काठमाडौं, ४ असार। स्थायी संसदको रुपमा रहेको राष्ट्रियसभाका ५९ जना सांसदको पदावधिको निर्धारण गर्न आज गोलाप्रथा निर्वाचन हुँदैछ ।
५९ मध्ये एक तिहाई सदस्यहरु हरेक दुई दुईबर्षमा निर्वाचित हुने व्यवस्था अनुरुप गोलाप्रथा गरिदैछ । १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष हुनेछ । कुन सांसदको पदावधि कति भनेर टुंगो भने गोलाप्रथाबाट तय हुनेछ ।
गोलाप्रथाको प्रक्रियाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले गोला प्रथाबाट सांसदहरु निर्वाचित भएको दृश्य जनताले प्रत्यक्ष प्रसारणमार्फत हेर्न पाउने व्यवस्था गरिएको बताए ।
गोलाप्रथालाई पूर्ण विश्वसनीय र पारदर्शी बनाउन सचिवालयले कार्यविधि तय गरेको छ । सो कार्यविधिअनुसार पारदर्शी बट्टामा गोला राखिनेछ । गोला राख्नुअघि बाकस खाली गरेर देखाइनेछ । त्यसपछि खोल्न मिल्ने गोलाकार बलमा २ वर्ष, ४ वर्ष, ६ वर्ष लेखिएका चिट्ट्ठा कागज पटयाएर राखिनेछ ।
सबैभन्दा पहिले सातै प्रदेशका महिला सांसदहरुले क्रमशः प्रदेशगत रुपमा गोला तान्नेछन् । बट्टामा राखिएको गोला क्रमशः वर्णानुक्रमका आधारमा सांसदलाई बोलाएर झिक्न लगाइनेछ । सांसदले झिकेको गोला संसद सचिवालयका महासचिव वा उनले तोकेका प्रतिनिधिले खोलेर देखाउनेछन् ।
प्रत्येक प्रदेशका ३ महिला सांसदमध्ये एकजनाको २ वर्ष, एकजनाको ४ वर्ष र एकजनाको ६ वर्ष पदावधि हुने गरी गोलाप्रथाबाट टुंगो लगाइने फुयालले बताए । महिलापछि सातै प्रदेशबाट निर्वाचित सात दलित र सात अल्पसंख्यक तथा अपांग सांसदले गोला तान्नेछन् ।
दलित र अल्पसंख्यकको हकमा भने शून्य वर्ष पनि राखिएको छ । दुई दुई जनाले गोला तान्दा २, ४ र ६ वर्ष कार्यकालको हुने र एकजना बाँकी रहने भएकाले एक जनालाई शून्य वर्ष मानेर पुन ४ वर्ष र ६ वर्षको गोला तान्न लगाइनेछ ।
खुलाबाट निर्वाचित सात प्रदेशका २१ सांसद र राष्ट्रपतिबाट निर्वाचित ३ जनाले पनि गोला तानेर आफ्नो पदावधि निर्धारण गर्नेछन् । गोलाप्रथाबाट सांसदको निर्वाचन हुँदा निर्वाचन आयोग र कानुन मन्त्रालयका प्रतिनिधि पनि रहने सचिवालयले जनाएको छ ।