-शरद केसी
संवाददाता, बीबीसी न्यूज नेपाली
काठमाडौं, २५ वैशाख । भारतले पाकिस्तानमा क्षेप्यास्त्र हमला गरेपछि भारतीय विदेशमन्त्री एस जयशङ्करले विश्व समुदायको समर्थनको अपेक्षा प्रकट गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,”विश्वले आतङ्कवादप्रति शून्य सहनशीलता देखाउनुपर्छ।”
सामीप्य र सम्बन्ध अनि निकटता र निर्भरताका आधारमा यस घटनालाई लिएर विभिन्न देशहरू फरक फरक कित्तामा उभिँदै गरेको देखिन्छ र उभिएलान् पनि।
तर घटना भएको दिनभर नेपाल मौन रह्यो। आन्तरिक र बाह्य चुनौती एवम् चासोबारे छलफलको निम्ति सुरक्षा परिषद्को बैठक आयोजना गर्यो।
नेपालको प्रतिक्रिया र उसले पक्षधरता देखाउँछ कि देखाउँदैन भन्नेप्रति धेरैमा चासो देखिन्छ।
सत्ताधारी नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत सरकारले कूटनीतिक भाषामा आफ्नो कुरा राख्ने अपेक्षा मात्र गर्नुभएन, ‘राख्नु पर्छ’ भन्नुभयो।
भारतलाई समर्थन, पाकिस्तानलाई सुझाव
तर त्यसभित्र भारतको कदमप्रति समर्थन झल्किनु पर्ने सुझाव र झल्किने अपेक्षा महतको छ।
“भारतले जहाँ आतङ्कवादीले तालिम लिन्छन्, जहाँबाट कश्मीरमा आतङ्कवादी गतिविधि चलाइएको छ र निर्दोष मानिसहरू मारिएका छन्, त्यहाँ केन्द्रित गरेर (आक्रमण) गरेका छौँ भनेको छ”, महतले भन्नुभयो।
पार्टी प्रवक्ताको हैसियतले भने उहाँले खुला रूपमा भारतीय कदमप्रति समर्थन जनाउनुभयो। र, नेपालले पनि जनाउनु पर्ने बताउनुभयो।
“किन भने आतङ्कवादकै खिलाफमा हामी उभिनु पर्छ”, नेता महत भन्नुहुन्छ।
उहाँले पाकिस्तान आफै पनि आतङ्कवादी गतिविधि र क्रियाकलापबाट पीडित रहेको कुरा स्मरण गर्नुभयो। त्यसैले ‘पाकिस्तानले पनि आफूलाई आतङ्कवाद विरुद्धमा उभ्याउनु पर्ने’ उहाँको सुझाव छ।
भारतीय रक्षा मन्त्रालयले ‘अपरेसन सिन्दूर’ नामको कारबाही चलाएको जनाएको छ। दुई साताअघि पहलगाममा एक जना नेपाली सहित २६ जनाको हत्या गरिएको घटनाको बदला स्वरूप त्यसो गरिएको भारतको भनाइ छ।
त्यस क्रममा ‘आतङ्कवादी’का तालिम केन्द्र(आश्रयस्थललाई निशाना बनाइएको भारतले उल्लेख गरेको छ।
कांग्रेस नेता महत त्यसप्रति विश्वस्त पनि सुनिनुभयो। “भारतले कुनै युद्धमै जाने किसिमले गरेको छैन”, महतले पाकिस्तानलाई सुझाव दिँदै भन्नुभयो, “पाकिस्तानले त्यस्तो खाले गतिविधिलाई प्रश्रय दिनु हुँदैन। त्यो नै भारत र पाकिस्तानबीच शान्तिको आधार हुन्छ।”
एमालेको फरक विचार र आक्रमण रोक्न भारतलाई सुझाव !
तर नेकपा एमालेका नेताको भनाइ कांग्रेस नेता महतको भन्दा भिन्न छ।
एमालेको परराष्ट्र मामिला विभागका प्रमुख समेत रहेका पूर्व परराष्ट्र मन्त्री रघुवीर महासेठले पाकिस्तानमाथि आक्रमण गर्ने भारतीय कदमको समर्थन गर्न नसकिने बताउनुभयो।
भारत-पाकिस्तान द्वन्द्व दक्षिण एसिया मात्र नभई दक्षिण पूर्वी एसियाको निम्ति पनि नराम्रो अवस्था हुने महासेठको बुझाइ छ।
“त्यसैले दुवै पक्षले संयमित भएर अविलम्ब आफ्ना काम(कारबाही बन्द गर्नु पर्छ र शान्ति प्रक्रिया अघि बढाउनु पर्छ”, महासेठको प्रतिक्रिया छ। उनले युद्ध चर्काउने काम गर्न नहुनेमा सचेत हुनुपर्ने पनि बताउनुभयो।
पाकिस्तानमा आक्रमण गरेर भारतले त्यसो गर्न खोजेको भने भन्न नचाहेको उहाँले प्रस्ट पार्नुभयो, “मैले भन्न खोजेको के हो भने हामीले यस्तो कुराहरू गर्नु हुँदैन, कि भोलि त्यो युद्धमा परिणत होस्।”
महासेठले आक्रमण वा प्रत्याक्रमण रोकिनु पर्ने बताउनुभयो। “कुनै पनि बहानामा युद्ध गर्नु हुँदैन, भारतले गरेको छ भने भारतले रोक्नु पर्छ पाकिस्तानले गरेको छ भने उसले पनि रोक्नु पर्यो”, नेता महासेठले बताउनुभयो।
उहाँले साङ्केतिक रूपमा भारतको आक्रमणप्रति भने असन्तुष्टि जनाउनुभयो। एउटा देशले अर्को देशको सार्वभौमिकता र राष्ट्रियता स्वीकार गर्नु पर्ने उल्लेख गर्दै भन्नुभयो, “कुनै पनि देशलाई युद्धमा समर्थन गर्नु नेपाल र नेपालीको निम्ति राम्रो होइन।”
विदेश नीति अनुकूल कि प्रतिकूल?
