Prakash Adhikari May 31, 2025

 

 

एडेन्वर्ग(स्कटल्याण्ड), १७ जेठ । विश्वकप लिग टु को तयारीका लागि स्कटल्याण्ड पुगेको नेपाली क्रिकेट टोलीले आज आज ‘ए’ संग दोस्रो खेल खेल्ने कार्यतालिका छ । तर पानी परेर मैदान चिसो भएकोले टस हुन सकेको छैन ।

लिग टुको चौथो राउण्डको लागि स्कटल्याण्ड पुगेको नेपाली टोलीले स्कटल्याण्ड ‘ए’ सँग दोस्रो अभ्यास खेल खेल्न लागेको हो । बिहीवारको पहिलो अभ्यास खेलमा नेपाल १ सय २ रनले पराजित भएको थियो ।

नेपालले यसअघि संयुक्त अधिराज्य (युके) मा तयारी गरेको थियो । युकेमा तयारीका क्रममा स्थानीय टोलीसँग खेलेको पाँच अभ्यास खेलमा नेपालले सबै खेल जितेको थियो ।

लिग टुमा नेपालले घरेलु टोली स्कटल्याण्ड र नेदरल्याण्ड्सको सामना गर्दैछ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज समेत हो ।

लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छन् । पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाल १२ खेलमा ६ अंकका साथ लिग तालिकाको पुछारमा छ । स्कटल्याण्ड १६ खेलमा २० अंकका साथ चौथो र नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।
लिग टुको चौथो राउण्डमा नेपालको खेल तालिका यसप्रकार छ :

१) जेठ १९(जुन २) गते सोमवार स्कटल्याण्डविरुद्ध
२) जेठ २१(जुन ४) गते बुधवार नेदरल्याण्ड्सविरुद्ध
३) जेठ २५(जुन ८) गते आइतवार स्कटल्याण्डविरुद्ध
४) जेठ २७(जुन १०) गते मंगलवार नेदरल्याण्ड्सविरुद्ध

लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतवार बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।

नेपाली टोली

रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी

स्कटल्याण्ड ए टोली

क्रिस म्याकब्राइड(कप्तान), उजैर अहमद, लयड ब्राउन, चार्ली क्यासल, ओली डेभिडसन, जेम्स डिकिन्सन, जेमी डंक, ओवेन गाउल्ड, जैनुल्लाह इहसान, म्याकेन्जी जोन्स, गेभिन मेन, लियम नेलर, एड्रियन नील, लुइस ओ’डोनेल

 

Share Now