काठमाडौं,४ साउन । नेपाली इन्जिनियरहरुको छाता संस्थाको रुपमा रहेको नेपाल इन्जिनियर्स एशोसिएनले ५६ औं इन्जिनियर दिवसका उपलक्ष्यमा उत्कृष्ट इन्जिनियरहरुलाई सम्मानित गरेको छ ।
काठमाडौंकोे राष्ट्रिय सभागृहमा बिहिबार आयोजना गरिएको बार्षिकोत्सव कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री ई. रघुबीर महासेठले एशोसिएसनको सम्मान तथा पुरस्कार वितरण निर्णायक समितिले शिफारीस गरेका उत्कृष्ट युवा इन्जिनियरको सम्मान सागर श्रेष्ठ, उत्कृष्ट महिला इञ्जिनियरको सम्मान विन्दु श्रेष्ठ, शहिद नवराज विष्ट स्मृति पुरस्कार गंगाबहादुर बस्नेत र उद्यमसील इञ्जिनियर सम्मान स्वरुप कोने गुरुङ्लाई प्रदान गर्नुभयो ।
त्यस्तै राष्ट्रिय विकासमा अमूल्य योगदान दिने संस्थाहरुलाई दिने सम्मानबाट यसबर्ष नेपाल सडक बोर्डका कार्यकारी निर्देशक ई.कृष्ण बस्नेत सम्मानित हुनुभएको छ ।
त्यस्तै यस बर्षको लाइफ टाइम एचिभमेन्ट एवार्डबाट ८१ बर्षीय वरिष्ठ इन्जिनियर नारायणदत्त शर्मालाई सम्मानित गरिएको छ ।
सम्मानित शर्माले नेपाल सरकारको सेवामा सडक विभागको महानिर्देशकबाट अवकाश प्राप्त गरेपछि विश्व बैंक र एशियाली विकास बैंकको सहयोगका विभिन्न आयोजनाहरुमा दक्षिण एशिया, दक्षिण पूर्वी एशियाका मुलुकहरुमा काम गर्नुभएको थियो ।
कार्यक्रममा एशोसियसनसंग सहकार्य गर्ने हामा स्टिल र पूर्वाधार विषयक टेलिभिजन कार्यक्रम सञ्चालक रामहरि कोइरालालाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।
समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि मन्त्री महासेठले एशोसिएसनले प्रकाशनमा ल्याएको अनुसन्धानमूलक टेक्निकल जर्नलको पनि विमोचन गर्नुभएको थियो । सो जर्नलमा इन्जिनियरिङ् क्षेत्रका विभिन्न विधाका २० वटा अनुसन्धानात्मक लेखहरु समाविष्ट गरिएको छ ।
समृद्धिका सम्बाहक बन्न आग्रह
कार्यक्रमका प्रमुख अतिथि मन्त्री महासेठले नेपाल समृद्धिको यात्रा हिडिसकेकोले इञ्जिनियरहरुलाई यसको सम्बाह बन्न आग्रह गर्नुभयो । उहाँले नेपाल इञ्जिनियर्स एशोसियसनसंग औपचारिक रुपमै सहकार्य गर्न नेपाल सरकार तयार रहेको बताउदै नेपाल सरकारका अत्यावश्यक क्षेत्रका इन्जिनियरिड.का प्राविधिक काम एशोसिएसनबाट गराउन उपयुक्त हुने बताउनुभयो ।
उहाँले नेपाली इन्जिनियरहरुको ज्ञान,सीप,अनुभव सबै बढ्दै गएको उल्लेख गर्दै नेपाली इन्जिनियरहरुले विदेशी इन्जिनियरहरुकै तुलनामा राम्रो काम गरिरहेको बताउनुभयो ।
उहाँले विदेशी सहयोगमा सञ्चालित आयोजनाहरुमा सर्वेक्षण र विस्तृत आयोजना प्रविवेदन तयार गर्दा पनि स्थलगत अध्ययन र स्थानीयहरुसंगको परामर्शको कमीका कारण त्यस्ता सहयोगबाट सम्पन्न भएका आयोजनामा पनि केही कमजोरी देखिएको बताउनुभयो । उहाँले विदेशी परामर्शदाता र नेपाली दुवै मिलेर काम गरेमा त्यस्ता समस्या नदोहोरिने बताउनुभयो ।
मन्त्री महासेठले सार्वजनिक खरिद ऐनको कमी कमजोरी पहिल्याएर त्यसमा संशोधन गर्ने प्रयास पनि भैरहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीको क्षमता, अनुभव, कार्यसम्पादनको स्तर हेरर ठेक्का पुरस्कृत गर्ने परम्परा बसाउन लागिएको पनि बताउनुभयो ।
उहाँले नेपाली इन्जिनियरहरुले भौतिक संरचनाको निर्माण गर्दा आफ्नो मौलिक पहिचानलाई पनि ख्याल गर्नुपर्ने बताउदै कोशीमाथिको ४ किलोमिटर लामो पुल र मुग्लिनको पुल दुवै नेपाली कलात्मक शैलीमा निर्माण भैरहेको बताउनुभयो ।
उहाँले मुलुकलाई समृद्धिको मार्गमा लैजान संघीयदेखि प्रादेशिक र स्थानीय तहमा पनि इन्जिनियरहरुको दरवन्दी अपुग रहेको बताउनुभयो ।
कार्यक्रममा लाइफटाइम एचिभमेण्टबाट सम्मानित हुनुभएका वरिष्ठ इन्जिनियर नारायणदत्त शर्माले आयोजना राम्रोसंग तर्जुमा भएमा, ठेकेदारको क्षमता, कामको भार, विगतमा काम सम्पन्न गरेको अभिलेखका आधारमा मूल्यांकन गरी काम दिने परम्परा भएमा आयोजना निर्माणमा बिलम्ब हुने र कमजोर गुणस्तर देखिने जस्ता समस्याको समाधान हुने बताउनुभयो ।
