काठमाडौं,२९ कार्तिक । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आवेदन दिएका तीन जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि पुनः बोलाइएको छ ।
नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिको कात्तिक २८ गतेको निर्णयअनुसार पहिले छुटेका ३ जनालाई अन्तर्वार्तामा बोलाइएको हो ।
समितिले सर्टलिस्टमा परेका धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारी ,नेपाल स्टक एक्सचेञ्ज नेप्सेका सीईओ कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंलाई अन्तरवार्ता र प्रस्तुतीकरणको लागि बोलाएको हो।
बोर्डको अध्यक्ष नियुक्त गर्न छनोट समितिले ५ जनाको अन्तिम सूची तयार पारेको थियो । तीमध्ये सन्तोष नारायण श्रेष्ठ र धितोपत्र बोर्डका अर्का कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले अन्तर्वार्ता दिइसक्नुभएको छ ।
यसअघि असोज १८ गते पनि ३ जनालाई अन्तर्वार्तामा बोलाइएको थियो । तर समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारी अस्वस्थ भएपछि अन्तरवार्ता हुन सकेको थिएन ।