वाशिड.टन डीसी(संयुक्त राज्य अमेरिका), ६ असोज (बीबीसी) । अर्बपति व्यापारी इलोन मस्कले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा निर्णायक हुन सक्ने ठानिएका राज्यका मतदातामध्ये एक जनालाई दैनिक १० लाख अमेरिकी डलर वितरण गर्ने घोषणा गर्नुभएको छ। तर उहाँको यो निर्णय काननसम्मत छ कि छैन भनेर प्रश्न उठेको छ।
अमेरिकामा नोभेम्बर ५ मा निर्वाचन हुन लागेको छ। मस्कले राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्पको पक्षमा समर्थन जुटाउन ‘अमेरिका पीएसी’ अभियान थाल्नुभएको छ। त्यसमा सहभागी हुन सहमत हुने पेन्सिल्भेनिया राज्यका मतदाताहरूलाई हस्ताक्षर गरेकै आधारमा मस्कले नगद पुरस्कार दिने घोषणा गर्नुभएको हो।
सो अभियानमा सहभागी हुन हस्ताक्षर गर्ने स्विङ स्टेट मानिएका सात राज्यका मतदातामध्येबाट प्रत्येक दिन एक जनाले १० लाख अमेरिकी डलर हात पार्ने छन्। त्यो क्रम मतदान हुने दिनसम्म चल्ने छ।
केही कानुनविद्हरूले कुनै अभियानमा समर्थन जनाएबापत मतदाताहरूलाई नगद दिने कार्यबाट अमेरिकी कानुनको उल्लङ्घन हुने बताउनुभएको छ।
यस विषयमा बीबीसीले मस्कको टोली र अमेरिका पीएसीसँग प्रतिक्रिया लिने मागेको छ।
मस्कको योजनामा के छ?
अमेरिका पीएसीले “अभिव्यक्ति स्वतन्त्रता र हातहतियार बोक्न पाउने अधिकार”सम्बन्धी एक प्रस्ताव तयार गरेको छ।
त्यो प्रस्तावमा अहिलेसम्म अनिर्णीत देखिएका र राष्ट्रपतीय निर्वाचनमा निर्णायक ठानिएका जोर्जा, नभाडा, एरिजोना, मिशिगन, नोर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिन राज्यका मतदाताहरूलाई हस्ताक्षर गर्न आह्वान गरिएको छ।
अर्का एक मतदातालाई हस्ताक्षर गर्न सिफारिस गर्ने मतदातालाई ती मतदाताले हस्ताक्षर गरेको अवस्थामा ४७ अमेरिकी डलर (६,००० नेपाली रुपैयाँभन्दा बढी) पुरस्कार दिने भनिएको छ।
पेन्सिल्भेनिया राज्यमा सो प्रस्तावमा हस्ताक्षर वा सिफारिस गर्ने मतदाताले भने सबैभन्दा धेरै १०० डलर पाउँछन्। अहिले कमला ह्यारिस र ट्रम्प दुवै उम्मेदवारले उक्त राज्यमा आफ्नो ध्यान केन्द्रित गरेका छन्।
सो प्रस्तावमा हस्ताक्षर गर्नेहरूले आफू देशको संविधानको पहिलो र दोस्रो संशोधनको पक्षमा रहेको सङ्केत गरेको अमेरिका पीएसीले दाबी गरेको छ।
मस्कले घोषणा गरेको १० लाख डलर पुरस्कार पहिलो पटक अक्टोबर १९ मा पेन्सिल्भेनियाकी एक महिलाले पाएकी थिइन्।
त्यसरी वितरण गरिने पुरस्कारको कुल रकम १३ करोड रुपैयाँभन्दा बढी हुन्छ।
कानुनी कि गैरकानुनी?
