Prakash Adhikari June 24, 2025

काठमाडौं, १० आषाढ । भिजिट भिसामा विदेश जाने यात्रुसंग घुस लिएर अनुमति दिएको विषयमा छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।

उक्त समितिमा सम्बन्धित गृह, श्रम र परराष्ट्रका सहसचिवहरू पनि रहने बताइएको छ ।

उक्त समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको छ ।

भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरोध भइरहेको छ । अवरोधकैबीच सरकारले बजेटमाथिको छलफल अघि बढाएको थियो ।

सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरुले यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका थिए ।

तर नेकपा एमालेसँग दुई बुँदे सहमति गरेसँगै माओवादी संसद् अवरोधबाट पछि हटेको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसद अवरोध गरिरहेका छन् । छानबिन समिति बनेकोले आज दुवै पार्टी बजेटको छलफलमा सहभागी हुने अनुमान गरिएको छ ।

Share Now