Prakash Adhikari April 19, 2025

बैंगलुरु(कर्नाटका,भारत), ६ बैशाख(एजेन्सी) । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत शुक्रवार राति भएको खेलमा पन्जाब किंग्सले पाँचौं जित हात पारेको छ। पन्जाबले प्रतिस्पर्धी रोयल च्यालेन्जर्स बैगलुरू (आरसीबी) लाई ५ विकेटले पराजित गरेको हो।

जितको लागि ९६ रनको सामान्य लक्ष्य पाएको पन्जाबले १२.१ ओभरमा ५ विकेट को क्षतिमा लक्ष्य हासिल गरेको हो। यो खेलसंगै बैगलुरुले घरेलु मैदान अर्को हार बेहोरेको छ।

खेलमा पञ्जाबका ओपनर प्राभसिम्रन १३ रनमा र प्रियान्स आर्य १६ रनमा आउट हुँदा पन्जाबले ३२ रन बनाएको थियो। लगत्तै कप्तान श्रयेश अयर ७ रनमा र जोश इङ्लिस १४ रनमा पबिलियन फर्किए। ४ विकेटको नोक्सानीमा पन्जाबले ५३ रन जोडेको थियो।

त्यसपछि नेहाल वाडेराले १९ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३३ रन बनाएर पन्जाबलाई ११ बल अगाडि ५ विकेटको जित दिलाए।

बैंगलुरुका लागि बलिङमा जोश हेजलउडले ३ ओभर बलिङ गर्दै १४ रन दिएर ३ विकेट लिए। भुवनेश्वर कुमारले २ विकेट लिए।

बैंगलुरुको एम चिन्नास्वमी मैदानमा त्यसअघि वर्षाले प्रभावित खेल ढिला सुरु भयो। २० ओभरको खेललाई १४ ओभरमा घटाइएको थियो। पन्जाबले टस जितेर पहिले फिल्डिङ रोज्यो।

रोयल च्यालेन्जर्स बैगलुरूले पहिले ब्याटिङ गर्दै १४ ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनायो। आरसिबीले निराशाजनक प्रदर्शन गर्यो।

७ विकेट गुमाउँदा उसले मात्र ४२ रन बनायो। अत्यन्त खराब ब्याटिङ गर्दा कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्।

ओपनर फिल साल्ट ४ रनमा अर्का ओपनर विराट कोहली १ रनमा तथा लायम लिभिङ्स्टन ४ रनमा, जितेश शर्मा २ रनमा क्रुनला पाण्ड्या र मनोज भान्डागे १र१ रनको लज्जास्पद स्कोर‌मा‌आउट भए।

कप्तान रजत पाटिदारले २३ रन बनाए। १८ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे। सातौं क्रमका टिम डेबिटले भने रोयल च्यालेन्जर्सलाई अत्यन्त कम योगफलमा समेटिनबाट जिगाए।

डेबिटले २६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनी अविजित ५० रनमा क्रिजमा रहे। जसमा अन्तिम ओभरमा डेबिटले २१ रन जोडे। यी दुई बाहेक अन्यले दोहोरो रनमा रन बनाउन सकेनन्।

पन्जाबका बलरहरुको प्रदर्शन सानदार रहयो। अर्षदीप सिंह, मार्को जानसेन,युजभेन्द्र चाहाल र हरपित ब्रारले‌ समान २ विकेट लिए।

पन्जाबको यो सातौं खेलमा पाँचौं जित हो। १० अंक बनाउँदै पन्जाब लिगको दोस्रो स्थानमा उक्लिएको छ।

७ खेलमा आरसिबीको यो तेस्रो हार हो। ८ अंक सहित लिगको चौथो स्थानमा तल झरेको छ।

Share Now