काठमाडौँ, २३ मङ्सिर: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज धितोपत्र बोर्ड परिसूचक ४५.९३ अङ्कले घटेर २६८९ बिन्दु कायम भएको हो ।
आज ३ सय २१ कम्पनीको १ करोड ७३ लाख ९२ हजार २ सय ४४ कित्ता शेयर ८१ हजार ४ सय ४पटक खरिदबिक्री हुँदा रू ७ अर्ब ४७ करोड ३ लाख ५ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा २ सय १४ कम्पनीको शेयर मूल्य घटेको छ । सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा बढी जीवन बिमा समूह तीन दशमलव शून्य सात र व्यापार समूह दुई दशमलव १३ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ८६, विकास बैंक एक दशमलव शून्य चार, वित्त एक दशमलव ८४, होटल तथा पर्यटन एक दशमलव ८४, जलविद्युत् एक दशमलव ९८ र लगानी समूह एक दशमलव ३३ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ३४, लघुवित्त एक दशमलव ५०, म्युचुअल फण्ड शून्य दशमलव ५९, निर्जीवन बिमा शून्य दशमलव ८३ र अन्य समूह शून्य दशमलव ८१ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
तीनवटा कम्पनीको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको हो । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९८ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रू ३२ करोड ६४ लाख ६१ हजार पाँच सय ६९ को कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा लक्ष्मी उन्नति कोषको २० लाख पाँच हजार एक सय कित्ता शेयर किनबेच भएको छ ।
—


















