काठमाडौँ २० पुस : बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा ग्याल्जे शेर्पालाई सम्मान गरिएको छ ।
नेपाल पर्वतारोहण सङ्घले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच कदरपत्रद्वारा सम्मान गरेको हो । कीर्तिमानी आरोही शेर्पालाई सम्मान गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको साहसिक पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्न आरोहीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
उहाँले देशका पश्चिम क्षेत्रका अपि, साइपाललगायत हिमालमा पनि आरोहण र प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गर्न शेर्पा समुदायलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री पार्वत गुरुङले नेपालको पर्वतीय पर्यटनमा अथाह सम्भावना रहेकाले आरोही विदेश पलायन हुन् नपर्ने धारणा राख्नुभयो । सांसद जिपछिरिङ लामाले धेरै सङ्ख्यामा आरोही विदेश पलायन भइरहेको भन्दै उनीहरुलाई स्वदेशमै रहने वातावरण बनाउन राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले कीर्तिमानी आरोहीको सफलताले नेपालको पहिचानलाई विश्वभर फैलाउन मद्दत पुगेको बताउनुभयो ।
आरोही दावाछिरी शेपार्ल नेपालको विश्वभर प्रवर्द्धनमा पर्वतारोहीको योगदान रहेको भन्दै उनीहरुलाई राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनका अध्यक्ष तुल्सी गुरुङले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान गर्ने पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहण सुरक्षाको व्यवस्थापनमा राज्यले प्राथमिकता दिनुपर्छ भन्नुभयो ।
कीर्तिमानी आरोही मिङ्मा ग्याल्जे शेर्पाले आरोहण सङ्घर्षको अनुभवन सुनाउदै देशका लागि हिमाल चढेका शेर्पाको विदेश पलायन रोक्न र उनीहरुको सामाजिक सुरक्षाको प्रवन्धका लागि नीतिगत सुधार गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।
मिङ्मा ग्याल्जे शेर्पा बिना अक्सिजन विश्वका १४ हिमाल आरोहण गर्ने पहिलो नेपाली बन्न सफल हुुनुभएको छ । यही पुष १३ गतेका दिन शेर्पाले अर्जेन्टिनामा रहेको अकोन्कागुवा हिमालको सफल आरोहण गरेसँगै सेभेन समिट (सात महाद्वीपका शिखर) चुम्न सफल हुनुभएको छ । साथै उहाँले स्की गरेर दक्षिण ध्रुव पनि पुग्न सफल हुनुभएको छ । यसअघि शेर्पाले गत असोज १८ गते चीनमा रहेको शिशपाङ्मा हिमालको बिना अक्सिजन सफल आरोहण गर्नुभएको थियो । इमाजिन नेपाल ट्रेक्स कम्पनीका सञ्चालक मिङ्मा आईएफएमजीए÷यूआईएजीएम प्रमाणित माउन्टेन गाइड हुनुहुन्छ ।
आरोहण सकेर आजै काठमाडौँ ओर्लिएका शेर्पालाई यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । अर्जेन्टिनामा रहेको अकोन्कागुवा हिमालको सफल आरोहण गरी आज काठमाडौँ आइपुग्नुभएका शेर्पालाई नेपाल पर्वतारोहण सङ्घ, नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसन, माउण्ट एभरेष्ट समिटर्स क्लब, रोल्वालिङ दोलखा, इमाजिन नेपाल ट्रेक्सल स्वागत गरेको हो ।