-यासिर उस्मान / चलचित्र पत्रकार
मुम्बई(महाराष्ट्र भारत) मुम्बई(महाराष्ट्र भारत), ५ मंसिर । अनिष्टकारक आत्मा, डरलाग्दा भूतप्रेत र प्रतिशोध लिन चाहने बोक्सीका कथामा आधारित चलचित्रहरू बलीवुडमा फेरि चल्न थालेका छन्।
‘हरर’ वर्गमा पर्ने चलचित्रहरू सन् २०२४ मा सर्वाधिक कमाउन सफल चलचित्रमध्येका रूपमा उदाएका छन्।
बीबीसीले साधारण बजेटका यी चलचित्रले कसरी लोभलाग्दो कमाइ गरिराखेका छन् भन्नेबारे खोतलेको छ।
यो महिनाको सुरुमा बलीवुडमा ‘ठूला’ र ‘ठिकठिकैका’ चलचित्रहरूबीच चर्को प्रतिस्पर्धा भएको देखियो।
एकातिर ठूला हस्तीहरूले अभिनय गरेको ‘एक्शन’ चलचित्र ‘सिङ्घम अगेन’ थियो भने अर्कातर्फ ‘भूल भुलैया थ्री’ नामक मध्यम बजेटको (तीन भागमा आधारित चलचित्रको अन्तिम भाग) ‘हरर–कमेडी’ चलचित्र थियो।
‘सिङ्घम अगेन’मा अजय देवगन, अक्षय कुमार, करिना कपूर, दीपिका पादुकोण र रणवीर सिंहजस्ता बलीवुडका चर्चित कलाकार थिए। चलचित्रको विश्लेषण तथा अभिलेख राख्दै आएको संस्था ‘स्याक्निक’का अनुसार यसले चार दिनमा विश्वभरिबाट १ अर्ब ८६ करोड भारतीय रुपैयाँ (२ करोड २५ लाख अमेरिकी डलर) कमाइ गर्यो।
तुलनात्मक रूपमा युवा र नयाँ कलाकार कार्तिक आर्यनले अभिनय गरेको ‘भूल भुलैया थ्री’ले सोही अवधिमा ‘सिङ्घम अगेन’ले भन्दा अलिकति कम मात्र आर्जन (१ अर्ब ६३ करोड भारतीय रुपैयाँ) गर्यो। यसको अर्थ कम बजेटको भईकन पनि यसको प्रदर्शन थप प्रभावकारी रह्यो।
उक्त शृङ्खलाको दोस्रो भागमा समेत देखा परेका आर्यनलाई यसले पुन: भूतसम्बन्धी सङ्कट टार्ने पात्रका रूपमा फर्कायो, जसलाई एउटा राजपरिवारले आफ्नो दरबारबाट दुष्ट आत्माको निवारण गर्ने जिम्मेवारी दिएको हुन्छ।
रोमाञ्चकता र हास्यले भरिएको मनोरञ्जक कथावस्तुले दर्शकलाई सिनेमाघरतर्फ आकर्षित गरिराखेको छ।
‘हरर’ चलचित्रको आकर्षण
यसको सफलताले बलीवुडको नयाँ प्रवृतिको निरन्तरतालाई प्रतिबिम्बित गर्छ। त्यहाँ कुनै बेला पाखा लागेका ‘हरर’ तथा ‘हरर–कमेडी’चलचित्रहरू अहिले पैसा कमाउन सफल देखिएका छन्।
यो प्रवृत्तिको आरम्भ ‘शैतान’ नामक अजय देवगन-अभिनित मनोवैज्ञानिक ‘हरर’ चलचित्रबाट भएको थियो। कम लागतको भईकन पनि यसले विश्वभरि २५ करोड डलरभन्दा अधिक कमायो। यसलाई क्रमश: ‘मुन्ज्या’ र ‘स्त्री २ : सरकटे का आतङ्क’ ले पछ्याए। ‘स्ट्री २’ पछि १० करोड ३० लाख डलरभन्दा धेरै कमाइ गर्दै सन् २०२४ को सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो।
‘स्त्री टू ‘ले चन्देरी नामको काल्पनिक नगरीको कथा भन्छ, जसमा एक रहस्यमयी स्त्रीको कथा देखाइएको छ। पितृसत्तात्मक सोच भएका पुरुषहरूलाई निसाना बनाउने गरेकी ती पात्रले उदार सोच राख्ने महिलाहरूलाई अपहरण गर्ने राक्षसको सामना गर्नुपर्ने अवस्था आउँछ।
अरू चलचित्रले दर्शक पाउन सङ्घर्ष गरिराख्दा यसको टिकट भने महिनौँसम्म बिकिराख्यो।
व्यापारको तथ्याङ्क हेर्ने हो भने कोभिड महामारीपछि बलीवुड उद्योगले मन्दीको सामना गर्नुपर्यो। धेरैजसो चलचित्रहरू डुब्न पुगे। रोचक कुरा त के भने धेरैजसो ‘हरर’ चलचित्रहरूले समीक्षकहरूको मन जितेनन्, उल्टै केही आलोचकहरूले त्यस्ता चलचित्रलाई ‘निम्नस्तर’को कथावस्तु भएको भन्दै आलोचना गरे।
तर बारम्बारको सफलताले यी चलचित्रहरूले बलीवुडलाई नयाँ त्राण दिएको देखिएको छ।
कारण
त्यसोभए यो प्रवृत्तिपछाडिको कारक के हो त?
