ब्युनस एरिस(अर्जेन्टिना), २१ असोज(बीबीसी) । लिओनेल मेस्सी आर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल खेलेका छन्।
आर्जेन्टिनाको जर्सी लगाएर सबैभन्दा धेरै पटक मैदानमा उत्रने र सबैभन्दा बढी गोल गर्ने कीर्तिमान बनाएका मेस्सीलाई आफ्नो २०८औँ खेल खेल्ने क्रममा उनका समर्थकहरूले भावपूर्ण बिदाइ गरे।
ब्योनोस एरिसको मन्युमेन्टल रङ्गशालामा बेनीनविरूद्धको मैत्रीपूर्ण खेल उनका लागि अन्तिम खेल भएको छ। उक्त खेलमा आर्जेन्टिनाले बेनीनलाई ०-३ गोल गरेकोमा मेस्सीले १ गोल गरे।
आर्जेन्टिनाका हालसम्मकै महान् खेलाडी मेस्सीको नजिक डिएगो म्याराडोनाको नाम मात्रै आउने गर्छ। स्पेनसँग विश्वकप फुटबल फाइनलमा भएको पराजयपछि आफूले दिन बाँकी थप केही नरहेको भन्दै गएको अगस्ट २१ मा मेस्सीले राष्ट्रिय टोलीबाट अवकाश लिने निर्णय लिएका थिए।
प्रशिक्षक लिओनेल स्कालोनीले मेस्सीले फर्कन चाहे उनी जुन बेला पनि टोलीमा आबद्ध हुन सक्ने बताउँदै आफ्नो मनस्थिति फेर्नु कुनै लज्जाको विषय नभएको टिप्पणी गरेका थिए। तर अब उक्त अध्याय बन्द भएको जस्तो देखिन्छ।
तर उनको क्लब करिअरले भने निरन्तरता पाएको छ। इन्टर मायामी क्लबसँगको उनको सम्झौता सन् २०२८ को सीजनसम्म छ तर त्यो प्रत्येक वर्ष पुनरवलोकन हुँदै आएको छ। उनीनिकट कसैले पनि उनले तोकिएको समयको एक दिनअघि नै छाड्नेसम्म कल्पना गरेका छैनन्।
वास्तवमा उनले शारिरिक र मानसिक रूपमा तयार रहेको महसुस गरेको खण्डमा उक्त सम्झौतालाई उनले नवीकरण गर्ने ठानिएको छ।
उनीनिकट मानिसहरूलाई अब मेस्सीले के गर्लान् भनेर सोध्दा उनीहरू मुस्कुराउँछन् किनभने मेस्सीले आफ्नो अर्को खेलभन्दा पछाडिको योजना बनाएका छैनन्।
तर हाम्रा अगाडि देखिएको खाकाअनुसार भन्न सकिन्छ कि उनी फुटबलमा नै आबद्ध रहने छन् किनभने फुटबलबिना बाँच्न उनका लागि कठिन हुने छ। तर खेलबाहेकका अरू व्यावसायिक स्वार्थ र रुचिका दायरा अझ परसम्म फैलिएका छन्।
हरेक कुरामा आबद्ध हुन चाहने मालिक
विगतमा मेस्सीले खेल निर्देशक वा अध्यक्षको सल्लाहकारजस्ता पदमा रुचि राख्थे ता कि धेरै यात्रा नगरी र टेलिफोन कलहरूमा व्यस्त नरही महत्त्वपूर्ण निर्णयमा सामेल हुन पाइन्थ्यो।
हालै उनलाई उनी प्रशिक्षक कि मालिक बन्ने भनेर सोधिएको थियो, मेस्सीले मालिक रोजेका थिए। एक प्रशिक्षकको जीवन र मरण प्रत्येक शनिवारको खेलको नतिजामा भर पर्छ, त्यसैले अत्यन्त चिन्ता लिनुपर्ने भूमिका मेस्सीले उपयुक्त ठान्ने छैनन्।
मालिकले केही पर बसेर क्लबको दिशा तय गर्छन्। त्यसो भनिरहँदा उनी त्यस्तो मालिक बन्ने छन् जो व्यवस्थापकलाई नियुक्त गरेर आफू पर बस्ने खालका हुने छैनन्। उनी सबै कुरामा संलग्न हुन चाहने छन्।
यसका लागि स्पेनमा प्रारम्भिक तयारी भइरहेको छ। बार्सिलोनाको एउटा कुनामा अवस्थित पाँचौँ तहको खेल प्रशिक्षण संस्था यूइ कोर्नेलालाई उनले एप्रिलमा खरिद गरेका छन्। यो किशोर खेलाडीहरूको सीप विकास गर्ने प्रारम्भिक थलो हो।
