काठमाडौं, २१ मंसिर (बीबीसी) ।भुटानका राजारानी जिग्मे खेसर नाम्गेल वाङचुक र जेट्सुन पेमा वाङचुक शुक्रवार नेपाल आउदै हुनुहुन्छ ।
उनीहरूको भ्रमण निजी भएको र काठमाण्डौमा केवल तीनदेखि चार घन्टा मात्रै रहने बताइएको छ।
भारत भ्रमणमा आएका उनीहरू भुटान फर्किने क्रममा ट्रान्जिट भिजिट का रूपमा काठमाडौंमा अवतरण गर्न लागेको बताइएको छ।
“उहाँहरूले काठमाडौंका बौद्ध तीर्थस्थलहरूको भ्रमण गर्नुहुने छ। उहाँहरूका लागि गाडी, सुरक्षा व्यवस्था र स्वागतका लागि हामीले कोअर्डिनेट गर्ने काम गरेका छौँ”, परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुभाङ्ग पराजुलीले बीबीसीसँगको सङ्क्षिप्त कुराकानीमा भन्नुभयो।
उहाँको यो भ्रमण राजनीतिक सामाजिकभन्दा पनि धार्मिक र नितान्त व्यक्तिगत भएको बताइएको छ।
तीनचार घण्टाको भ्रमणमा कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम नरहेको पनि बताइएको छ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले भुटानी राजदम्पतीलाई विमानस्थलमा स्वागत गर्ने बताइए पनि उक्त कुरा पुष्टि भने भएको छैन।
नेपालका पूर्वराजाले भेट्लान् ?
गत असोजमा दशैँको घटस्थापनाका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारका केही सदस्यहरूसहित भुटानको भ्रमण गरेका थिए।
उक्त भ्रमणका लागि भुटानका राजा जिग्मे खेसरनाम्गेल वाङचुकले नै पूर्वराजपरिवारलाई थिम्पु भ्रमणको निम्तो दिएको शाहका संवाद सचिव फणिराज पाठकले बीबीसीलाई बताउनुभएको थियो।
त्यति बेला सामाजिक सञ्चालहरूमा सार्वजनिक भएका तस्बिरहरूमा शाहको टोलीलाई भुटानी राजकुमारीले विमानस्थलमै पुगेर स्वागत गरेको देखिएको थियो।
ती तस्बिरहरूमा शाहलाई लामो रातो कार्पेट ओछ्याएर स्वागत गरिएको पनि ती तस्बिरहरूमा देख्न सकिन्थ्यो। भुटानले नेपालका पूर्वराजालाई ठूलो सम्मान दिएको भन्ने विषयमा सामाजिक सञ्जालहरूमा पनि चर्चा भएको थियो।
त्यसरी भुटानमा स्वागत पाएका शाहले अहिले भुटानका राजा वाङचुकले काठमाडौंको भ्रमण गर्दा उहाँलाई भेट्दै हुनुहुन्छ त ?
जबाफमा पाठकले भन्नुभयो, “मलाई त्यसबारे जानकारी छैन। तर अहिले उहाँहरू (ज्ञानेन्द्र शाह र उनको परिवारका सदस्यहरू) भ्रमणमा रहनुभएकोले त्यस्तो भेट्ने कार्यक्रम केही छ जस्तो लाग्दैन।”
पूर्वराजा शाह गत सोमवार पश्चिम नेपालका जिल्लाहरूको भ्रमणका लागि जानुभएको छ।
“उहाँहरूले नेपालगञ्ज, दाङ, बर्दिया, महेन्द्रनगर भ्रमण गर्ने कार्यक्रम रहेको छ र उहाँहरूको यो कार्यक्रम केही लामै छ”, शाहका निजी सचिव पाठकले भन्नुभयो ।
भारतको औपचारिक भ्रमणमा आएका भुटानका राजारानीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशङ्करसँग बिहीवार भेटवार्ता गर्नुभएको थियो।
के भन्छन् नेपालमा रहेका भुटानी शरणार्थी?