“यस्ता ‘हरर-कमेडी’ चलचित्रहरूले डराउने र हँसाउने गरेर दर्शकको आधारभूत भावनामा प्रभाव पार्छन्,” वरिष्ठ चलचित्र समीक्षक मयङ्क शेखर भन्छन्।
“यी दुवै सबैका लागि प्रभावकारी छन्। तपाईँ हलमा एकैसाथ दर्शकहरू डरले चिच्याएको र हाँसेको महसुस गर्न सक्नुहुन्छ।”
‘भूल भुलैया ३’ र ‘स्त्री २’ जस्ता चलचित्रहरूले तिनका अघिल्ला शृङ्खलाका सफलताबाट पनि फाइदा पाइरहेका हुन्छन्।
शेखरका अनुसार अघिल्ला शृङ्खलाहरू मन परेका कारण पनि दर्शकहरू यी चलचित्रहरू हेर्न आउँछन्, जसका कारण उनीहरूमाथि समीक्षकहरूको प्रभाव पर्दैन।
“पहिलो चलचित्र मन परेका कारण त्यही रमाइलो पुन: महसुस गर्न पाइने आशामा हामी चलचित्र हेर्न जान्छौँ जस्तो लाग्छ,” भर्खरै दुवै चलचित्र हेरेका रेडिओ प्रस्तोता अपूर्व भन्छन्।
परिवर्तन
विधाका रूपमा बलीवुडका ‘हरर’ चलचित्रहरू पनि समयक्रममा परिमार्जित भएका छन्। सन् १९८० का दशकका वयस्कहरूका निम्ति बनाइने ‘हरर’ चलचित्रहरूका तुलनामा आजकलका चलचित्रहरू परिवारै बसेर हेर्न उपयुक्त किसिमका हुन्छन्।
सन् १९७० र १९८० को दशकमा रामसे ब्रदर्सले ‘दो गज जमिन के नीचे’ (१९७२) र ‘पुराना मन्दिर’ (१९८४) जस्ता चलचित्र बनाएर ‘हरर’ विधामा राज गरे। ती चलचित्रहरू बढाइचढाइ गरिएका भूत र बोक्सीका साथै हिंसा र रोमाञ्चकताको सूत्रमा आधारित हुन्थे।
“त्यस्ता चलचित्रहरू नाफामा त जान्थे, तर वैधताको अभावमा नाम चलेका कलाकारलाई आकर्षित गर्न र धेरै दर्शक तान्न सक्दैनथे,” व्यापार विश्लेषक तरण आदर्श भन्छन्।
नयाँ शताब्दी लागेपछि निर्माता दाजुभाइ महेश र मुकेश भट्टले निर्देशक विक्रम भट्टसँगै यो विधाको कमान सम्हाले।
उनीहरूको (सबैभन्दा पहिले सन् २००२ मा सार्वजनिक भएको) ‘राज’ शृङ्खला ले महत्त्वपूर्ण सफलता हात पार्यो। रामसे ब्रदर्सको सूत्रलाई भड्किलो पारी बनाइएको उक्त शृङ्खलामा कर्णप्रिय गीतहरूका साथै कामुक दृष्यहरू समेटिएका थिए।
तर केही अपवाद भए पनि ‘हरर’ चलचित्रहरूको आकर्षण भने सीमित नै रह्यो।
त्यसमा पहिलो मोड सन् २००७ मा आयो, अक्षय कुमार र विद्या बालन-अभिनित ‘भूल भुलैया’को पहिलो भाग हेर्न दर्शक ओइरिए।
सन् १९९३ को सफल मलायालम चलचित्र ‘मनिचित्राथाजु’ बाट प्रभावित उक्त चलचित्रले ‘कमेडी र हरर’ को उपयुक्त मिश्रण पस्कियो र तत्काल लोकप्रियता हासिल गर्यो।
