क्वालालम्पुर(मलेसिया), १७ आषाढ । समूह चरणको अन्तिम खेलमा नेपालले एसीसी मेन्स यु १६ इस्ट जोन कपमा भुटानलाई ३ सय ५९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ५ विकेट गुमाएर ३ सय ५८ रनको विशाल योगफल तयार पारेको छ ।
नेपालका लागि किशोर खेलाडी रौनक श्रीवास्तवले १ सय ६८ रन जोडे । उनले १ सय ३२ बलमा १६ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ६८ रनको शतकीय इनिङ खेले ।
आज नेपाललाई सुरुमा नै धक्का लागेको थियो । इण्डोनेशिया विरुद्ध २ विकेटको क्षतिमा ४ सय २० रन जोडेको नेपाली टोली आज ँ १७ रन जोड्दा २ ओपनरलाई गुमाउन पुगेको थियो। तेस्रो विकेटका लागि रौनक र शिवांंश बजगाईंले ८४ बलमा ९१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो स्थितिमा ल्याए ।
शिवांशले ५२ बलमा ५ चौकाको सहयोगमा ५४ रन बनाए । रौनकले सुगम बुढाथोकीसँग चौथो विकेटको लागि ६१ बलमा ७२ रनको साझेदारी गरे । सुगमले ३३ बलमा ४ चौकाको सहयोगमा ३५ रन जोडे ।
पाँचौ विकेटका लागि रौनक र जोय थापासँग १ सय ३० बलमा १ सय ७० रनको शतकीय साझेदारी गरे । जोय ६७ बलमा ७ चौकाको सहयोगमा ६१ रनमा अविजित रहे ।
अघिल्लो खेलमा शतक प्रहार बनाएका प्रसिद्ध जैसी १४ बलमा ७ र परिमार्जन यादव २ रनमा आउट भएका थिए ।
नेपाललाई रोक्ने क्रममा भुटानका लागि संजय दोर्जेले ३ र तेन्जिन लोडेले १ विकेट लिए ।
नेपाल समूह चरणमा हालसम्म आफू खेलेका तीनै खेलमा अपराजित छ । समूहको शीर्ष स्थानमा रहँदै नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । यो समूहबाट सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ ।
नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान तथा तेस्रोमा इण्डोनेसियालाई हराएको थियो।
अर्कोतर्फ भुटान खेलेका तीनै खेलमा पराजित भएको छ ।
सिंगापुर, जापान र इण्डोनेसियासँग पराजित भुटान समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरी सकेको छ ।
एसियाली क्रिकेट परिषद् (एसीसी)को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार छन् । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् ।
प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । सन् २०२३ मा भएको प्रतियोगितामा मलेसियालाई हराउदै नेपाल च्याम्पियन भएको थियो ।


















