अहमदावाद(गुजरात), २० जेठ(एजेन्सी) इण्डियन प्रिमियर लिग(आइपीएल) को उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र पञ्जाब किंग्स आज भिड्दै गुजरात राज्यको राजधानी अहमदावादमा भिड्दै छन् ।
पञ्जाब र आरसिबीबीचको फाइनल खेल नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
लिग चरणमा पन्जाब पहिलो र आरसीबी दोस्रो स्थानमा रहेका थिए । पञ्जाब र आरसीबीले पहिलो क्वालिफायर खेलेका थिए । पहिलो क्वालिफायरमा पञ्जाबलाई हराउँदै आरसीबी फाइनलमा पुगेको थियो ।
फाइनल प्रवेशका लागि दोस्रो अवसर पाएको पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउँदै पुनः आरसीबीसँगको भेट पक्का गरेको थियो।
आइपीएलको जारी १८औं संस्करणमा आरसीबी र पञ्जाबबीच यो चौथो भेट हो । यसअघिका ३ भेटमा २ पटक आरसीबी र १ पटक पञ्जाब विजयी भएको थियो ।
पञ्जाब र आरसीबी जो जितेपनि पहिलो पटक च्याम्पियन बन्नेछ । यसअघि ७ टोलीले आइपिएल जितेको छ।
आरसीबी चौथो पटक फाइनल खेल्दैछ । यसअघि फाइनलमा सन् २००९ मा डेक्कन चार्जससँग ६ रन, २०११ मा चेन्नई सुपर किंग्ससँग र २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।
आरसीबीको टिमबाट पछिल्लो फाइनल खेलेका मध्ये विराट कोहली मात्र अहिलेको टोलीमा छन् । पञ्जाब दोस्रो पटक फाइनलमा खेल्दैछ। २०१४ को फाइनलमा पञ्जाबलाई कोलकाता नाइटराइडर्सले हराएको थियो । त्यो फाइनल खेलेका कुनै खेलाडी पनि खेलाडी अहिले पञ्जाब टोलीमा छैनन् ।
आरसीबी र पञ्जाबबीच हालसम्म ३६ खेल भएको छ । पञ्जाब र आरसीबी समान १८ खेलमा विजयी भएका छन्। नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आरसीबी र पञ्जाबबीच यसअघि एक खेल भएको थियो । २०२१ मा भएको त्यो खेलमा पञ्जाब ३४ रनले विजयी भएको थियो ।


















