं भूगर्भशास्त्रका सहप्राध्यापक रञ्जनकुमार दाहाल अहिलेको अवस्थामा नै पनि नेपालमा पहिरोको जोखिमबारे पूर्वचेतावनी दिन सकिने बताउँछन्।
उनले भने, “हामीले पहिरोको पूर्वसूचना दिन सक्छौँ। यसका लागि हामीले हाम्रो तयारी त्यसै अनुरूपले गर्नुपर्छ।”
“हामीले १०/१२ वर्षअघि नै नेपालभरिको पहिरोको जोखिमयुक्त स्थलहरूको नक्सा बनाइसकेका छौँ र त्यो विपद्सम्बन्धी पोर्टलमा अहिले पनि उपलब्ध छ,” उनी भन्छन्।
“अब त्यस क्षेत्रमा कति पानी पर्यो भन्ने हेरेर त्यसैका आधारमा पहिरोको पूर्वचेतावनी दिन सकिन्छ र अहिले पनि जारी भइरहेको देखिन्छ।”
दाहालका अनुसार पहिरोको जोखिम भएका क्षेत्रहरूमा १४० मिलिमिटरभन्दा बढी पानी परेपछि त्यसलाई पहिरो आउनसक्ने खतराको रूपमा लिने गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अधिकारीहरू पनि पहिरोको जोखिम भएका क्षेत्रमा बढी पानी परेको अवस्थामा “सतर्कता अपनाउन” आग्रह गर्ने गरिएको बताउँछन्।
यद्यपि उनीहरू अहिलेको अवस्था “कति पानी पर्यो भन्ने मापनका आधारमा मात्र भएकाले त्यसलाई थप प्रभावकारी बनाउन धेरैवटा निकायले काम गर्नुपर्ने” बताइरहेका छन्।
पूर्वचेतावनी हुँदाहुँदै किन भयो धेरै क्षति?
पछिल्लो विपद्मा पहिरोका कारण धेरैको ज्यान जाने अवस्था हुनुमा पूर्वसूचना वा पूर्वचेतावनी मुख्य कुरा नभएको दाहालको भनाइ छ।
उनी भन्छन्, “जल तथा मौसम विज्ञान विभागले गरेको काम त एकदमै राम्रो थियो र उहाँहरूले समयमै सूचना दिनु भएको थियो।”
“त्यो सूचनालाई संवेदनशील रूपमा लिएर सङ्घ, प्रदेश र स्थानीय तहसम्मका विपद् व्यवस्थापनसम्बन्धी समितिहरू सक्रिय हुनु पर्नेमा त्यसो भएको देखिएन।”
उनी त्यो सूचनालाई नागरिकले पनि गम्भीर रूपमा नलिएको देखिएको बताउँछन्।
उनी भन्छन्, “पूर्वसूचना दिनेले यो दिन यो क्षेत्रमा यस्तो वर्षा हुने सम्भावना छ भनेर भनेको अवस्था थियो। हामीसँग कुन सडकको भित्तो कस्तो छ र कहाँनेर जोखिम छ भन्ने नक्सा पहिलेदेखि नै उपलब्ध छ।”
“त्यो नक्सा हेरेर ‘यो क्षेत्रमा जोखिम छ’ भनेर सवारीसाधन निषेध गर्नु पर्थ्यो। कसैले सवारीसाधन चलाए कारबाहीको चेतावनी दिनुपर्थ्योँ अनि मात्र हामीले क्षति कम गर्न सक्थ्यौँ। त्यसैले यो पूर्वसूचनाको कमीका कारणले भएको होइन, त्यस अनुरूप काम नहुँदा भएको हो।”
उनले नेपालमा जारी गरिने पूर्वसूचना तथा पूर्वचेतावनीलाई कसैले पनि संवेदनशील रूपमा नलिने परिपाटीले विपद्का बेलामा धेरै क्षति हुने गरेकोमा पनि जोड दिए।
