Prakash Adhikari October 30, 2026

 

काठमाडौं, १२ कार्तिक । अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको महासभा नेपालमा सुरु भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा भएको महासभाको पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल गनेसले बुधवार साँझ विरुवामा जलसिंचन गरेर महासभाको समुद्घाटन गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ विश्वका राष्ट्रिय पर्वतारोहण संघहरुको छाता संस्था हो । महासभा यो संस्थाको नीति निर्माण गर्ने सर्वोच्च निकाय हो । महासभामा महासंघका कार्यसमितिका पदाधिकारी र सदस्यहरु सहित यो संस्थाका विभिन्न समितिहरुका संयोजक र सदस्यहरुको पनि उपस्थिति रहन्छ । नेपाल पर्वतारोहण संघ नेपालका पर्वतारोहीहरुको छाता संगठन हो । यो संस्था नेपालमा पर्वतारोहण प्रशिक्षण, नेपालका पर्वतहरुको प्रचार प्रसार, पर्वतीय पर्यटन प्रबर्धन, पर्वत र पर्वतीय पर्यावरण संरक्षण तथा पर्वतीय क्षेत्रका बासिन्दाहरुको जीविकोपार्जन र आर्थिक विकासका कार्यमा सक्रिय रहदै आएको छ ।

कार्यक्रमको समुद्घाटनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पौडेलले हिमाल नेपालको मात्र नभई विश्वकै साझा सम्पत्ति भएको बताउनुभयो।

उहाँले हिमाल नेपालको राष्ट्रिय गौरव, संस्कृति र सभ्यतासँग जोडिएको विषय भएको बताउनुभयो । ‘नेपालका लागि हिमाल भनेको माटो र ढुङ्गाको थुप्रो मात्र होइन। यो हामीहरूको लागि राष्ट्रिय गौरवको विषय हो। यसलाई पर्वत सभ्यता भन्छौँ। हामी हिमालको पूजा गर्छौँ। यहाँसम्म कि किसानहरूले पनि बाली काट्दा वा बाली लगाउँदा आफ्नो अनुहार हिमालतर्फ फर्काएर राम्रो उब्जनीका लागि प्रार्थना गर्छन्। त्यसैले यो हामीहरूको लागि एक प्रकारको संस्कृति पनि हो।’ मन्त्री पौडेलले भन्नुभयो ।

उहाँले विश्वभरका अल्पाइन क्षेत्रमा बसोबास गर्ने मानिसहरूको संस्कृति, पहिरन, सङ्गीत, नृत्य र भाषामा समेत समानता पाइने उल्लेख गर्नुभयो ।

मन्त्री पौडेलले जलवायु परिवर्तका कारण आएका हिमपहिरोजन्य बाढीले नेपालले पछिल्लो समय बाढीजन्य विपद्का कठिन परिस्थिति सामना गर्नुपरेको उल्लेख गर्दै हिमाली क्षेत्रको संरक्षण र जलवायु उत्थानशील गतिविधिमा जोड दिनुपर्ने बताउनुभयो।

‘नेपालले भर्खरै धेरै कठिन समय पार गरेको छ । भोटेकोशीको विनासकारी बाढी र त्यसपछि गोरखामा पनि यस्तै किसिमको भयानक बाढी आएको थियो। त्यसैले यो समय हामीले दिगो र जलवायु उत्थानशील पर्वतीय गतिविधिहरूबारे छलफल गर्ने समय हो र यो हिमाल जोगाउनका लागि हात मिलाउन र समान आवाज उठाउन विश्वलाई आह्वान गर्ने समय हो ।’, उहाँले भन्नुभयो ।

उहाँले हिमालय पर्वतमाला दक्षिण एसियाका अर्बौं मानिसका लागि पानीको स्रोत भएको उल्लेख गर्दै उनले यसको संरक्षण विश्वव्यापी सरोकारको विषय भएको बताउनुभयो।

 

मन्त्री पौडेलले हिमालको संरक्षणका लागि विश्व समुदायलाई साझा प्रयास गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो ‘यो केवल हाम्रो मात्र सम्पत्ति होइन, यो विश्वव्यापी सम्पत्ति हो। ’

कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा रहेका आठ हजार मिटरभन्दा माथिका थप ६ वटा चुचुराहरूको अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्नेमा जोड दिनुभयो। नेपालले लामो समयदेखि कञ्चनजंघा साउथ (८,४७६), कञ्चनजंघा सेन्टर (८,४७३), कञ्जनजंघा यलुङखा (८,५०५), यलुङखा वेस्ट (८,०७७), ल्होत्से स्याड. (८,३८८), ल्होत्से मिडल (८,४१०) लाई ८ हजार मिटर माथिका अलग्गै हिमालको नाममा मान्यता दिन विश्व पर्वतारोहण संघसंग माग गर्दै आएको छ । यी हिमालहरुलाई नेपाल सरकारले ६ मे २०२४ मा मान्यता दिइसकेको छ । तर अन्तर्राष्ट्रिय पर्वतरोहण महासंघबाट मान्यता पाउन बाँकी छ । यी पछि पहिचान भएका ६ हिमालमध्ये यालुड.खाड. वेष्टबाहेक पाँच हिमालको आरोहण पनि भइसकेको छ र आरोहीहरुले यी हिमाल आरोहणको प्रमाणपत्र पनि लिइसकेका छन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण महासंघ (यूआईएए)का अध्यक्ष पिटर मुलर, ब्ल्याक याकका जुनसोक काड.लगायतले मन्तव्य दिनुभएको थियो । उहाँहरुले नेपालमा हिमपहिरोका कारण आएको बाढी र क्षतिप्रति दुःख व्यक्त गर्दै पर्वतीय पर्यावरण संरक्षणमा ध्यान दिन अत्यन्त जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल फर्कनुहोस् भन्ने निर्माणाधीन वृत्तचित्रको ट्रेलर र लामटाड. लिरुड. हिमपहिरो, हिमनदी र भोटेकोशी बाढीको भिडियो क्लिप पनि प्रदर्शन गरिएको थियो ।

नेपालले अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको महासभा तेस्रो पटक आयोजना गर्ने मौका पाएको हो । यस अगाडि सन् २०११ र सन १९८२ मा पनि नेपालमा युआईएएको महासभा सम्पन्न भएको थियो ।

Share Now