Prakash Adhikari November 22, 2024

तनहुँ, ७ मङ्सिर : जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आगामी फागुनदेखि मिर्गौैलाका समस्या भएका बिरामीको डायलाइसिस सेवा सुरु गर्ने भएको छ ।

डायलाइसिस सेवा सुरु गर्न आवश्यक पर्ने संरचनासहितको कार्यमा लायन्स क्लब र शुक्लागण्डकी नगरपालिकाले सहयोग गर्ने भएका छन् । आगामी फागुनदेखि सेवा दिनेगरी प्रक्रिया अघि बढाइएको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“डायलाइसिस सेवा सुरु गर्न व्यापक माग आएको छ । हामी यो सेवा सुरु गर्न आन्तरिक रूपमा तयारी थालिसकिएको छ । सेवा सञ्चालन गर्न केन्द्रले दुई नर्सलाई तालिम प्रदान गरेर तयारी अवस्थामा राखेको छ, थप दुई जनालाई मङ्सिर १ गतेदेखि तालिममा पठाइएको छ”, डा श्रेष्ठले भन्नुभयो ।

अस्पतालमा आवश्यक सेवा सञ्चालन गर्न केही समयअघि निरीक्षणका लागि आउनुभएका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले समेत मन्त्रालयबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको थियो । उहाँले आफ्नै कार्यकालमा केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मिल्नेगरी प्रक्रिया पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।

स्वास्थ्य बीमाबाट पनि उपचार सेवा प्राप्त गर्न सक्ने भएपछि बिरामीको चाप बढेकोे यस अस्पतालबाट दैनिक तीन सय बिरामीले सेवा लिने गरेको प्रशासन शाखा प्रमुख प्रदीप पौडेलले बताउनुभयो । उहाँले केन्द्रमा श्वासप्रश्वास रोगसम्बन्धी विशेषज्ञ सेवासहित हाडजोर्नी तथा नशारोग, स्त्रीरोग, बालरोग, नाक, कान घाँटी, जनरल सर्जरीको विशेषज्ञ सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

Share Now