Prakash Adhikari May 9, 2025

-सञ्जय ढकाल
बीबीसी न्यूज नेपाली

काठमाडौं, ६ वैशाख । नेपालबाट विशेष गरी पश्चिमतर्फ उड्ने कैयौँ विमानहरूलाई अहिले आउजाउ गर्न समय र खर्च थपिएको छ।

भारत र पाकिस्तानले एकअर्काका विमानसेवाविरुद्ध आफ्नो हवाई क्षेत्र प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् भने क्षेप्यास्त्र तथा अन्य जोखिमका कारण कतिपय अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले पाकिस्तानको आकाशमार्ग छलेर आफ्ना सेवा सञ्चालन गर्न थालेका छन्।

सामान्य समयमा नेपालको आकाश छाडेपछि भारत र पाकिस्तानमाथि हुँदै उड्ने गरेका कैयौँ विमानसेवालाई अब त्यो विकल्प जोखिमपूर्ण बनेकाले घुमाउरो मार्ग रोज्नुपर्ने अवस्था आइपरेको विज्ञहरूले बताएका छन्।

नेपालमा कस्तो असर

जानकारहरूका अनुसार नेपालमा पश्चिमतिरबाट (खाडी क्षेत्रबाट आउने) आउने विमानहरूइरान, इराक, अफगानिस्तान, पाकिस्तान र भारत हुँदै सिमराको आकाशबाट पस्ने गर्थे भने पश्चिमतिर जाँदा चाहिँ कुनै सिमरा, दिल्ली, कराची, अफगानिस्तान हुँदै अनि कुनै महेन्द्रनगर हुँदै भारत पसेर त्यही मार्ग समाउँदै जाने गर्थे।

भारत र पाकिस्तानको आकाशमार्ग बन्द हुने अवस्था आउँदा ती उडानलाई असर परिहाल्छ। “अहिले पाकिस्तानको आकाश भएर आउनेजाने विमानहरूले त्यो मार्ग प्रयोग गरेका छैनन्”, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बीबीसीसँग भन्नुभयो।

नेपाल आउने र नेपालबाट जाने अन्तर्राष्ट्रिय उडानको मार्ग

नेपाल आउने र नेपालबाट जाने अन्तर्राष्ट्रिय उडानको मार्ग
त्यसरी असर परेका विमानसेवाहरूमा टर्किश एअरलाइन्स, जजिरा, कुवेत एअरवेज, कतार एअरवेज आदि परेको उहाँले बताउनुभयो।

नेपालकै विमानसेवाहरू वायुसेवा निगम र हिमालयन एअरलाइन्सले पनि यूएई, साउदी अरब तथा कतारमा उडान गर्छन्। तिनले प्रयोग गर्ने मार्ग पनि उही हो।

“हामीले टर्किश एअरलाइन्ससँग बुझ्दा काठमाडौं आउँदा एक घण्टा र काठमान्डूबाट जाँदा दुई घण्टा ढिलाइ हुन थालेको छ”,उहाँले भन्नुभयो।

“कुनै पनि उडानहरू यही कारण रद्द भएका चाहिँ छैनन्”, उहाँले भन्नुभयो।

यसअघि नेपालभन्दा पश्चिमतर्फबाट आउजाउ गर्दा भारत र पाकिस्तानको आकाशमार्ग प्रयोग हुने गर्थ्यो।

अब चाहिँ भारतको मुम्बई पुगेर त्यहाँबाट अरब सागर र ओमान हुँदै जानेआउने हुन थालेको निरौलाले जानकारी दिनुभयो।

नेपालबाट खाडी मुलुकहरू जान यही मार्ग प्रयोग हुन्छ।

त्यसमाथि युरोप तथा संयुक्त राज्य अमेरिका जान पनि कतार, टर्की, यूएई, कुवेत आदि देशमा ट्रान्जिट भएर जाने ज्यादा चलन छ।

त्यसैले धेरैजसो उडान प्रभावित हुने देखिएको छ।

“अहिलेलाई दैनिक आउने १५ र जाने १५ वटाजति उडानहरूलाई असर परेको पाइएको छ”, निरौलाले भन्नुभयो ।

के टिकट पनि महँगिएला?

