Prakash Adhikari November 16, 2024

लुम्बिनी, १ मंसिर । लुम्बिनी लायन्स क्लबले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने खेलाडीले पहिरिने जर्सी सार्वजनिक गरेको छ ।

ख्यातिप्राप्त गायिका आनी छोइङ डोल्मा, लुम्बिनी क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र टोलीका मार्की खेलाडी रोहित पौडेलले शनिवार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन्। ‌


जर्सीको डिजाइन लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरि गरिएको छ । गाढा निलो रङ्गको जर्सीमा सुनौलो रङ्गको किनारा रहेको छ भने बाँया भागमा आक्रामक अवतारको सिंहको टाउको प्रतीक रहेको बताइएको‌ छ।

जर्सी सार्वजनिक गर्दै आनी छोइङ डोल्माले भन्नुभयो,’ जसरी संसारभरका सबै मानिसहरुको मन मस्तिष्कमा शान्ति फैलाउन भगवान बुद्धको भूमिका रहेको छ , त्यसैगरी लुम्बिनी लायन्सले पनि सबै जनाको मन मस्तिष्कमा विजय र गौरवको भावना महसुस गराउन सकोस्।’

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी लायन्सका ब्राण्ड एम्बास्डर राजेश हमालले भन्नुभयो, लुम्बिनी लायन्सको जर्सी सार्वजनिक गर्दैगर्दा मलाई यस्तो लागेको छ कि यो जर्सी क्लबको पहिचान मात्र नभएर हाम्रा क्रिकेटरहरुको कडा परिश्रम, लगनशीलता र क्रिकेट प्रेमीहरुको अटुट साथको प्रतिविम्ब पनि हो ।’

लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसीले लुम्बिनीवासीको भावना र लुम्बिनीको ऐतिहासिक तथा साँस्कृतिक महत्त्वलाई समेट्ने गरी जर्सीको डिजाइन गरिएको बताउनुभयो ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा एनपीएल २०२४ मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ।

Share Now