Prakash Adhikari December 20, 2024

क्वाललम्पुर(मलेशिया), ५ पौष । मलेसियामा जारी एसीसी यु १९ महिला एसिया कपमा आज नेपाली किशोरी टोली फाइनल प्रवेशका लागि बंगलादेशसंग भिड्दै छन् ।

मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।

हिजो भएको सुपर फोरको पहिलो खेल बर्षाले प्रभावित हुँदा नेपालले श्रीलंकासँग अंक बाडेको थियो । हिजो खेलमा पनि नेपालले उत्कृष्ट सुरुआत गरको थियो । टस जितेर फिल्डिड. रोजेको नेपालकी कप्तान पूजा महतोले पहिलो ओभरमा ५ बल डट फालेकी थिइन भने एक बलमा एक विकेट लिएकी थिइन । तर त्यसपछि भएको बर्षाले खेल रद्द हुन पुग्यो । दुवै टिमले अंक बाडे ।

पहिलो संस्करणको एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाली टोलीमा सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत रहेका छन् ।

एसीसी कपको सुपर फोरको पहिलो खेलमा भने बंगलादेश भारत यु १९ सँग ८ विकेटले पराजित भएको छ।

भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा भारतसँगको खेल वर्षाका कारण नतिजाविहीन भएको थियो ।

श्रीलंका भने बंगलादेशसँग पराजित हुँदा मलेसियालाई हराएको थियो । पहिलो संस्करणको एसिया कपमा नै नेपालले सुपर ४ मा स्थान बनाएको हो ।

सुपर ४ मा भारत, नेपाल, श्रीलंका र बंगलादेशले स्थान बनाएका छन् । सुपर ४ मा को शीर्ष २ मा रहने टोलीले उपाधिका लागि खेल्नेछन् ।

एसीसी कपको फाइनल आइतबार हुनेछ ।

एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।

यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।

 

Share Now