Prakash Adhikari October 29, 2026
सानेपा(ललितपुर),१२ कात्तिकः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ  गराउनुभएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति थापाले उहाँहरुलाई शपथ दिलाउनुभएको हो । महाधिवेशनबाट सभापतिमा  निर्वाचित थापाले भने गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसक्नुभएको थियो । उहाँबाहेक अन्य पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ  लिनुभएको हो ।
शपथग्रहणलगत्तै निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गर्नुभयो । त्यस अवसरमा संयोजक खड्काले उक्त महाधिवेशनलाई कांग्रेसले मात्र नभई आम नेपाली नागरिकले चासोका साथ लिएका बताउनुभयो । उहाँले देशमा विधिको शासन, संवैधानिक सर्वोच्चता कायम राख्न सबै केन्द्रीय पदाधिकारी तथा सदस्यलाई आग्रह गर्नुभयो ।
Share Now