जोर्ज वाशिङ्टन यूनिभर्सिटीमा कानुनका प्राध्यापक पोल शिफ बर्मन भन्छन्, “मलाई लाग्छ मस्कको यो प्रस्ताव पक्कै गैरकानुनी हो।”
अमेरिकी निर्वाचन कानुनमा मतदाताको रूपमा दर्ता हुन वा कसैको पक्षमा मतदान गर्न पैसा दिने र लिनेलाई १०,००० अमेरिकी डलरसम्म जरिबाना वा पाँच वर्ष कैद हुन सक्ने प्रावधान रहेको उहाँले औँल्याउनुभयो।
“उहाँले मतदाताको रूपमा दर्ता भएका मानिसहरूलाई मात्रै नगद दिने भन्नुभएको छ। त्यस कारण उहाँको प्रस्तावले यो व्यवस्था उल्लङ्घन गर्छ भन्ने मलाई लाग्छ,” बर्मनले बीबीसीसँग भन्नुभयो।
अमेरिकाको कानुन मन्त्रालयले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ। बीबीसीले सङ्घीय निर्वाचन आयोगसँग पनि प्रतिक्रिया लिने प्रयास गरेको थियो।
सङ्घीय निर्वाचन आयोगका पूर्वप्रमुख ब्र्याड स्मिथले न्यूयोर्क टाइम्ससँग “कानुनी अस्पष्टता र छिद्रमा” को फाइदा उठाउँदै यस्तो रणनीति ल्याइएको हुन सक्ने बताउनुभएको छ।
“उहाँले कसैलाई पनि प्रत्यक्ष रूपमा मतदान गर्न वा मतदाताको रूपमा दर्ता हुन पैसा दिनुभएको छैन। उहाँले एउटा प्रस्तावमा हस्ताक्षर गरेबापत दिनुभएको छ। तसर्थ उहाँले गरेको ठिकै भन्न सकिने ठाउँ छ,” उहाँले भन्नुभयो।
तर नोर्थवेस्टर्न यूनिभर्सिटीमा निर्वाचनसम्बन्धी कानुनका प्राध्यापक माइकल काङ यो विषयमा सन्दर्भ हेर्नुपर्ने ठान्नुहुन्छ।
“केही विश्लेषणमा यो गैरकानुनी नभएको तर्क गरिएको म देख्छु। तर सन्दर्भसँग मिलाएर हेर्दा मानिसहरूलाई मत दिन उत्प्रेरित गर्ने उद्देश्यले नाम दर्ता गराउनका लागि यो ल्याइएको स्पष्ट देखिन्छ। त्यसमा कानुनी समस्या देखिन्छ,ू उहाँले भन्नुभयो ।
कुनै पनि दलको पक्ष नलिने अभियान ‘क्याम्पेन लीगल सेन्टर’ का एडभ नोटी पनि मस्कको अभियानबाट कानुन उल्लङ्घन हुने धारणा राख्नुहुन्छ। “कसैलाई मतदाताको रूपमा दर्ता हुने सर्तमा पैसा दिने कुरा गैरकानुनी हो,” उहाँले भन्नुभयो ।
नोर्थवेस्टर्न यूनिभर्सिटीमा संवैधानिक कानुनका प्राध्यापक जेरमी पोलले भने मस्कले कानुनी छिद्रको फाइदा लिएको बताउनुभयो। उहाँका अनुसार अदालतमा यसबारे मुद्दा चल्न कठिन देखिन्छ।
डेमोक्र्याटिक पार्टीका नेताहरूले भने मस्कले पैसा वितरण गरेको विषयमा छानबिन हुनुपर्ने माग गरेका छन्।
पेन्सिल्भेनियाका गभर्नर जोश शपीरोले मस्कको कदमलाई “निकै चिन्ताजनक” मान्नुभएको छ। उहाँले कानुन कार्यान्वयन गर्ने सम्बन्धित निकायबाट यस विषयमा अनुसन्धान हुनुपर्ने माग गर्नुभएको छ ।
शपिरोको टिप्पणीबारे प्रतिक्रिया दिँदै मस्कले त्यसो भन्नु नै चिन्ताजनक भएको बताउनुभयो।
के यसअघि पनि पैसा बाँडिएको थियो?
मस्कले सन् २०२० को निर्वाचनमा डेमोक्र्याटिक पार्टीका दाताहरूले पनि यस्तै गरेको प्रतिक्रिया दिनुभएको छ। आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल ुएक्सु मा लेख्दै उहाँले सन् २०२० मा मेटाका मालिक मार्क जुकरबर्गले पनि त्यसो गरेको दाबी गर्नुभएको छ।
तर जुकरबर्गले सन् २०२० को निर्वाचनमा ४० करोड अमेरिकी डलर कुनै पनि दलको समर्थन नगर्ने संस्थाहरूलाई दिनुभएको थियो। उक्त रकम मतदान केन्द्रहरूमा बन्दोबस्तीका सामग्री जुटाउन सहयोगस्वरूप दिइएको थियो, प्रत्यक्ष मतदाताहरूलाई दिइएको थिएन।
डेमोक्र्याटिक पार्टीले पनि विगतका निर्वाचनहरूमा आफ्ना समर्थक परिचालन र मतदाता दर्ता अभियानका लागि खर्च गर्ने गरेको थियो।
तर त्यस्तो पैसा पनि सीधै मतदाताहरूलाई दिइएको थिएन। त्यो पैसा अभियानहरूमार्फत् विज्ञापन, प्रचारप्रसारका विभिन्न गतिविधिमा खर्च भएको थियो।
मस्क अहिले डोनल्ड ट्रम्पका समर्थक
मस्क पहिला डेमोक्र्याटिक पार्टीका समर्थक हुनुहुन्थ्यो। ट्रम्प राष्ट्रपति हुँदा मस्कको त्यति राम्रो सम्बन्ध थिएन। पछि डेमोक्र्याटहरूसँग उहाँको सम्बन्ध बिग्रियो।
सन् २०२२ को मध्यावधि निर्वाचनअघि डेमोक्र्याटिक पार्टी परित्याग गर्दै उहाँले आफ्ना समर्थकहरूलाई रिपब्लिकन पार्टीलाई मत दिन आह्वान गर्नुभयो।
यो वर्ष उहाँ अमेरिकाको राजनीतिमा अझ बढी संलग्न हुनुभएको छ। उहाँले दान मात्रै दिनुभएको छैन, रिपब्लिकनहरूलाई सहयोग पुर्याउन सामाजिक सञ्जालमा पोस्ट पनि गर्दै आउनुभएको छ।


















