फ्रान्सेस माओ । बीबीसी न्यूज
लण्डन(संयुक्त अधिराज्य), ६ वैशाख । भारत प्रशासित कश्मीरमा रहेका आफ्ना तीन सैन्य अखडामा क्षेप्यास्त्र तथा ड्रोन हमला गरिएको आरोप भारतीय सेनाले लगाएको छ। तर पाकिस्तानले त्यसको खण्डन गरेको छ।
भारतीय सेनाको अतिरिक्त लोक सूचना महानिदेशालय (एडीजी पीआई)का अनुसार पाकिस्तानी सेनाले मे ८ को मध्यरातपछि पश्चिमी सीमामा गरेको थियो। जम्मू तथा उधमपुर अनि पन्जाब राज्यको पठानकोटमा रहेका भारतीय सैन्य शिविरमा पाकिस्तानले गरेको हमलाको यत्नलाई विफल बनाइएको दाबी पनि भारतीय सेनाले गरेको छ।
“पाकिस्तानी सशस्त्र फौजहरूले ८ र ९ मे २०२५ को आधा राति पूरै पश्चिमी सीमामा ड्रोन र अन्य अस्त्र प्रयोग गर्दै हमला गरे। पाकिस्तानी सैनिकहरूले जम्मू तथा कश्मीरमा नियन्त्रण रेखामा कैयौँ पटक युद्धविराम पनि उल्लङ्घन गरे”, भारतीय सेनाले सामाजिक सञ्जाल एक्समा एउटा भिडिओ शेअर गर्दै लेखेको थियो।
पाकिस्तानका रक्षामन्त्रीले बीबीसीसँग कुरा गर्दै ती हमलामा आफूहरू जिम्मेवार नभएको बताउनुभएको छ।
“हामी त्यसलाई अस्वीकार गर्छौँ। हामीले यतिन्जेल केही आक्रमण गरेका छैनौँ “, रक्षामन्त्री खवाजा आसिफले भन्नुभयो, “हामी आक्रमण गर्ने अनि त्यो अस्वीकार गर्ने गर्दैनौँ।”
बिहीवार साँझ जम्मू नगरमा विस्फोटनका विवरण आएका थिए। त्यतिखेर त्यहाँ बिजुली थिएन।
आक्रमण र प्रत्याक्रमणका शृङ्खला
यसअघि भारतले बिहीवार पाकिस्तानका हवाई प्रतिरक्षा प्रणालीमा हमला गरेर नष्ट गरिदिएको बताएको छ।
इस्लामाबादले बुधवार राति भारतका सैन्य स्थलमा प्रहार गर्न खोजेकाले उक्त कारबाही गरिएको भारतले भनेको छ।
बुधवार आफ्ना क्षेत्रमा भारतले क्षेप्यास्त्र प्रहार गरेपछि दिल्लीले थप ‘आक्रमणकारी कार्य’ गरेको पाकिस्तानले भनेको छ।
पाकिस्तानी सेनाका प्रवक्ताले भारतले प्रहार गरेका ड्रोनलाई ठाउँठाउँमा निस्तेज पारिएको बताउनुभएको छ।
“गत राति भारतले थप आक्रमणकारी कार्य गर्दै विभिन्न ठाउँमा ड्रोन पठायो”, लेफ्टिनन्ट जेनरल अहमद शरिफ चौधरीले भन्नुभयो , “ती ठाउँहरू लाहोर, गुजरानवाला, चकवाल, रावलपिन्डी, अटक, बहावलपुर, मियानो, चोर अनि कराचीनजिक थिए।”
लाहोरमा चार सैनिक घाइते भएको अनि सिन्ध प्रान्तमा एक गैरसैनिक मानिस मारिएको पनि उहाँले बताउनुभयो।
लाहोरस्थित अमेरिकी वाणिज्य दूतावासले आफ्ना कर्मचारीहरूलाई सुरक्षित ‘शेल्टर’ मा रहन भनेको थियो।
पाकिस्तानले आफ्नो हवाई क्षेत्रबाट व्यावसायिक उडान नगर्न सुझाव दिएको छ। क्षेप्यास्त्र वा हवाई हमलाले तिनलाई जोखिम हुन सक्ने उसले बताएको छ।
भारतका विदेशमन्त्री एस जयशङ्करले युद्ध भड्काउने कुनै पनि कदमको दृढ प्रतिरोध गरिने चेतावनी दिनुभएको छ।
भारतले उसका पछिल्ला कारबाही पाकिस्तानले उत्तर तथा पश्चिम भारतमा रहेका उसका सैन्य अखडालाई निसाना बनाउन खोजेपछि गरिएको बताएको छ।
“लाहोरको हवाई प्रतिरक्षा प्रणाली नष्ट पारिएको भरपर्दो जानकारी प्राप्त भएको छ”, भारतीय रक्षा मन्त्रालयको विवरणमा उल्लेख छ। पाकिस्तानले त्यसलाई अस्वीकार गरेको छ।
दुई देशले दिएका विवरणहरूको स्वतन्त्र पुष्टि भएको छैन।
युद्धको त्रास
भारतले बुधवार पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरेको प्रहारपश्चात् अन्तर्राष्ट्रिय समुदायले तनाव मत्थर पार्न आह्वान गरिरहेका छन्।
यी आक्रमणका घटना अनि सीमा वारपार गोलाबारी तीव्र भइरहँदा परमाणुशक्तिसम्पन्न दुई छिमेकी विस्तारित युद्धमा जाकिने त्रास बढेको छ।
भारत र पाकिस्तानबीच विगत दुई दशकयताकै यो सबभन्दा खराब टकराव भएको बताइएको छ।
एप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा आतङ्कवादीहरूले २६ पर्यटकहरूको ज्यान लिएपछि भारतले बुधवार ‘आतङ्ककारीहरूको गढ’मा आक्रमण गरेको बताएको छ।
तर पहलगाम हमलाकरीहरूलाई आफूले सरसहयोग गरेको भन्ने भारतीय दाबीलाई पाकिस्तानले अस्वीकार गरेको छ।
पहलगाम घटना गैरसैनिकहरूविरुद्ध लक्षित वर्षौँ यताकै सबभन्दा खराब आक्रमण हो। त्यसमा मारिनेमा २५ जना भारतीय र एक जना नेपाली नागरिक थिए।
भारत-प्रशासित कश्मीरमा दशकौँदेखि भारतीय शासनविरुद्ध विद्रोह चलिरहेको छ जसमा हजारौँले ज्यान गुमाएका छन्।
सन् १९४७ मा ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएका भारत र पाकिस्तानका बीच त्यतिबेलादेखि नै कश्मीर एउटा प्रमुख विवादको विषय बन्यो। दुवै देशले सम्पूर्ण कश्मीरी भूभाग आफ्नो दाबी गर्छन् र यसका लागि दुईवटा युद्ध लडिसकेका छन्।


















