–फ्लोरा ड्रुरी / बीबीसी न्यूज
नयाँदिल्ली(भारत), २४ वैशाख ।भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात् भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको छ।
भारतको रक्षा मन्त्रालयका अनुसार ‘अपरेशन सिन्दूर’ नाम दिइएको उक्त कारबाही एप्रिल २२ मा २५ जना भारतीय र एक नेपाली नागरिक मारिएको घटनाका जिम्मेवारहरूलाई “जबाफदेह” बनाउने “प्रतिबद्धता”को हिस्सा हो।
गत महिना भएको उक्त पहलगाम आक्रमणमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएको पाकिस्तानले भारतले अहिले गरेको आक्रमणलाई “अकारण” भनेको छ र प्रधानमन्त्री शेहबाज शरिफले उक्त “दुष्टतापूर्ण आक्रामण”को बदला लिइने बताएका छन्।
भारतले कहाँ आक्रमण गरेको हो?
दिल्लीका अनुसार बुधवार सबेरै पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा नौवटा भिन्न स्थानमा हमला गरिएको छ।
ती स्थानमा “आतङ्कवादी संरचनाहरू” भएका र त्यहाँबाट भारतविरुद्धका हमला “नियोजित र निर्देशित” भएको उसको दाबी छ।
उसले पाकिस्तानी सेनाको कुनै संरचनामा प्रहार नगरिएको जोड दिँदै आफ्नो कारबाही “केन्द्रित, अनुपातपूर्ण अनि थप आक्रमण नउक्साउने गरी” भएको जनाएको छ।
पाकिस्तानका अनुसार तीन भिन्नाभिन्नै ठाउँहरूमा प्रहार भएको छ : पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद र कोट्ली अनि बाहवालपुर।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले जियो टिभीसँग कुरा गर्दै ती हमलाले गैरसैनिक इलाकामा प्रहार भएको बताउनुभएको छ । उहाँका अनुसार भारतले “आतङ्कवादीका शिविरलाई लक्षित गरिएको” भनेर झुटो बोलेको हो।
पाकिस्तान सेनाका प्रवक्ता अहमद शरिफले बीबीसीलाई दुई बालबालिकासहित सात जनाको ज्यान गएको बताउनुभयो।
भारतले किन गर्यो आक्रमण?
पहलगाममा एप्रिल २२ मा भएको आतङ्ककारी आक्रमणपश्चात् दक्षिण एशियाका यी दुई परमाणुशक्तिसम्पन्न देश भारत र पाकिस्तानबीच तनाव चर्किएको थियो।
उक्त हमला गैरसैनिकविरुद्ध लक्षित दुई दशकयताकै सबभन्दा खराब हमला थियो जसमा हिन्दू पुरुषहरूलाई छानीछानी मारिएको थियो। त्यसले भारतभरि आक्रोश पैदा भएको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीले “पृथ्वीको जुनसुकै कुनासम्म” पुगेर भएपनि सन्दिग्ध आक्रमणकारी तथा तिनका योजनाकारलाई खोजिने अनि “तिनको कल्पनाभन्दा कडा सजाय दिइ” चेतावनी दिनुभएको थियो।
तर भारतले पहलगाम आक्रमण गराउने उसले शङ्का गरेको समूहको नाम दिएको छैन।
तर भारतीय प्रहरीले पहलगाममा हमला गर्नेमध्ये दुई पाकिस्तानी नागरिक भएको बताएको छ। दिल्लीले आतङ्ककारीहरूलाई सरसहयोग गरेको आरोप पाकिस्तानमाथि लगाएको छ। पाकिस्तानले ती आरोप अस्वीकार गरेको छ।
पहलगाम घटना यता दुवै पक्षद्वारा एकअर्काविरुद्ध विभिन्न कदम चालिएका छन् – कूटनीतिज्ञहरूलाई निकाला गर्ने, भिसा निलम्बन गर्ने तथा सिमाना बन्द गर्ने।
तर धेरैले सीमा वारपार सैन्य कारबाही हुने अपेक्षा पनि गरेका थिए। सन् २०१९ मा पुलवामा मा ४० जना भारतीय अर्धसैनिकहरू मारिएपछि भारतले त्यस्तै आक्रमण गरेको थियो।


















