काठमाडौं, ११ कार्तिक । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भुटानलाई पहिलो सेमिफाइनलमा फराकिलो अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा आइतबार सम्पन्न सेमिफाइनलमा बंगलादेशले ७-१ को जित दर्ता गरेको हो । बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन् । सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले १-१ गोल गरे ।
खेलको सातौं मिनेटमा नै बंगलादेशले अग्रता लियो । ऋतुले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारमा गोलरक्षक संगिता मोंगर बलसम्म पुग्न सकिनन् ।
११ औं मिनेटमा ऋतुकै क्रसमा सागोरिकाको हेडरलाई भुटानकी दोर्जी इडोनले गोललाइनबाट हेडर क्लिअरेन्स गरिन् ।
१५ औं मिनेटमा तोहुराले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई पनि गोलरक्षक मोंगरले रोक्न सकिनन् । २५ औं मिनेटमा सविनाले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । लगत्तै मोनिका चक्माको पासमा सविनाले फिनिस गर्दै बंगलादेशलाई ३(० ले अघि बढाइन् ।
३६ ओं मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो गोल गरिन् । पेनाल्टी क्षेत्र बाहिरबाट उनको फितलो प्रहारलाई गोलरक्षक संगिताले रोक्न भ्याइनन्। लगत्तै सविनाले पनि व्यक्तिगत दोस्रो गोल गरिन् । गोलरक्षक रुप्ना चक्माको किकमा दुवै सेन्टर डिफेन्डर झुक्किन पुग्दा सविनाले एक्लै बल बढाएर गोलरक्षक समेत छलाउँदै गोल गरिन् ।
४१ औं मिनेटमा भुटानका लागि डेकी ल्हाजोमले गोल फर्काइन् । छिरिङ ल्हादेनको क्रसमा डेकीको प्रहार गोलरक्षक रुपनालाई लाग्दै गोल भयो ।
दोस्रो हाफको ५८ औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गरिन् । भुटानले केही सकारात्मक मुभ बनाएपनि काउन्टरमा बंगलादेशले गोल गर्दै ६-१ को अग्रता लियो ।
७२ औं मिनेटमा बंगलादेशले सातौं गोल थप्यो । सन्जिदा अख्तरको कर्नरमा शिउली अजिमले हेडरमार्फत गोल गरिन् ।
प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल साँझ ६ः३० बजे नेपाल र भारतबीच हुनेछ ।