Prakash Adhikari March 13, 2025

भैरहवा(रुपन्देही), २९ फागुन । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएको खेलमा लुम्बिनी प्रदेशले १४ रनले गण्डकी प्रदेश टिमलाई पराजित गरेको छ ।

२ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो ।

गण्डकीका लागि युवा ओपनर अर्जुन कुमालले ८६ बलमा ८ चौकासहित सर्वाधिक ६२ रन जोडे । सुवास भण्डारी ६० बलमा ३० र मुस्कान थापा ४५ बलमा २४ रनमा आउट हुँदा अमृत गुरुङ २४ रनमा नट आउट रहे ।

गण्डकीलाई रोक्ने क्रममा लुम्बिनीका लागि निर्मल गुरुङले ३, विप्रसन केसीले २, रमेश कुर्मी र नर सार्कीले समान १ । १ विकेट लिए ।

त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी ४९.५ ओभरमा २ सय १७ रनमा समेटिएको थियो ।

लुम्बिनीका लागि विकेट किपरसमेत रहेका प्रज्वलले सर्वाधिक ७२ रन जोडे । प्रज्वलले ७९ बलको सामना गरेर ७ चौका र १ छक्का प्रहार गरे ।

खेलमा मिन्रलाल गुरुङ ६२ बलमा ३८, कप्तान देव खनाल ४६ बलमा ३३ तथा मनिष थापा ३४ बलमा २४ रन जोड्दै आउट भएका थिए ।

गण्डकीका लागि अमृत गुरुङले ३, कप्तान विपिन खत्री र चन्द्र पौडेलले समान २ तथा सुवास भण्डारी, कमल परियार र भन्स क्षेत्रीले समान १ । १ विकेट लिए ।

२ जित र १ हारका साथ ४ अंक सहित लुम्बिनी चौथो स्थानमा छ । कोशी प्रदेशलाई हराएको लुम्बिनी नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । पराजित गण्डकीको यो दोस्रो हार हो । गण्डकी ३ खेलमा २ अंकका साथ आठौं स्थानमा छ ।

कर्णालीलाई हराएको गण्डकीले सुदूरपश्चिम प्रदेशसँग पराजय बेहोरेको थियो । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता छ ।

सिङ्गल राउण्डमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल हुनेछ । प्रतियोगिताको साविक विजेता नेपाल प्रहरीको विभागीय टोली हो ।

 

Share Now