क्वालम्पुर(मलेशिया), ४ पौष । मलेसियामा भइरहेको एसीसी यू १९ महिला एसिया कप सुपर फोरको पहिलो खेलमा नेपालले टस जितेको छ । टस जितेको नेपाली टिमकी कप्तान पूजा महतोले श्रीलंकाविरुद्ध बलिङ रोजेकी छन् ।
क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने प्रतियोगितामा कप्तान पूजा महतोले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेकी हुन् ।
नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।
भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा भारतसँगको खेल वर्षाका कारण नतिजाबिहीन भएको थियो । श्रीलंका भने बंगलादेशसँग पराजित हुँदा मलेसियालाई हराएको थियो । पहिलो संस्करणको एसिया कपमा नै नेपालले सुपर ४ मा स्थान बनाएको हो ।
सुपर ४ को अर्को खेलमा शुक्रवार बंगलादेशको सामना गर्दैछ । सुपर ४ मा भारत, नेपाल, श्रीलंका र बंगलादेशले स्थान बनाएका छन् । सुपर ४ मा अर्को समूहबाट आएका २ टोलीसँग खेल हुनेछ ।
सुपर ४ को शीर्ष २ मा रहने टोलीले उपाधीका लागि खेल्नेछन् ।
फाइनल खेल आगामी आइतवार रहेको छ । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।
यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।
नेपालको प्लेइङ ११मा सोनी पाख्रिन, साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत रहेका छन् ।