सन् १९८० को दशकको अन्त्यदेखि भुटानले ‘एक देश, एक भाषा’को नीति लिएपछि झन्डै एक लाख नेपालीभाषी भुटानी भारतको बाटो हुँदै नेपाल निर्वासनमा आएका थिए।
यहाँ आएदेखि देशफिर्तीका लागि लामो समय भुटानी शरणार्थीहरूले पहल गरे।
तर नेपाल र भुटानबीच विभिन्न चरणमा वार्ता भए पनि त्यसले कुनै निष्कर्ष निकाल्न नसकेपछि करिब एक लाख १३ हजार भुटानी शरणार्थीहरू तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत युरोपका देशहरूमा गए।
तर पुनर्वासमा जान नमानेर भुटान नै फर्किने अडान लिएर सानो सङ्ख्यामा शरणार्थीहरू अहिले पनि पूर्वी नेपालको झापा जिल्लास्थित बेलडाँगी र शनिश्चरेमा बस्दै आएका छन्।
त्यसरी बस्ने दर्ता भएका शरणार्थीको सङ्ख्या ६ हजार २०० रहेको छ। तिनैमध्येका एक हुनुहुन्छ दिल भुटानी।
भुटानका राजारानी नेपालमा भ्रमणमा आएका बेला उहाँलाई कस्तो लागेको छ?
भुटानी भन्नुहुन्छ,”हामीमा फेरि एकपटक स्वदेश फिर्ती हुन्छ कि भन्ने आशा जागेको छ। राष्ट्रिय मेलमिलापको आधारमा हाम्रो समस्या समाधान भयो भने दीर्घकालीन रूपमा भुटानको राजतन्त्रका लागि र प्रवासमा रहेका हामी वा पुनर्वासमा रहेका भुटानी नागरिकका लागि त्यसले राम्रो वातावरण बनाउँथ्यो भन्ने लाग्छ।”
तर भुटानले चाल्दै आएको रणनीति र कूटनीति हेर्दा त्यति धेरै आशा गर्ने ठाउँ नरहेको उहाँ बताउँनुहुन्छ।
भुटानका पाँचौँ राजा जिग्मेको नेपालमै जन्म भएको भन्ने आफूले सुनेको र त्यसै कारणले उनले यहाँ भ्रमण गर्न लागेको सुन्दा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो ।
“चौथो राजाभन्दा अहिलेका पाँचौँ राजाले पछिल्लो राजनीति र विश्वलाई बुझेकाले सम्पूर्ण भुटानमा रहेका भाषाभाषीलाई समेटेर नयाँ राष्ट्रियता र राष्ट्रिय एकता निर्माण गर्नुहुन्छ भन्ने लाग्छ”, उहाँले भन्नुभयो ।
भुटानले भन्ने गरेको ग्रस न्याश्नल ह्यापिनेस (खुसी राष्ट्रको सूचकाङ्क) भुटानी शरणार्थीहरूलाई भुटान नफर्काउँदासम्म नारामा मात्रै सीमित हुने कुरा राजाले बुझ्नुपर्ने उहाँ ठान्नुहुन्छ ।
“हामी त्यहाँको राजतन्त्रलाई स्वीकार गर्ने र भुटानको राजतन्त्रले पनि शरणार्थीहरू स्वदेश फिर्ता गर्नुपर्यो र जति पनि स्थापना भएका राजनीतिक दलहरू छन्, उनीहरूलाई राजनीतिक गतिविधि गर्ने अधिकार दिनुपर्यो”,उहाँले भन्नुभयो, “यति भयो भने नयाँ आधारमा हामी एक हुन सक्थ्यौँ र अन्तर्राष्ट्रिय रूपमा पनि भुटानको छवि राम्रो भएर जान्छ।”