नेपालको विदेश नीति मूल रूपमा असंलग्नता र पञ्चशीलमा आधारित छ।
आतङ्कवाद विरुद्धको लडाइँको नाममा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको अध्यक्ष राष्ट्रको हैसियतले नेपालले भारतलाई समर्थन गर्न नमिल्ने कतिपयको धारणा पाइन्छ।
तर ती दुवै अवधारणाभित्र आतङ्कवादको नाममा तटस्थता नअटाउने कांग्रेस प्रवक्ता महतको भनाइ छ।
“नेपालीं सहित २६ जनाको त्यसरी हत्या भएको छ, यसअघि पनि भारतमा पटक पटक आक्रमण भएको छ र त्यसको सम्बन्ध पाकिस्तानसँग देखिँदै आएको पनि छ”, महतले भन्नुभयो, “अनि यस्तो अवस्थामा पनि तटस्थताको नाममा आतङ्कवादलाई प्रश्रय दिन कसरी सकिन्छ?”
तर एमाले नेता महासेठले भारत र पाकिस्तान दुवै नेपालको मित्र रहेको र नेपाल दुवैको मित्र रहेको प्रसङ्ग उल्लेख गर्दै भारत वा पाकिस्तान दुवैको कारबाहीलाई समर्थन गर्न नहुने धारणा राख्नुभयो।
तर पाकिस्तानबाट भारतमा पसेर आतङ्कवादी क्रियाकलाप गरेको भए त्यसको विरोध गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “तर, त्यो बहानामा कुनै पक्षबाट युद्ध चर्काउने काम गर्छ भने राम्रो होइन।”
सत्ता पक्षमा विभाजनको जोखिम कति?
महासेठको दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहनुभएको छ।
दुई सत्ता साझेदारबीच यस प्रकरणमा नेपालले निर्वाह गर्ने भूमिकालाई लिएर देखिने मतभेद फाटोमा परिणत हुने सम्भावना देख्नेहरू पनि छन्।
नेता महतलाई फाटो आउनु पर्ने विषय होला जस्तो लाग्दैन। “किन भने सत्तामा बसेका मात्र नभई हामी सबै खिलाफमा छौँ”, उहाँले भन्नुभयो, “त्यस्तो खाले प्रवृत्तिलाई कसैले पनि प्रोत्साहन गर्नु हुँदैन।”
एमाले नेता महासेठले पनि मतभेद फाटोमै परिणत हुनेमा अविश्वास प्रकट गर्नुभएको छ।
कांग्रेसले पनि देशको असंलग्न परराष्ट्र नीति अङ्गालिरहेको उल्लेख गर्दै भन्नुभयो, “त्यसैले दुई देशबीच युद्ध भयो भने कांग्रेसले एउटा कुनै देशलाई समर्थन गर्ला भन्ने मलाई रत्तीभर विश्वास छैन।”
महतले भन्नुभयो, “असंलग्न परराष्ट्र नीतिको अर्थ आतङ्कवादप्रति आँखा चिम्लिनु होइन।”
“अनि आतङ्कवादीप्रति तटस्थ रहनु पर्छ भन्न मिल्छ र?”, महत भारतको आक्रमण आतङ्ककारीलाई निशाना बनाउन मात्र केन्द्रित रहेकोमा विश्वस्त सुनिनुभयो।
चौथाईवालेको भ्रमणको असर?
महासेठ जस्तै महत पनि पूर्व परराष्ट्र मन्त्री हुनुहुन्छ। हालसालै नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टी (भाजपा) का नेता विजय चौथाईवालेले भेटेका डेढ दर्जन नेतामा महत पनि एक हुनुहुन्ँछ।
कतिपय नेताहरूले चौथाईवाले पाकिस्तानमाथि आक्रमण गर्ने सङ्केत दिँदै समर्थन जुटाउन नेपाल भ्रमणमा आएको बताउने गरेका छन्।
उहाँसँग भेटवार्ता गरेका जनमत पार्टीका अध्यक्ष सीके राउतका अनुसार उहाँहरूबीचको छलफलमा त्यसबारे ‘बिस्तारमा खासै’ कुरा भएन।
“तराई क्षेत्रको सीमा क्षेत्रमा हुन सक्ने विभिन्न गतिविधि बारे कुराकानी भएको थियो”, राउतले भन्नुभयो, ू”त्यो सङ्घीय सरकारको क्षेत्राधिकारभित्र पर्ने बताएका थिए।”
कतिपयले चौथाईवालेकै भ्रमणको असरका कारण तत्काल आक्रमणबारे प्रतिक्रिया नआएको आकलन गरेका छन्।
कश्मीरमा भएको २६ जनाको हत्याका कारण सुरक्षा संवेदनशीलता बढेको कुरा भएको जनाउँदै कांग्रेस नेता महतले चौथाईवालेले समर्थन खोजेको कुरा अस्वीकार गर्दै भन्नुभयो, “यस्तो विषयमा पनि हामी यसो गर्दै छौँ, उसो गर्दै छौँ भनेर कसैले भन्छ?”


















