अख्तियारद्धारा टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जना र तीन कम्पनीविरुद्ध मुद्दा दायर
काठमाडौं, १ जेठ। नेपाल दूरसञ्चार प्राधिकरणमा टेरामक्स प्रविधिका उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना र तीन कम्पनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ।
बस्नेतसँग दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र अन्य कम्पनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
आरोपीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
तत्कालीन मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रूपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको र सोही निर्देशन अनुसार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरूले एक आपसमा मिलेमतो गरी प्रचलित कानुन विपरीत कार्य गरेको अख्तियारको ठहर छ ।
अख्तियारले मुद्दा दायर गरेका अन्य पदाधिकारीहरुमा प्राधिकरणका तत्कालीन सदस्यहरू धनराज ज्ञवाली, टीका प्रसाद उप्रेती, तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्र, निर्देशक सुरेन्द्रलाल हाडा, दिपेश आचार्य र उपनिर्देशक संदिप अधिकारी, परामर्शदाता जमाल अनौती, एजेन्ट दिलीपकुमार गुरुङ, तेजप्रसाद खरेल हुनुहुन्छ ।


