दोस्रो डिभिजनमा रहेको सीडी एल्डेन्सेले अक्टोबर १ मा मेस्सीलाई आफ्नो नयाँ मालिक घोषणा गर्यो। तर उक्त निर्णयको कार्यान्वयन स्पेनी खेलकुद परिषद् सीएसडीको अनुमोदनमा भर पर्ने जनाइएको छ।
एल्डेन्से उनको फुटबल गतिविधिको नेतृत्व गर्ने क्लब बन्ने छ तर यो सीजनमा उनको लक्ष्य भनेको क्लबलाई तल्लो श्रेणीमा झर्न नदिनु हुने जनाइएको छ। त्यही भएर नयाँ मालिक ल्याइएसँगै भियारिआलका पूर्वप्रमुख हाभी कायेखालाई ल्याइएको छ।
उनको योजना पूर्ण समय दिन नसकेसम्म आफूले विश्वास गरेका मानिसलाई आफू र क्लबबीचको सेतु बनाएर काम गर्नु रहेको देखिन्छ।
अहिलेका लागि उनले एल्डेन्सेका प्रत्येक खेल आफ्नो कम्प्युटरमार्फत् नजिकबाट पछ्याउने छन्। एल्डेन्सेले रेआल ओभिइडोलाई ४-१ गोलले पराजित गरेपछि उनले इन्स्टाग्राममा मालिकका रूपमा पहिलो सन्देश लेख्दै टोलीलाई प्रोत्साहन गरेका थिए।
उनको नामले आकर्षण निम्त्याएको छ। झन्डै एक दर्जन प्रायोजकहरू केही दिनभित्रै अगाडि आए। कतिपय ब्र्यान्डहरूले विगतका मालिकसँग पनि कुरा गरिरहेका थिए तर उनीहरू कुनै समझदारीमा पुग्न सकेका थिएनन्।
उनीहरूसँग कतिपयको सम्बन्ध पहिला नै गाँसिएको थियो।
युरुग्वेमा उनी र लुइस सुआरेजले सन् २०२५ को मेमा डिपोर्टिभो एलएसएम स्थापना गरेका थिए। उनीहरू पहिलो सीजनमै देशको तेस्रो श्रेणीमा उक्लिएका थिए।
सुरुमा क्लबहरूको थप सञ्जालबारे पनि छलफल गरिएको थियो। तर उनीहरूलाई हालको डिभिजनबाट माथि उठाउन आवश्यक ठूलो लगानीका कारण त्यो अवधारणा सेलाएको थियो र अहिले त्यो छलफलकै चरणमा छ। मेस्सीको जोड एल्डेन्सेले आफूलाई ला लीगामा स्थापित गर्न सक्छन् कि सक्दैनन् भन्नेमा केन्द्रित हुने छ।
मायामीसँग पनि यो जोडिएको छ। इन्टर मायामीसँगको उनको करारको प्रवधानअन्तर्गत आफू अवकाशमा जाँदा पनि क्लबमा उनको निश्चित शेअर हुने छ। उनको आफ्नै फ्रेन्चाइजी भने उक्त योजनाको हिस्सा हुने छैन।
के उनी आफ्नो घर न्यूएल्स ओल्ड बोइज फर्कने छन्? यो रोसारिओको त्यो क्लब हो जहाँ उनले बाल्यकालमा फुटबल खेलेका थिए। यो अवधारणा औपचारिक रूपमा हालसम्म छलफलमा आएको छैन।
निकट मित्र सुआरेजसँग कुरा गर्दा उनले बार्सिलोनामा पुनरागमन गर्ने वा म्याराडोनाको क्लब नेपोलीमा केही समय बिताउने विचार उनको मनमा आएको हुनसक्छ।
तर उनीनिकट कसैले पनि त्यस्तो अपेक्षा गरेका छैनन्। सबै कुरा युरोप र मायामीलाई केन्द्रमा राखेर सोचिएको छ।
बढ्दो व्यापारिक साम्राज्य र युवा फुटबलप्रतिको प्रेम
न्यूएल्स उनको नजिक हुने छ किनभने यस वर्षको ‘मेस्सी कप’मा सहभागी १६ वटा अक्याडमीमध्ये उक्त क्लब पनि एक हो।
क्लबहरूको स्वामित्व हसिल गर्नु मेस्सीको एउटा चाहना हो भने युवा फुटबल उनको अर्को चाहना हो। आफ्ना छोराको खेलमा उनको निरन्तरको उपस्थिति र मेस्सी कप त्यसको प्रमाण हुन्।
