Prakash Adhikari June 18, 2018

 

काठमाडौं, ४ असार । मुलुककै प्रतिष्ठित औधोगिक घराना चौधरी ग्रुप चलचित्र उद्योगमा प्रवेश गरेको छ । चौधरी ग्रुपको सीजी इन्टरटेनमेन्ट प्रा. लि.ले एकातिर नेपाली फिल्म निर्माण गर्ने तैयारी गरिरहेको छ भने अर्कोतिर विदेशी फिल्मको नेपालमा वितरणको काम पनि संगसंगै थालेको छ ।

सीजी इन्टरटेनमेण्टले अहिले उक्त अनटाइटल प्रोजेक्टका लागि निर्देशक र कलाकार छनौटको काम थालिसकेको छ । यसअघि यो कम्पनीबाट ‘भिसा गर्ल’ नामक फिल्म निर्माण भएको थियो ।

फिल्म निर्माण सँगै चौधरी ग्रुपले अब बलिउड फिल्मको नेपाल प्रदर्शन अधिकार खरिद गर्न सुरु गरेको छ । गोपीकृष्ण मुभिजसँगको सहकार्यमा यो कम्पनीले बलिउडका दुई ठूला फिल्म नेपाल भित्राइसकेको छ ।

बलिउड एक्ट्रेस सोनम कपूर, शिखा तल्सानिया, स्वरा भास्कर र करीना कपूरको फिल्म ‘वीरे दी वेडिङ’ र बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘रेस ३’ को नेपाल प्रदर्शन अधिकार सीजी र गोपीकृष्णले संयूक्त रुपमा खरिद गरेका हुन् ।

प्रायः बलिउड फिल्मको नेपाल प्रदर्शन अधिकार गापीकृष्ण मुभिजले पाउने गर्दछ । अब यो कम्पनीसँग सीजीले सहकार्य गरेको छ । यी दुई ठूला कम्पनीको हातमा बहुप्रतिक्षीत बलिउड फिल्म ‘सञ्जू’ पनि छ ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका छोरा अर्थात् चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र गोपिकृष्ण मुभिजका अध्यक्ष निरक पौडेल मिल्ने साथी हुन् । यी दुईले अध्ययन पनि सँगै गरेका थिए । विद्यार्थी जीवनको मित्रता अब व्यवसायिक जीवनमा परिणत भएको छ ।

निर्वाण र निरक अब बलिउडका ठूला(साना फिल्म आफ्नो कब्जामा पार्ने रणनीतिमा छन् । प्राप्त जानकारी अनुसार, गोपीकृष्ण मुभिज र चौधरी ग्रुपको संयूक्त लगानीमा देशभर मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ भने नेपाली फिल्म निर्माणमा समेत सहकार्य हुँदैछ ।

Share Now

Leave a comment.