नेपाल ईन्जिनियर्स एशोसिएसनका अध्यक्ष ई. हरेराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा स्वागत महासचिव ई. उमेशप्रसाद थानीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष ई. उमाशंकर साहले गर्नुभएको थियो ।
कार्यक्रममा समापन मन्तव्य राख्दै एशोसिएसनका अध्यक्ष ई. हरेराम श्रेष्ठले मुुुलुकलाई संमृद्धिको मार्गमा लैजान पूर्वाधार अत्यावश्यक हुने र पूर्वाधार निर्माणको लागि इन्जिनियरहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकोले इन्जिनियरहरुको उपलब्धतालाई भरपूर उपयोग गर्न नेपाल सरकारलाई अनुरोध गर्नुभएको थियो ।
अध्यक्ष श्रेष्ठले एशोसियसनलाई अझ बढी व्यवसायिक बनाउन र निर्वाचन पछिको कार्यसमितिलाई सबै इन्जिनियरको भावनालाई समेटेर काम गर्न सजिलो होस् भन्ने मनशायले विधान संशोधन गरि ५० जनाको सल्लाहकार समिति रहने व्यवस्था गरिएको बताउनुभयो । उहाँले एशोसियसनको संरचना मुलुकको राज्य संरचना अनुरुप हुने गरी प्रादेशिक र स्थानीय तह शैलीको बनाइएको पनि जानकारी दिनुभयो ।
राष्ट्रिय गोष्ठी सम्पन्न
५६ औं इन्जिनियर दिवसको उपलक्ष्यमा एशोसियसनले दिगो विकासका लागि एकीकृत इन्जिनियरिड. सेवा( Integrated Engineering Services for Sustainable Development) विषयक आधा दिवसीय राष्ट्रिय गोष्ठीको पनि आयोजना गरेको थियो ।
गोष्ठीमा तीनवटा कार्यपत्र प्रस्तुत गरी ती उपर सामूहिक टिप्पणी गरिएको थियो ।
गोष्ठीमा शहरी विकास मन्त्रालयका सचिव ई.दीपेन्द्रनाथ शर्माले शहरी विकासमा एकीकृत इन्जिनियरिङ् सेव(Integrated Engineering Services for Sustainable Development) विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नेपाल इन्जिनियर्स एशोसियसनका पूर्वअध्यक्ष तथा नेपाल विज्ञान प्रज्ञाप्रतिष्ठान(नाष्ट)का उपकुलपति प्रा.डा. जीवराज पोखरेलले अध्यक्षता गर्नुभएको सो शत्रमा शहरी विकास तथा भवन निर्माण विभागका ई. शिवहरि शर्मा,ई.उमेशबहादुर मल्ल,ई.किशोर झा र यून एन ह्याविट्याटका इं. पद्म सुन्दर जोशीले टिप्पणी गर्नुभएको थियो । सो सेसनको संयोजकत्व ई.टपेन्द्रबहादुर खड्काले गर्नुभएको थियो ।
गोष्ठीको दोस्रो शत्रमा इन्जिनियर देवेश भट्टराइले असल निर्माण अभ्यासकालागि एकीकृत इन्जिनियरिङ् सेवा (Integrated Engineering Services for Good Construction Practice) विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि नेपाल इन्जिनियर्स एशोसियसनका निवर्तमान अध्यक्ष ई. ध्रुब थापा, शहरी विकास मन्त्रालयका ई. द्धारिका श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका ई. सुनिल ढुंगेल, सिंचाई विभाग आयोगका माधव बेल्वासे र ई.गणेश साहले टिप्पणी गर्नुभएको थियो ।
एशोसिएसनका पूर्व अध्यक्ष महेन्द्रबहादुर गुरुङ्को अध्यक्षतामा भएको सो सेसनको संयोजकत्व ई.सुवासचन्द्र बरालले गर्नुभएको थियो ।
गोष्ठीको तेस्रो शत्रमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.ई. जगदीशचन्द्र पोखरेलले दिगो यातायात विकासका लागि एकीकृत इन्जिनियरिङ् सेवा (Integrated Engineering Services for Sustainable Transport Development) विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि ई. कमल पाण्डे, सडक विभागका ई. सञ्जय श्रेष्ठ, सडक बोर्ड नेपालका कार्यकारी निर्देशक ई. कृष्ण बस्नेत र ई. कृष्ण न्यौपानले टिप्पणी गर्नुभएको थियो ।
एशोसिएसनका पूर्व अध्यक्ष महेन्द्रबहादुर ई सरोज देवकोटाको अध्यक्षतामा भएको सो सेसनको संयोजकत्व ई. सागर श्रेष्ठले गर्नुभएको थियो ।
रक्तदान र सांस्कृतिक कार्यक्रम पनि
केन्द्रीय कार्य समितिको आयोजनामा बिहिबार नै राष्ट्रिय सभागृहमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रमा ७० जना इन्जिनियरहरुले रक्तदान गर्नुभएको एशोसियसनको सचिवालयले जनाएको छ ।
एशोसियनले आफ्नो ५६ औं बार्षिकोत्सवको अवसरमा साँझ सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको थियो ।