काठमाडौं, २४ कार्तिक । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा अर्को महिना युएईमा हुने यु-१९ एसिया कपको लागि हेमन्त धामीको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले शनिवार धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी अर्जुन कुमाललाई दिइएको छ । केही दिन अघि सकिएको नरेश स्मृति राष्ट्रिय यु १९ प्रतियोगिताको प्रदर्शनको आधारमा टिम तयार गरिएको हो ।
क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिइएको छ ।
एसीसीले शुक्रवार जारी गरेको खेल तालिका अनुसार प्रतियोगिता मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । एसिया कपमा नेपालको पहिलो खेल श्रीलंकासॅंग रहेको छ । दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशसंग हुने छ । नेपालले अन्तिम खेल मंसिर १८ गते मा अफगानिस्तानसँग खेल्नेछ। सबै खेलको फम्र्याट ५० ओभरको हुनेछ ।
एसीसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र स्वतः छनोट भएका थिए ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका थिए । अधिल्लो बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह विभाजनमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । फाइनल मंसिर २३ गते हुनेछ ।
नेपाली यु १९ क्रिकेट टोलीमा हेमन्त धामी (कप्तान), अर्जुन कुमाल(उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमार रहेका छन् ।


