घुमाउरो आकाशमार्ग प्रयोग गर्दा समयका साथै इन्धनको पनि धेरै उपभोग हुन जान्छ।

त्यसले विमानसेवा कम्पनीहरूको खर्चमा केही वृद्धि हुने देखिन्छ। प्रत्येक उडानमा केही लाख रुपैयाँ बढ्ता खर्च हुने विवरण आएका छन्।

तर त्यसैले यात्रुहरूको टिकट महँगो नहुने निरौलाले विश्वास व्यक्त गरे। “टिकटको भाउ बढ्छ भन्ने मलाई लाग्दैन”, निरौलाले बताउनुभयो।

तर समय ढिलो हुँदा छोटो ट्रान्जिट समय भएका यात्रुहरू अलि सचेत हुनुपर्ने सुझाव उनले दिए। “यात्रुका कारणले यस्तो ढिलाइ नभएका हुनाले विमानसेवाहरूले धेरै हदसम्म यस्ता समस्या आफैँले मिलाउँछन्।”

तर यदि समस्या लम्बियो अनि खर्च बढिरह्यो भने विमानसेवा कम्पनीहरूले टिकटको भाउ नबढाउलान् भनेर भन्न नसकिने पर्यटन व्यवसायीहरूले बताएका छन्।

पर्यटनलाई ठूलै पीर

भारत पाकिस्तान झडपको अर्को मुख्य असर नेपालको पर्यटनमा पर्ने चिन्ता पर्यटन व्यवसायीहरूले गरेका छन्।

“अहिले नै भारतबाट आउने पर्यटकहरू कैयौँले बुकिङ रद्द गर्न थालिसकेका छन्”, नेपाल असोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्सकी वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठले भन्नुभयो।

उहाँका अनुसार युद्धका त्रासका कारण मानिसहरू बाहिरफेर घुम्न जान हच्किने हुँदा खास गरी भारतीय पर्यटक तथा भारत हुँदै नेपाल आउने पर्यटकहरू कम हुने डर छ। “करिब २० प्रतिशत बुकिङ रद्द भएको छ। अझ धेरै असर पर्ने हामीलाई चिन्ता छ”, उहाँले भन्नुभयो।

विशेष गरी एफआईटी (फ्री एन्ड इन्डिपेन्डन्ट ट्राभलर) भनिने एक्लै वा सानो समूहमा घुम्न आउने पर्यटकहरूले बुकिङ रद्द गरिरहेको उहाँले बताउनुभयो।

“त्यसबाहेक, उदाहरणका लागि, मे २३ मा हामीले बुद्धिस्ट इन्टर्न्याश्नल ट्राभल मार्ट कार्यक्रमको पनि आयोजना गर्दै थियौँ। त्यसमा धेरै भारतीयहरू आउने योजना थियो। तर त्यसका लागि आउने भनेका कतिपयले पनि बुकिङ रद्द गर्न थालेका छन्।”

पर्यटक आगमनको आँकडा

पर्यटक आगमनको आँकडा

नेपाल आउने विदेशी पर्यटकहरूमध्ये भारतीयहरूको सङ्ख्या अधिकतम हुन्छ। उनीहरू नेपाल आउने मुख्य समय पनि यही मे, जुन, जुलाई महिना हुने गर्छ।

“विगतमा चिनियाँ पर्यटकले धेरै हिस्सा ओगट्थे तर अचेल त भारतीय पर्यटकहरू नै प्रमुख हुन्। अझ सडकमार्गबाट आउने भारतीय पर्यटकहरूको त हिसाबै छैन”, उहाँले भन्नुभयो।

त्यसैले पछिल्लो अवस्थाले पर्यटन आयमा नराम्रो धक्का पुग्न सक्ने जानकारहरू बताउँछन्।

सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटकहरूले नेपालको भ्रमण गरेका थिए।

हवाईमार्ग भएर गत वर्ष नेपाल भ्रमण गर्नेमध्ये ३ लाख १७ हजर जनाभन्दा बढी भारतीय थिए। नेपाल आउनेमध्ये दोस्रोमा एक लाख ११ हजार जनाभन्दा बढी अमेरिकी र तेस्रोमा १ लाख १ हजार जना भन्दा धेरै चिनियाँहरू थिए।

सन् २०२५ मा १६ लाख विदेशी पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य राखिएको नेपाल पर्यटन बोर्डले जनाएको थियो।

Share Now