Prakash Adhikari May 10, 2025
काठमाडौँ, २७ वैशाखः परराष्ट्र मन्त्रालयले व्यापार,व्यवसाय,भ्रमण, अध्ययन र उपचाररहित तीर्थयात्रा लगायतका कामको सिलसिलामा भारतमा रहेका नेपालीहरुलाई अहिलेको भारतको सुरक्षा अवस्थाबारे जानकारी लिएर काम गर्न आग्रह गरेको छ ।
मन्त्रालयले एक विज्ञप्तिमार्फत हालै विकसित घटनाक्रमका सन्दर्भमा नेपालीको सुरक्षा र हित सुनिश्चित गर्न सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ । नयाँदिल्ली स्थित नेपाली दूतावासले त्यहाँ रहेका विद्यार्थी र नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उल्लेख गरेको छ ।
मन्त्रालयले तत्कालै कुनै सहयोग आवश्यक परेमा भारतमा रहेका नेपालीहरुलाई नयाँदिल्लीस्थित नेपाली दूतावास र कोलकोतास्थित वाणिज्य दूतावासमा सम्पर्क गर्न भनेको छ ।
 भारतमा अवस्थित नेपाली दूतावासले नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ । दूतावासले एक विज्ञप्तिमार्फत संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न आग्रह गरेको हो ।
भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै दूतावासले आवश्यक सर्तकता अपनाउन ध्यानाकर्षण गराएको हो ।
दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनको पालनासमेत गर्न भनेको हो ।
Share Now