‘वयस्क दृष्य’हरू घटाउँदै अपनाइएका परिवारमैत्री शैलीका कारण सन् २०१८ मा ‘स्त्री २’ सार्वजनिक भएसँगै यो विधाले लोकप्रियता कमायो, जुन चलचित्रमा ‘हरर’लाई पितृसत्ता र नारीवादजस्ता सामाजिक मुद्दाहरूसँग जोडेर प्रस्तुत गरिएको थियो।
‘भूल भुलैया २ र ३’ का निर्देशक अनीस बज्मी आफ्नो मूल ध्याउन्न केटाकेटीका निम्ति मनोरञ्जनात्मक चलचित्र बनाउनतर्फ केन्द्रित हुने बताउँछन्।
“म उनीहरू सीटको छेउसम्म पुगून् तर वास्तवमा नडराऊन् भन्ने चाहन्छु। त्यो भने रोटे पिङमा चढेजस्तै हो, उँभो चढ्दा रोमाञ्चक हुन्छ, उँधो झर्दा डर लागे जस्तो हुन्छ,” उनले बीबीसीसँग भने।
पुनः प्रदर्शन
यस्ता चलचित्रहरूमा हास्यरस मात्रै नभई अन्य धेरै किसिमका समान तत्त्वहरू पनि समाविष्ट हुन्छन्। यी ससाना नगर वा सहरका परिवेशमा बनाइएका हुन्छन् र यिनमा स्थानीय लोककथा र दया तथा साहसजस्ता विश्वव्यापी तत्त्वको मिश्रणका साथै खराबमाथि असलको विजय चित्रित गरिएको हुन्छ।
उदाहरणका निम्ति, ‘टुम्बाड’लाई लिन सकिन्छ। उक्त चलचित्र पौराणिक विषयवस्तु, ‘हरर’ र नैतिक शिक्षाको अनुपम सम्मिश्रण थियो।
उक्त चलचित्रले विनायकको कथालाई पछ्याउँछ। उसले सराप पाएका जीवहरूले रक्षा गरिराखेको एउटा ढुकुटी फेला पार्छ। ऊ त्यो ढुकुटी चोर्ने विचार गर्छ। त्यस क्रममा उसले लोभ कति डरलाग्दो पासो हो भन्ने थाहा पाउँछ।
पहिले यो चलचित्र सन् २०१८ मा सार्वजनिक भएको थियो। यो वर्षको आरम्भमा पुन: सार्वजनिक भएको चलचित्र पहिलेभन्दा अधिक कमाउन सफल भयो।
विश्लेषक आदर्श ‘हरर’ चलचित्रहरूले यो वर्ष “पुन:प्रदर्शन”को मजा लिइराखेकामा कुनै शङ्का नभएको बताउँछन्।
तर केही भने यो प्रवृत्तिको ‘अतिसमान्यीकरण’ गरिएकामा सहमत छैनन्।
“हाम्रो पहिलो सफल ‘हरर–कमेडी’ चलचित्र ‘भूल भुलैया’ थियो जसले सफलताको सूत्र स्थापित गर्यो,” ‘मुन्ज्या’का निर्देशक आदित्य सरपोतदार भन्छन्।
“तर अर्को ठूलो सफलता हात पार्ने चलचित्र (स्त्री) आउन दशकभन्दा अधिक समय लाग्यो,” उनी थप्छन्।
बज्मीको विचारमा प्राय: विधाले नभई चलचित्रको कथावस्तुले त्यसको लोकप्रियतालाई निर्देशित गर्छ।
“अन्तत: सधैँ हुने भनेको राम्रो फिल्म चल्ने हो। सदैव यही नै आधारभूत कारक रहने छ,” उनी भन्छन्।