सन् २०२५ मा आठ टोलीबाट सुरु भएको मेस्सी कपका लागि उनले आफ्नो पैसा र समय लगानी गरेका छन्।
अघिल्लो वर्ष आयोजकहरूले मेस्सी एक वा दुई खेलमा स्वयं उपस्थित हुने पनि ठानेका थिए, सम्भवतः फाइनलतिर। तर धेरैलाई अच्चम्ममा पार्दै उनले प्रत्येक दिनका सबै म्याच हेरे।
यो वर्ष सहभागी टोलीको सङ्ख्या दोब्बर भएको छ। अक्टोबर २५ बाट फ्लोरिडास्थित इन्टर मायामीका संरचनामा हुने उक्त प्रतियोगितामा एथलेटिको मड्रिड, चेल्सी, बार्सिलोना, इन्टर मिलान, आर्सनल, यूई कोर्नेला र अन्य क्लबहरू सहभागी हुँदै छन्।
मैदानबाहिर पनि उनले ठूलो ‘पोर्टफोलिओ’ कायम गरेका छन्। फोर्ब्सले जुनमा उनको कुल सम्पत्ति १.१ अर्ब डलर भएको जनाएको थियो। त्यसमा अघिल्लो वर्ष व्यापार र फुटबलबाट गरिएको करिब १४ करोड डलर बराबरको आम्दानी पनि थियो।
सन् २०१७ मा उनले हस्ताक्षर गरेको एडिडाससँगको सम्झौता उनले हालसम्म गरेका यस्ता विज्ञापनसम्बन्धी सम्झौताहरूमध्ये सबैभन्दा धेरै जानकारी भएको सम्झौता हो।
उनको अर्को सबैभन्दा देखिने संलग्नता भने इबिजादेखि एन्डोरासम्म रहेको छ वटा बुटिक होटेल ‘एमआईएम’मा हो। मेलिआले सन् २०२५ को नेभेम्बर १ देखि भाडामा लिएर ती होटेलहरू सञ्चालन गरिरहेको छ।
एमआईएमको नामकरण मेस्सी र मजेस्टिक होटल ग्रूपबाट लिइएको हो। यसले मेलिआ कलेक्शनबाट होटेलहरू सञ्चालन गर्दै आएको छ।
रोसारिओमा उनको परिवारिक फर्मले २४ वटा घरहरूमा लगानी गरेको छ। एन्जेल डी मारिआको घरजग्गा व्यवसायसम्बन्धी कम्पनीले ती घरहरूको बिक्री हेर्दै आएको छ।
मेस्सी क्याटालोनियामा पाँचवटा रेस्टुराँको शाखा स्थापना गर्ने लक्ष्य लिएको एल क्लब डे ला मिलानेसाका पनि साझेदार हुन्।
पेयपदार्थसँग जोडिएका भाडाकुँडाको कम्पनीसँग पनि उनको बहुवर्षीय साझेदारी छ।t
मेस्सीको व्यवसायिक जीवनलाई उनका बुवाले ध्यान दिएका थिए। गत अगस्टमा ६८ वर्षको उमेरमा होर्हे मेस्सीको मृत्यु भएको थियो र उनले सुरुबाटै आफ्ना छोराको व्यावसायिक पक्ष हेरेका थिए। उनका प्रारम्भिक सुझावहरूले स्पेनी कर अधिकारीहरूसँग विवाद समेत निम्त्याएका थिए।
पछि उक्त कम्पनी टेलिभिजन कार्यक्रम उत्पादन, बजारीकरण, सञ्चारमाध्यम र व्यावसायिक साझेदारीसमेतका क्षेत्रमा विस्तार भएको थियो। होर्हे गम्भीर बिरामी हुँदासम्म उक्त कम्पनी स्थापित भइसकेको थियो।
मेस्सी आफ्ना व्यवसाय सञ्चालन गर्ने व्यक्तिहरूलाई विश्वास व्यक्त गर्ने गर्छन्। त्यसमध्ये कतिपय उनको बार्सिलोनाका सुरुवाती दिनदेखि सँगै छन्। नजिकबाट परख गरेर रोजिने हुँदा मेस्सीले आफूलाई सहज हुनेलाई मात्रै प्रस्ताव गर्ने र रोज्ने गरेका छन्।
उनले व्यावसायिक विश्वसँग आफ्नो सम्बन्ध आँफै निर्धारण गरेका छन् र उनलाई कसैले केही थोपर्ने गर्दैनन्।
मायामीमा गत नोभेम्बरमा मेस्सीले अमेरिका बिज्निश फोरममा भनेका थिए, “व्यवसायमा मेरो रुचि छ। म सिकिरहन चाहान्छु किनभने मलाई केही पनि थाहा छैन र म भर्खरै सुरु गर्दै छु।”








