Prakash Adhikari November 22, 2024

 

सानेपा(ललितपुर), ७ मंसिर । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपले वितेको आर्थिक वर्ष ०८० ८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रुपैयाँ कर तिरेको छ ।

चौधरी ग्रुपले तिरेको यो कर रकमले नेपालको गत वर्षको कुल राजस्वमा करिब २ प्रतिशत (१.९६ प्रतिशत)को योगदान गरेको छ। चौधरी ग्रूप अन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको ग्रुपद्धारा प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूल वातावरणका बीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउन सकेकामा हामीलाई खुसी लागेको छ । यसले देशको विकास निर्माण र आम नागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्नेछ,’ ग्रुपका अध्यक्ष विनोद चौधरीले भन्नुभएको छ, ‘राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित छौं ।’

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष ०७६ / ७७ मा ९ अर्ब ८७ करोड, ०७७/७८ मा १४ अर्ब २८ करोड, ०७८/७९ मा १७ अर्ब ७२ करोड, ०७९/८० मा १६ अर्ब १४ करोड, ०८०/८१ मा १८ अर्ब ५२ करोड रुपैयाँ कर तिरेको चौधरी समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चौधरी ग्रुप नेपालका निकै संगठित र सुनियोजित तवरले उद्यम विकास गर्ने ब्यापारिक धरानामा अग्रपड.तीमा आउछ । यस समूहले आफ्नो ब्यापार र ब्यवसाय नेपालका अलवा भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेश, भुटान, थाइल्याण्ड, सिंगापुर, फिलिपिन्स, चीन, यूएई, इजिप्ट, सर्बिया,मल्दोभा, कजाकस्तान,टर्की, सेसेल्स,केन्या र अमेरिकासम्म विस्तार गरेको छ ।

नेपालमा चौधरी ग्रुपले वित्तीय कारोबार, होटल, खाद्य तथा उपभोग्य पदार्थको उत्पादन, धरजग्गा कारोबार, उर्जा तथा पूर्वाधार, विद्युतीय सामानहरुको उत्पादन, सिमेन्ट, सूचना प्रविधि जस्ता धेरै क्षेत्रमा लगानी गरेर उत्पादन र बजारीकरणलाई प्रबर्धन गर्दै रोजगारी पनि सिर्जना गरिहेको छ ।

चौधरी ग्रुपले पूर्वप्राथमिक तहदेखि कलेजस्तरका शैक्षिक संस्थाहरु सञ्चालन गरेर देशमा गुणस्तरीय शिक्षाका माध्यमबाट योग्य र दक्ष जनशक्ति उत्पादनमा पनि योगदान दिइरहेको छ । यस बाहेक अस्पतालको स्थापना र सञ्चालन गरी स्वास्थ्य क्षेत्रमा योगदान दिएको छ भने लुनकरणदास गंगादेवी चौधरी कला सहित्य प्रतिष्ठानका माध्यमबाट नेपाली भाषा,कला र साहित्यको श्रीबृद्धिमा पनि योगदान गरिरहेको छ ।

यस समूहले सामुदायिक उत्तरदायित्व अन्तरगतका कामहरु गर्न चौधरी ग्रुप फाउण्डेशनको पनि स्थापना गरेको छ । जसले स्थानीय गैरसरकारी संस्था र सामुदायिक संस्थाहरुसंग मिलेर सामुदायिक विकासका कार्य सञ्चालन गर्दै आइरहेको छ ।

 

 

Share Now