काठमाडौं, १३ कार्तिक। काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल र भारतीय अभिनेत्री सवाना आजमी तथा जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुराबीच भेटवार्ता भएको छ।
काठमाडौं महानगरपालिकाको निमन्त्रणामा काठमाडौं फिल्म महोत्सवमा सहभागी हुन आउनुभएका उहाँहरूसँग महोत्सवको उद्देश्य र निरन्तरताबारे छलफल भएको हो।
भेटमा कार्यवाहक प्रमुख डंगोलले काठमाडौंको प्राचीन कथा भन्ने परम्परालाई युवा पुस्ता, चलचित्र र प्रविधिसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइन्। आधुनिकतासँगै हराउँदै गएका कथा भन्ने संस्कारलाई चलचित्रमार्फत पुनर्जीवित गर्ने प्रयास भएको उहाँको भनाइ थियो।
अभिनेत्री आजमीले टोलटोलमा चलचित्र महोत्सव आयोजना गर्दा स्थानीय दर्शकमा चलचित्रप्रति रुचि बढेको बताउँदै समुदायका कथा पहिचान गर्ने र सुनाउने सीप विकास गर्नुपर्ने धारणा राख्नुभयो। निर्देशक नाकामुराले पनि काठमाडौंले चलचित्र महोत्सव आयोजना गरेर महत्वपूर्ण पहल गरेको बताउनुभयो।
आजदेखि सुरु भएको महोत्सव पर्सिसम्म विभिन्न कार्यक्रमसहित सञ्चालन हुनेछ। भेटमा महानगरपालिकाका अधिकारी तथा महोत्सवका निर्देशक र संयोजकहरू सहभागी हुनुहुन्थ्यो।







