Prakash Adhikari May 9, 2025

धर्मशाला(पन्जाब), २६ वैशाख (एजेन्सी) ।  इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत धर्मशालामा भइरहेको दिल्ली क्यापिटल्स र पन्जाब सुपर किङ्सबीचको खेल रद्द भएको छ ।

प्राविधिक समस्याका कारण मैदानको फ्लडलाइट चल्न नसक्दा खेल रद्द गर्नुपरेको भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले जनाएको हो । १० ओभर १ बल को खेल सकिएपछि फ्लड लाइटको पावर सप्लाई नहुँदा मात्र एउटा फ्लड लाइट मात्र बलेको थियो ।

यता आइपिएलका अधिकारीले भने अन्तर्राष्ट्रिय मिडियालाई पाकिस्तानले जम्मु क्षेत्रमा गरिरहेको आक्रमणलाई ध्यानमा राख्दै सुरक्षाका हिसाबले खेल रद्द गरिएको जानकारी दिएका छन् ।

पन्जाबले १० ओभर १ बलमा १ विकेट गुमाउँदै १ सय २२ रन जोडेको थियो । प्रियान्स आर्या र प्रभसिम्रनले टोलीलाई उत्कृष्ट सुरुवात दिलाए ।

खेल रद्द भएसँगै तेस्रो स्थानमा रहेको पन्जाबको ११ खेलमा १५ अंक छ । दिल्ली ११ खेलमा १३ अंक जोडेर पाँचौ स्थानमा छ । यस खेलको अंकबारे भने निर्णय भइसकेको छैन ।

Share Now