-आना लेमेर्क / बीबीसी न्यूज
न्यूयोर्क(संयुक्त राज्य अमेरिका), २० पौष । अमेरिकामा एकजना न्यायाधीशले डोनल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको मुद्दामा १० ज्यानुअरीका दिन न्यूयोर्कमा सजाय सुनाइने बताउनुभएको छ।
राष्ट्रपतिको शपथ लिने मितिको १० दिनअघि त्यस्तो सजाय सुनाइन लागिएको हो।
न्यूयोर्कका न्यायाधीश ह्वान मर्चनले ट्रम्पलाई जेल, जेलबाहिर रहेर चालचलन सुधार्ने मौका वा जरिबाना नतोक्ने बरु निःसर्त छाड्ने सङ्केत गर्नुभएको छ।
उहाँले आफ्नो आदेशमा राष्ट्रपति निर्वाचित ट्रम्प सुनुवाइका लागि प्रत्यक्ष वा भर्चुअल माध्यममार्फत् उपस्थित हुनसक्ने बताउनुभएको छ।
ट्रम्पले राष्ट्रपतिमा भएको आफ्नो जितलाई आफूविरुद्धका मुद्दा खारेज गर्न प्रयोग गर्न खोज्नुभएको थियो।
न्यायाधीशको आदेशबारे प्रतिक्रिया जनाउने क्रममा राष्ट्रपति निर्वाचित ट्रम्पले त्यसलाई अवैध राजनीतिक हमला भन्दै त्यो बदनियतपूर्ण परिहास बाहेक केही नभएको बताउनुभयो।
ट्रम्प पक्षको अरु प्रतिक्रिया
ट्रम्पको टोलीले सजाय तोक्ने काममा अघि बढ्ने न्यायाधीशको निर्णयको आलोचना गर्दै कानुनहीन मुद्दा तत्काल खारेज हुनुपर्ने बताएको छ।
गत मे महिनामा पूर्वपोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई झूटो व्यापारिक विवरण तयार पारेर १ लाख ३० हजार अमेरिकी डलर दिएको बारे ३४ वटा कसुरमा उहाँ दोषी ठहरिनुभएको थियो।
ती अभियोग ट्रम्पका पूर्व वकिल माइकल कोएनले सन् २०१६ को चुनावअघि ड्यान्यल्सलाई ट्रम्पसँग भएको भनिएको यौन सम्बन्धबारे चुप रहनका रकम दिएको विषय लुकाउने प्रयास सम्बन्धी छन्।
ट्रम्पले आफूले कुनै गलत काम नगरेको भन्दै दोष स्वीकार गर्नुभएको छैन।
उहाँले उक्त मुद्दा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा आफ्नो प्रचार अभियानलाई बिथोल्ने प्रयास स्वरूप ल्याइएको तर्क गर्नुभएको छ।
शुक्रवार उहाँ प्रवक्ताले समेत न्यायाधीशको सजाय सुनाउने आदेशको आलोचना गर्दै ट्रम्पलाई यस्ता कुनै अवरोधबिना राष्ट्रपतीय शक्ति हस्तान्तरण प्रक्रिया जारी राख्न र राष्ट्रपतिका रूपमा महत्त्वपूर्ण जिम्मेवारीहरू कार्यान्वयन गर्न दिनुपर्नेू बताउनुभयो।
“त्यहाँ कुनै सजाय हुनुहुँदैन र राष्ट्रपति ट्रम्प यी सबै झुट नसकिँदासम्म त्यसविरुद्ध लडिरहनु हुनेछ”, स्टिभन चियङले भन्नुभयो।
न्यायाधीशसँग अरु विकल्प थिए?
ट्रम्पले यस मुद्दाबारे पछिल्लो पटक बोल्ने क्रममा त्यसले आफूमाथि राष्ट्रपति रहुन्जेल झुण्डिरहने र आफ्नो शासन गर्ने क्षमतामा बाधा पुर्याउने बताउनुभएको थियो।
न्यायाधीश मर्चनले राष्ट्रपतिको रूपमा काम गर्दा फौजदारी मुद्दाबाट विचलित हुने भन्ने ट्रम्पको चिन्तालाई कम गर्नसक्ने धेरै उपायहरू आफूलाई सुझाइएको र त्यसमा फैसला उल्टाउने चरम उपाय नरहेको बताउनुभयो।
ती न्यायाधीशसँग रहेका विकल्पमा ७८ वर्षीय ट्रम्पलाई सजाय सुनाउने निर्णय सन् २०२९ मा उनले ह्वाइटहाउस नछाड्दासम्म पर सार्ने वा उनलाई जेल नपठाउने सजाय सुनिश्चित गर्ने थिए।
जुलाईमा अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपतिहरूलाई पदमा रहँदाका औपचारिक कामका लागि फौजदारी अभियोजनको छुट हुने फैसला गरेको थियो।
तर गत महिना न्यायाधीश मर्चनले ट्रम्पको चुप रहन पैसा दिएको सम्बन्धी सजाय वैध रहेको फैसला सुनाउनुभएको थियो।
कानुनी रूपमा दोषी हुने पहिलो व्यक्तिका रूपमा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइटहाउस प्रवेश गर्दै हुनुहुन्छ।
सजाय सुनाइएपछि उहाँले त्यसविरुद्ध पुनरावेदनको प्रयास गर्न सक्नुहुन्छ।
तीन मुद्दा अझै बाँकी
झूटो व्यावसायिक विवरण तयार पार्नेबारे अमेरिकामा चार वर्षसम्मको जेल सजाय हुनसक्ने व्यवस्था छ।
चुनावी जित हासिल गर्नु अघिदेखि नै कानुनी विज्ञहरूले उमेर र विगतका कानुनी विवरणका आधारमा ट्रम्पले जेल सजाय पाउने सम्भावना नरहन सक्ने बताउँदै आएका थिए।
ट्रम्पले राज्य र सङ्घीय तहका गरेर अन्य तीन फौजदारी मुद्दा खेपिरहनुभएको छ।
जसमध्ये एउटा गोप्य दस्ताबेजहरू सम्बन्धी मुद्दा छ भने बाँकी दुई सन् २०२० को निर्वाचनमा पराजित भएसँगै त्यसलाई उल्ट्याउन गरिएका भनिएका प्रयाससम्बन्धी छन्।
राष्ट्रपति-निर्वाचित ट्रम्पको सजाय तोक्ने पेसी यसअघि २६ नोभेम्बरमा तोकिए तापनि ट्रम्प निर्वाचित भएपछि न्यायाधीश मर्चनले उक्त मिति सार्नुभएको थियो।


















