Prakash Adhikari May 25, 2025

पोखरा(कास्की),१० जेठ । नवौं पिएम कप एनभिए लिग अन्तरगत शनिवार भएको खेलमा पुरुषतर्फ कोशी, हेल्प नेपाल, गण्डकी र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

कोशी प्रदेशले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ पहिलो जित दर्ता गरेको छ। सुदूरपश्चिम प्रदेशलाई ३-१ ले हराउँदै कोशीले पहिलो जित निकालेको हो।

पोखरा रंगशालास्थित कभर्ड हलमा शनिवार दिनको सातौं खेलमा पहिलो सेट गुमाएर पनि कोशी नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ। २५-२७ ले पहिलो सेट गुमाएको कोशीले त्यसपछि २५-२०,२७-२५,२५-१७ ले खेल जितेको हो।

त्यसअघि पुरुषतर्फ टिप टप हेल्प नेपाल, गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।

साविक विजेता हेल्प नेपालले नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हरायो । हेल्प नेपालको ९ अंक पुगेको छ।

पोखराको कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले एपिएफलाई २५-२१, २५-२२ र २५-२१ को सेटमा माथ दियो। तीनै खेलमा हेल्प नेपाल सोझो सेटमा जित निकालेको हो ।

त्यसअघि गण्डकीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो। पाकिस्तानी खेलाडी सम्मिलित गण्डकी प्रदेशले पुलिसलाई २५-२२, २५-२२ र २५-२३ ले हरायो। गण्डकीको यो लगातार तेस्रो सोझो सेटको जित हो। टोलीको पनि ९ अंक छ।

त्यसअघि भएको खेलमा आर्मीले पहिलो जित हात पार्यो। अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई पाँचौं सेटमा पुगेर ३-२ ले हराउन सफल भएको हो।

मणिमुकुन्दले सुरुवात राम्रो गर्यो। २५-२० ले पहिलो सेट जित्यो। १-० ले अगाडि बढेको मणिमुकुन्दले दोस्रो सेट भने २३-२५ ले गुमायो। आर्मीले खेललाई १-१ को बराबरीमा पुर्यायो।

तेस्रो सेटमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गर्यो। जहाँ २७-२५ ले जित्दै मणिमुकुन्द क्लबले २-१ को अग्रता बनायो। यसपछि खेल जित्ने संभावनालाई जिवितै राख्न आर्मीलाई चौथो सेट जित्नुको विकल्प थिएन। सोही अनुरूप आर्मीले २५-२२ ले चौथो सेट जित्यो।

खेल २-२ को रोमाञ्चक मोडमा पुग्यो। खेलको निर्णय पाँचौं सेटबाट भयो। जहाँ आर्मीले सहजै १५-१० ले सेट आफ्नो पक्षमा पार्यो। जारी लिगमा पाँचौं सेटमा नतिजा आएको यो पहिलो पटक हो।

तेस्रो खेलमा पहिलो जित निकालेको आर्मी यसअघि टिप टप हेल्प नेपाल र गण्डकी प्रदेशसँग पराजित भएको थियो।

त्यसअघि आजै भएको महिलातर्फको खेलमा टिप टप न्यु डायमण्ड, नेपाल‌ एपिएफ क्लब र पुलिसले जित हात पारेका थिए ।‌ तीनै टोलीले लगातार दोस्रो सफलता प्राप्त गरेका हुन्।

नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले‌ सेमिफाइनल खेल्ने छन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट भइरहेको छ।

Share Now