Prakash Adhikari April 19, 2025

काठमाडौँ, ६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले शुक्रवार गरेको भेटघाटले पनि शिक्षकका माग पूरा गर्ने र विद्यालयमा फर्कने वातावरण सिर्जना गर्न सकेन ।

हाल चलिरहेको शिक्षक आन्दोलन र शैक्षिक समस्या समाधानका विषयमा भएको विषयमा छलफलमा आन्दोलन टुंग्याउने र माग पूरा गर्ने विभिन्न विकल्पमा छलफल भएको बालुवाटार सूत्रले बताएको छ ।

विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्नेलगायत माग राखेर महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिनुुभएको थियो ।

मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले सङ्घीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बैठकको आह्वान गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को सोही बैठकले महासङ्घले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसर्इर्इको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिइ आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरूलाई आह्वान गरेको थियो ।

प्रधानमन्त्री निवास बालुुवाटारमा भएको छलफलमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी रहनुुभएको थियो ।

Share Now