Prakash Adhikari December 12, 2024

 

कीर्तिपुर(काठमाडौं), २७ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आज भएको पहिलो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखरा एभेन्जर्स विजयी भएको छ । पोखरा सुपर ओभरमा विराटनगरमाथि १३ रनले विजयी भएको छ ।

सुपर ओभरमा पोखरा पहिले ब्याटिङमा उत्रिएको थियो । विराटनगरका तर्फबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । तेस्रो बलमा सन्दीपले डट राखे । चौथो बलमा राइफरले चौका प्रहार गरे । पाँचौ बलमा सन्दीपले १ रन खर्चिए । अन्तिम बलमा सन्दीपले फेरी १ रन खर्चिए ।

सुपर ओभरमा विराटनगरले १९ रनको लक्ष्य पायो । १९ रनको लक्ष्य पछ्याउन विराटनगरले मार्टिन गप्टिल र निकोलस किर्तन मैदान उत्रिएका थिए । पोखराले बलिङमा रेमन राइफर आएका थिए । पहिलो बलमा मार्टिन गप्टिलले १ रन लिए । दोस्रो बलमा किर्तनले पनि १ रन मात्र लिए ।तेस्रो बलमा फेरी १ रन लिए । चौथो बलमा किर्तनले डट बल खेले । पाँचौ बलमा किर्तनले १ रन लिए । पाँचौ बल रेमनले वाइड दिए । र अन्तिम बल डट राख्दै पोखरा सुपर ओभरमा विजयी भयो ।

त्यसअघि विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । एनपीएल इतिहासकै यो पहिलो सुपर ओभर हो ।

अन्तिम ओभरमा १४ रन आवश्यक रहेकोमा बासिर अहमदले १३ रन खर्चिएका थिए । दुवै टोलीको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा पुगेको हो ।

खेलमा पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३९ रन जोडे । खेलमा रेमन राईफर ३४ रन, कप्तान कुशल ३१ रन , दिनेश खरेल र माइकल लिस्कले ११ । ११ रन, जेन मलिकले ४, नारायण जोशी २ रनमा नटआउट रहे भने तिर्थराज दास शून्य रनमा आउट भए ।

पोखरालाई रोक्ने क्रममा जनकपुर किंग्सका प्रतिस जिसीले ४ विकेट लिए भने क्रिस सोलले २ विकेट लिए । कप्तान सन्दीप लामिछाने विकेट विहिन रहे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गरेको थियो ।

विराटनगरका लागि स्कट एडवार्डसले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरेका थिए ।खेलमा बासिर अहमद २० बलमा २१ रन बनाउँदै नट आउट रहँदा लोकेस बमले २६ रन बनाए । मार्टिन गप्टिल १४ बलमा ५ रन बनाउँदै आउट भए ।

खेलमा ४ रन बनाउँदै नरेन क्याच आउट भए । विराटनगरले निकोलस किर्तनलाई पनि मैदानमा टिक्न दिएन । १६ बलमा १ छक्काको सहयोगमा १९ रन बनाउँदै किर्तन सागरको बलमा माइकल लिक्सबाट समातिए । क्रिस सोल ५ बलमा १ छक्काको सहयोगमा ७ रन बनाउँदै आउट भए । ्

पोखराका लागि सागर ढकाल र राइमन रिफरले समान २ । २ तथा कप्तान कुशल भुर्तेल र दिनेश खरेलले समान १ । १ विकेट लिए । आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्सबीच हुनेछ ।

Share Now