सुन्दरबजार (लमजुङ), १ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट पनि प्राभावित नहुने बताउनुभएको छ ।
लमजुङको गहतेमा निर्माण गरिएको गहते कालिका मन्दिरको आज यहाँ उद्घाटन गर्दै मन्त्री गुरुङले संसदीय छानबिन समितिले नेपालको समस्याग्रस्त सहकारीहरुको अध्ययन गरी प्रतिवेदन तयार पारेको बताउनुभयो । “सबै दलका प्रतिनिधि सम्मिलित छानबिन समितिले तयार गरेको प्रतिवेदनका आधारमा नै अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो ।
धेरै व्यक्तिमाथि प्रतिवेदनका आधारमा अनुसन्धान भइरहेको मन्त्री गुरुङले बताउनुभयो । सरकार अहिले कुनै पार्टीको नेतालाई समात्ने र फसाउने पक्षमा नरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सही गलत छुट्टयाउने जिम्मा न्यायालयको भएको बताउनुभयो । सरकारको कामलाई अतिरञ्जित गरेर सरकारलाई गाली गर्नु जायज नभएको उहाँको भनाइ थियो ।
“प्रतिवेदनमा कांग्रेस, एमालेलगायत अन्य राजनीतिक दलका व्यक्तिको नाम आएको छ भने पनि उनीहरुमाथि पनि अनुसन्धान हुन्छ”, मन्त्री गुरुङले भन्नुभयो, “केही दिनअघि मात्र कांग्रेस उपसभापति धनराज गुरुङसँग सोधखोज गरिएको छ ।”
देशमा भ्रष्टाचार मौलायो भन्नेहरु नै भ्रष्टाचार हो कि होइन भनेर छानबिन गर्दैगर्दा अनुसन्धान प्रभावित पार्नेगरी नाराजुलस लगाइरहेका मन्त्री गुरुङले बताउनुभयो ।
फरक प्रसङ्गमा मन्त्री गुरुङले देशको सूचना प्रविधि आइटी क्षेत्रको विकासको सुरुआत लमजुङबाट गरिने बताउनुभयो । नेपाललाई आइटी क्षेत्रका लागि उद्योगका रुपमा विकास गरेर करिब तीन लाख युवालाई रोजगार दिने काममा आफू लागिरहेको उहाँले उल्लेख गर्नुभयो ।