क्षति न्यूनिकरणका लागि अब “सतर्क रहनू” भन्ने खालको मात्र नभइ “कतिपय गतिविधिमा रोक नै लागाउने” खालको सूचना जारी गर्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ।
पहिरोको पूर्वसङ्केत
पहिरोविज्ञका रूपमा परिचित दाहाल पहिरोबाट बच्नका लागि भिरालो भेगमा बस्नेहरूले घरको नजिक भल काट्ने काम नभएको भए त्यसो गरेर पानी जम्न दिन नहुने बताउँछन्।
त्यसले त्यस्ता ठाउँमा हुने थप सुरक्षाका उपायलाई भरपर्दो बनाउने उनको भनाइ छ।
दीर्घकालीन तयारीसँगै कतिपय अवस्थामा घटना हुनुभन्दा केहीअघि आउने सङ्केतले समेत ज्यान जोगाउन केही समय प्राप्त हुन सक्ने सहप्राध्यापक दाहालको भनाइ छ।
“त्यसबाहेक राती सुतिरहँदा जमिन थर्कने र कटकट आवाज आउनेजस्ता सङ्केतले समेत पहिरो आउन लागेको जनाउ दिन्छ,” उनी भन्छन्।
“मूल फुटेर धमिलो पानी आइरहेको अवस्था कतै देखा परेमा समेत त्यहाँ पहिरो जाँदैछ भन्ने बुझ्नुपर्छ।”
आसपासमा स-साना पहिरो धेरै जाँदा समेत ठूलो पहिरोको लागि भू-अवस्थिति बन्न सक्ने र कतिपय अवस्थामा ठूलो पहिरोको सङ्केत हुने हुनाले तिनको नियन्त्रण सानै स्वरूपमा गर्न थाल्नुपर्ने विज्ञहरूको मत पाइन्छ।
उनी भन्छन्, “आसपासमा रूख ढल्किँदा वा बारीका कान्लामा साना पहिरो जान थाल्दा त्यसलाई जनाउका रूपमा बुझेर सजग हुनुपर्छ।”
विगत वर्षमा समेत पहिरो गएका ठाउँ र हालसम्म चिराहरू देखा परेका ठाउँमा पहिरोको जोखिम उच्च हुने गर्छ। त्यस्ता ठाउँमा अलिअलि पानी पर्दासमेत पहिलेका चिरा परेका ठाउँ जोखिमयुक्त हुने दाहाल बताउँछन्।
- पहिरो आएका बेला बच्न के गर्ने?
- यदि व्यक्तिगत सुरक्षामा कुनै खतरा महसुस भयो भने विलम्ब नगरी आपत्कालीन सेवा दिने निकायलाई फोन गरिहाल्नुहोस्।
- पहिरो गइरहेको क्षेत्रतिर नजानुहोस्। बाढी आएको खोलामा पौडी नखेल्नुहोस्। केवल ६ इन्च अग्लो तीव्र गतिमा बगिरहेको पानीले तपाईँलाई लडाउन सक्छ भने दुई फिट पानीले एउटा कारलाई बगाउन सक्छ।
- नदी किनारमा नहिँड्नुहोस्।
- बाढीपहिरोको पानी नचलाउनुहोस्। ढल मिसिएर यो दूषित भएको हुन सक्छ। यदि तपाईँले त्यस्तो पानी छुनु भयो भने सफा पानीले आफ्नो हात र लुगा राम्ररी धुनुहोस्।
- बालबालिकालाई बाढीपहिरोको पानीमा वा त्यसको नजिकै खेल्न नदिनुहोस्।
- पहिरो जानसक्ने संवेदनशील क्षेत्रमा नजानुहोस्।
- बाढी वा पहिरो आएको स्थानमा रमिता हेर्नका लागि नजानुहोस् त्यो जोखिमपूर्ण हुनसक्छ।
- पहिरो खस्न सक्ने सडकमा पानी परेका बेलामा यात्रा नगर्नुहोस्।
- पहिरो खसेर लेदो थुप्रिएको स्थानमा पैदल पनि नहिँड्नुहोस् त्यहाँ तपाईँ लेदोमा भासिएर फस्न पनि सक्नु हुन्छ।