Prakash Adhikari November 1, 2017

ब्रिस्केक(किर्गिस्तान) १४ कार्तिक । एएफसी यू–१९ च्याम्पियनसिप फुटबल छनोट प्रतियोगिता अन्तरगत मंगलबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली किर्गिस्तानसँग २–० गोलले पराजित भएको छ।

राजधानी बिस्केकस्थित डोलेन ओमुर्जाकोभ रङशालामा भएको खेलमा नेपाली डिफेन्सको गल्तिको फाइदा उठाउँदै २२ औँ मिनेटमा घरेलु टोली किर्गिस्तानले पहिलो गोल गर्न सफल भयो।

किर्गिस्तानका लागि गुल्जिभितले गोल गरेका थिए। गोल खाएपछि सम्हालिन नसकेको नेपाली टिमले पहिलो हाफमा कुनै उत्कृष्ट ‘मूभ’ बनाउन सकेन।

पहिलो अग्रता लिएपछि किर्गिस्तानले नेपालमाथि एकपछि अर्को गर्दै दबाब बढाइरहेको थियो। तर गोलकिपर अर्पण कार्कीले उत्कृष्ट प्रदर्शन गरेर किर्गिस्तानका प्रहारहरू विफल पारेका थिए।

त्यसैगरी नेपालले दास्रो हाफको अतिरिक्त समयको पाँचौ मिनेटमा दोस्रो गोल खान पुग्यो। ‘काउन्टर अट्याक्क’मा किर्गिस्तानका सुरुकोभले सजिलै गोल गर्न सफल भए।

६१ औँ मिनेटमा नेपालले बराबरी गर्ने सुन्दर मौका खेर फाल्यो।

किर्गिस्तानका गोलकिपर विट भइसकेको अवस्थामा स्ट्राइकर रेजिन सुब्बा खाली पोस्टमा गोल गर्न चुकेका थिए। दोस्रो हाफमा आक्रामक खेल पस्कने क्रममा नेपालका सुमन अर्याल र रोमन लिम्बूले पहेँलो कार्ड पाएका थिए।

पहिलो गोल खाएको स्थितिमा नेपालले ३१ औँ मिनेटमा एरिक विष्टको स्थानमा प्रिजेन तामाङलाई मैदान पठायो।

प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले खेलाडी परिवर्तनको क्रम दोस्रो हाफमा पनि जारी राखे। तर युवा टोलीले आफ्नो रणनीति अनुसारको खेल पस्कन सकेन।

पहिलो हाफमा पाएका केही फ्रि–किकहरूको पनि सदुपयोग गर्न नेपाल असफल रह्यो।

नेपाली मिडफिल्डमा तालमेलको अभावले प्रायः बल डिफेन्ससम्म गएको थियो। जसले गर्दा नेपाली पोस्टमा दबाब बढेको थियो।

एक महिनाअघि भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिपको उपाधि जितेको यसै नेपाली टिम उच्च मनोबलसहित किर्गिस्तान पुगेको थियो।

एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट समूह ‘ए’ मा रहेको नेपालले अब ‌ओमान र बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। ओमान र बहराइन तुलनात्मक रुपमा नेपालभन्दा सशक्त रहेका छन्।

आगामी कात्तिक १६ गते नेपालको दोस्रो खेल बहराइनसँग र तेस्रो खेल १८ यूएईसँग तथा चौंथो खेल २२ कात्तिकमा ओमानसँग छ।

समूहमा शीर्ष स्थान हात पार्ने टिम आगामी वर्ष इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुनेछन्।

छनोट चरणमा दोस्रो स्थान हात पार्ने टिमको पनि अगाडि बढ्ने सम्भावना हुनेछ। दोस्रो स्थान प्राप्त गर्ने टिममध्ये उत्कृष्ट टिम पनि च्याम्पियनसिपमा छानिनेछ।

सन् २०१८ को अक्टोवरमा इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ। जहाँ आयोजकसहित १० वटा समूहको शीर्ष १० टिम तथा दोस्रो स्थान हात पारेका ५ टिम छानिनेछन्।

 

Share Now

Leave a comment.