पोखरा(कास्की),१० जेठ । नवौं पिएम कप एनभिए लिग अन्तरगत शनिवार भएको खेलमा महिलातर्फ टिपटप न्यु डायमण्ड क्लब, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले विजय हासिल गरेका छन् ।
न्यु डायमण्डद्धारा एभरेष्ट पराजित
टिपटप न्यु डायमन्ड स्पोर्टस क्लबले नवौं पिएम कप एनभिए लिगको महिलातर्फ लगातार दोस्रो जित दर्ज गरेको छ।
न्यु डायमण्डले थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबलाई ३-१ को नतिजामा पराजित गर्यो।
पोखरास्थित कभर्ड हलमा शनिवार भएको महिलातर्फ दिनको तेस्रो खेलमा न्यु डायमण्डले उत्कृष्ट कमब्याकका साथ जित निकालेको हो।
एभरेष्ट भलिबल क्लबले सुरुवात राम्रो गर्यो। पहिलो सेट २५-२१ ले जित्यो। तर न्यु डायमण्ड खेलमा फर्कने क्रममा लगातार २५-२३, २५-१४ र २५- २२ को अग्रतासहित ३-१ को जित निकालेको हो।
एपिएफले विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा माथ दियो। २५-७, २५-२३ र २५-२० को सेटमा खेल आफ्नो पक्षमा पार्यो।
एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई हराएको थियो। आर्मीको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा एभरेष्ट सँग पराजित भएको थियो।
आजै भएको महिलातर्फको पहिलो खेलमा पुलिसले कर्णालीलाई २५-५, २५-९ र २५-११ को नतिजामा माथ दियो।
नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।


















