काठमाडौं, ८ वैशाख । आज हुने मन्त्रिपरिषद्को बैठकमा आन्दोलनरत शिक्षकहरुका सरकारले पूरा गर्न सक्ने र मिल्ने मागहरुलाई सात बुँदे प्रस्तावको रुपमा लैजान तयार देखिनुभएकी शिक्षामन्त्री विद्या भट्टराईले अपरान्ह अकास्मात राजीनामा दिनुभएको छ ।
उहाँले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसंग यस विषयमा जानकारी गराउनु भएको लगत्तै राजिनामा गर्नुभएको खबरले प्रधानमन्त्री उहाँले आन्दोलनकारी शिक्षकहरुलाई दिनुभएको आश्वासन र माग पूरा गर्न क्याबिनेटमा लगिने प्रस्तावप्रति प्रधानमन्त्री ओली सकारात्मक नभएको आकलन गरिएको छ ।
आज बिहान आन्दोलनरत शिक्षकहरुसंगको छलफलमा उहाँले शिक्षकहरुलाई हड्ताल तोड्न आग्रह गर्दै त्यसो भएमा सरकारले पूरा गर्नुपर्ने माग बारे आजैकै क्याबिनेटमा निर्णय हुनसक्ने बताउनुभएको थियो । तर शिक्षक प्रतिनिधिहरुले विगतमा संझौता गरेर पनि पटकपटक धोका खाएकोले यसपटक आन्दोलन र वार्ता संगै जाने र शिक्षा विधेयक संसदबाट पारित नहुँदासम्म आन्दोलन रोक्न नसकिने बरु सरकारले माग पूरा गरिदिए आन्दोलनको स्वरुप फेर्न सकिने बताएका थिए ।
भट्टराई गत ३१ असारमा शिक्षामन्त्रीमा नियुक्त हुनुभएको थियो ।
कास्की क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएर उहाँ संघीय सांसद बन्नुभएको थियो । शिक्षामन्त्री बन्नुअघि उहाँ प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य हुनुहुन्थ्यो ।
२०७६ मा भएको उपनिर्वाचनमा कास्कीबाट निर्वाचित भएर पहिलो पटक संसद्मा प्रतिनिधित्व गर्नुभएकी एमाले सांसद भट्टराई २०७९ मा भएको निर्वाचनमा सोही क्षेत्रबाट दोस्रो पटक निर्वाचित हुनुभएको हो।


















